coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बाँडे केयर नेपालको राहत

दिलबहादुर छत्याल/योगेश रावल

कैलाली- प्रधानमन्त्री शेर वहादुर देउवाले कैलालीको बाढीग्रस्त क्षेत्रको हवाई निरिक्षणपछि 'बाढीपीडितलाई भोकै बस्ने अवस्था आउन नदिन' मातहतका निकायलाई निर्देशन दिएपनि उनी भने सरकारी राहतविना रित्तै हात पुगे। सरकारी राहत नपुगेकै कारण देउवाले कैलालीका बाढीपीडितलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था केयर नेपालबाट प्राप्त राहत वितरण गरे। देउवाले बिहीबार हवाई मैदानमा आयोजित कार्यक्रममा केयर नेपालले उपलब्ध गराएको पाँच सय पाकेट राहत बाढीपीडितलाई उपलब्ध गराउन भनेर टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल र भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीलाई हस्तान्तरण गरेका हुन्।

कैलालीमा २२ सय परिवार अझै घर फर्केनन्, बाढीपीडित क्षेत्रमा खानेपानीको अभाव, महामारीको जोखिम।

'केयर नेपालले उपलब्ध गराएको राहत प्रधानमन्त्रीले पाँच सय बाढीपीडित परिवारलाई वितरण गरेका छन्', कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले भने। टीकापुरका दुई सय बाढीपीडित परिवारको राहत टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई हस्तान्तरण गरेको उनले बताए। यसैगरी भजनी नगरपालिकाका बाढीपीडित तीन सय परिवारको राहत भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीलाई हस्तान्तरण गरेका हुन्। केयर नेपालले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराएको राहतमा चामल, दाल, तेल र नुन रहेको छ। हेलिकोप्टमा नेपालगन्ज, बर्दिया हुँदै कैलाली आएका प्रधानमन्त्री देउवाले भजनीलगायतका बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका हुन्। कैलालीमा एक सातादेखि घर डुबान परेर विस्थापित भएका सर्वसाधारण सडक र खुला चौरमा बसिरहेका छन्।

'एक सातादेखि खुला आकाशमा खान–सुत्न नपाएर हाम्रो बिजोग भएको छ,' भजनीका बाढीपीडित जानकी चौधरीले भनिन्, 'प्रधानमन्त्री हामीमाथि हेलिकोप्टर घुमाएर फर्केका छन्।' प्रधानमन्त्री देउवा बुद्ध ऐयरलाइन्सको नियमित उडानवाट बिहान साढे ९ बजे नेपालजंग पुृगेका थिए। उनले नेपालगंजमै बिहानको खाजा खाए। उनले वाँकेमा करिव डेढ घण्टा बिताए। नेपालगंजवाट नेपाली सेनाको हेलिकोप्टरमा उनले वाँके, बर्दिया र कैलाली पुगेर वाढीपिडितको निरिक्षण गरेका हुन। उनी बर्दियामा करिव आधा घण्टा बिताएको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए। उनी सवा १२ बजे टीकापुर हवाई मैदानमा उत्रेका थिए। टिकापुरमा करिव १५ मिनेट उनी वसे। निमित्त प्रमुख जोशीले जिल्लाको वाढी पहिरोको प्रभावको वि्रफिङ गरे।

संक्षिप्त निर्देशन दिएपछि प्रधानमन्त्री देउवाले हेलिकोप्टर वाटै वाढी पिडित क्षेत्रको निरिक्षण गरे। हवाईमैदानमा भएको कार्यक्रम सकिएकोपछी कैलालीका वाढी पिडित भजनी नगरपालिका, जानकी नगरपालिका र टिकापुर लगायतको अकाशवाटै निरिक्षण गरेर उनी नेपालगंज फर्केको सुदुरपश्चिम प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रोमेन्द्र देउजाले बताएका छन। देउवाले नेपालगंज पुगेर खाना खाए। नेपालगंजवाट अढाई बजे उनी काठमाण्डौ फर्केका छन। हेलिकोप्टरवाट निरिक्षणमा आएका प्रधानमन्त्री देउवा वाढी पिडित ठाउँमा पुगेर वाढी पिडितलाई भने भेटेनन् जसका कारण पनि पीडीतहरु आक्रोशित छन्। देउवासँगै सिँचाइमन्त्री सञ्जयकुमार गौतम, प्रधानसेनापती राजेन्द्र क्षेत्री पनि कैलाली आएका थिए।

२ हजार अझै घर फर्केनन्

कैलालीमा बाढीले घर डुबेर विस्थापित तीन हजार एक सय २३ परिवारमध्ये २२ सय परिवार अझै घर फर्केका छैनन्। भजनी नगरापालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका बाढीपीडित परिवार घर फर्कन नसकेका हुन्। उनीहरु सडक वरिपरि, खुला चौर र विद्यालयमा बसिरहेका छन्।

नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले २२ सय परिवार अझै घर फर्कन बाँकी रहेको बताए। 'विस्थापित २२ सय परिवार एक सातादेखि खुली आकाशमुनि बसिरहेका छन्', उनले भने। विभिन्न ठाउँबाट संकलित राहतबाट मेस सञ्चालन गरिएको उनले बताए। भजनी नगरपालिकाका ३ र ८ नम्बर वडा जलमग्न छ। यो क्षेत्रमा नल्का (ट्युबेल) समेत पानीमा डुबेकाले खानेपानीको समस्या भएको छ। 'हामीलाई खान पानीसमेत छैन,' भजनीका बाढीपीडित कृष्णादेवी ढुंगानाले भनिन्। राहतमा प्राप्त बोतलको पानी प्यास मेटाउन र खाना पकाउन प्रयोग गर्नुपरेको  उनीहरूले बताएका छन्। '२–४ बोतल पानीले कति पुग्छ?' अर्का बाढीपीडित कुन्तीदेवी तिवारीले भनिन्, 'पेटभरि खाना त कहाँ, पिउने पानीको समेत समस्या छ।'

बाढीपीडित बिरामी पर्न थालेका छन्। 'बाढीपीडितमा बिरामीको महामारी फैलिने खतरा बढेको छ,' रेडक्रस सभापति जोशीले भने, 'वर्षा रोकिए पनि डुबानमा रहेका घरको पानी नसुकेकाले विस्थापित घर फर्कन पाएका छैनन्।' कैलालीका निमित्त प्रमुख जोशीले पानी नसुकेकाले कुन घरमा कति क्षति भएको भनेर विवरण आउन बाँकी रहेको बताए। जोशीका अनुसार कैलालीमा बाढीका कारण तीन हजार एक सय २३ घरधुरी विस्थापित भएका छन्। उनले विस्थापित परिवारहरू हुलाकी सडक र विभिन्न विद्यालयमा आश्रय लिइरहेको र उनीहरुलाई विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण भइरहेको बताए। त्र, बाढी पिडितले भने सरकारवाट राहात नपाएको दुःखेसो गरेका छन। उनीहरु ७ दिनदेखि सडकमा खुुला अकाशमुनी अलपत्र परेर वसेका छन।

प्रकाशित: २ भाद्र २०७४ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App