८ वैशाख २०८१ शनिबार
समाज

सहरमा राहत, गाउँमा आहत

रौतहट- सडक र सहर छेउछाउका बाढीपीडितले औषधि, उपचार र राहत पाउन थाले पनि गाउँमा भने अझै सरकारको उपस्थिति शून्य छ। सरकारले राहत वितरणमा निजी क्षेत्रलाई रोक लगाएपछि मूल सडकभन्दा केही भित्र रहेका बस्तीका बाढी प्रभावित झन् आहत बनेका छन्।

गरुडा नगरपालिका–२ गेडहीका रामप्रगास सहनीले भात खान नपाएको पाँच दिन भइसक्यो। बाढीले घर भत्काइदिएपछि नहरको डिलमा झुल टाँगेर छ महिनाकी सुत्केरी र बच्चासहित सहनीको परिवारका १३ जना बस्दै आएका छन्। पाँच दिनदेखि चिउरा खाएर बस्नुपरेको बताउँदै सहनीले भने, 'खाना पकाउने सामलै छैन न त ठाउँ नै,' उनले भने। बालबच्चालाई रोगले सताउने डर लाग्न थालेको सहनी बताउँछन्।

सहनी प्रतिनिधि पात्रमात्र हुन्। गरुडाका स्थानीय एक व्यावसायीले पाँच किलो चिउरा वितरण गरेदेखि कोही पनि हेर्न नआएको गुनासो उनले गरे। गेडहीकै नारायण सहनी, जगत सहनी र गुलसन सहनीको सडक छेउमा पाल टाँगेर रात कटाउनुपर्दाको पीडा हेरिसाध्य छैन। कोही नयाँ मान्छे जाँदा राहत नै लिएर आएको हो कि भन्ने आशाले यी तीन परिवारका करिब दुई दर्जन बालबच्चा उनीहरूको अनुहारतिर हेर्छन्।

नगरपालिकाभित्रकै गाउँका बाढीपीडितको पहुँच अझै राहतसम्म पुग्न सकेको छैन। गौर नगरपालिका–७ टिकुलियाका बाढीपीडित ५० परिवारको बिजोग छ। सदरमुकामकै बासिन्दा भएर पनि राहतको गाडी यताउता ओहोरदोहोर गरेको टुलुटुलु हेर्न बाध्य छन् उनीहरू। भोको र अनिदो भएर शरणार्थी जीवन बिताउनुपरे पनि कोही सोध्न नआएको ब्रह्मदेव सहनीले बताए। ठेला चलाएर गुजारा गर्दै आएका सहनीको घर बाढीले भत्काइदिएपछि उनीसँग केही पनि बाँकी छैन। राहत लिएर कोही पनि आफ्नो टोलमा नआएको सहनीका छिमेकी बद्री मल्ली डोमले बताए।

बाढीले दलित परिवार झनै पीडित छन्। गौर–३ को मुसहरबस्ती र –१० को सबगढा टोलका दलित बस्तीको पहुँच राहतसम्म पुग्नसकेको छैन। सबगढाका नन्दलाल बैठाले दलित भएकै कारण राहतबाट पनि वञ्चित हुनुपरेको गुनासो सुनाए। उनले भने, 'गरिब र दलितको सहारा कोही पनि हुँदोरहेनछ।'

पाँच दिनपछि सदरमुकाम गौरलाई जोड्ने मूल सडक बिहीबारदेखि सञ्चालनमा आएको छ। जिल्लाको मुख्य सडक सञ्चालनमा आएपछि राहत पुर्‍याउने काममा तीव्रता आएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। गौर, गरुडा र मौलापुरलगायत ठाउँलाई केन्द्र बनाएर राहत वितरण भइरहेको जानकारी दिँदै उनले भित्री गाउँसम्म राहत पुर्‍याउने प्रयास भइरहेको बताए।

भौतिक पूर्वाधार मन्त्री रौतहटमाभौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर सडकको अवस्था बुझ्न रौतहट आएका छन्। मन्त्री बलायरले बाढीपीडितको यथार्थ अवस्था बुझ्न र राहत वितरणबारे जानकारी लिन रौतहट आएको बताए।

प्रकाशित: २ भाद्र २०७४ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App