coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन एकै चरणमा गर्न मुख्य तीन दल सहमत

काठमाडौं– प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोग मंसिर ७ गतेभित्र केन्द्र र प्रदेशको निर्वाचन एकै साथ सम्पन्न गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका साथै निर्वाचन आयोगका पदाधिकारीको बैठकले दुवै निर्वाचन एकै मितिमा गर्न तयार भएका हुन्।

माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु पर्ने संबैधानीक बाध्यता रहेपछि प्रमुख दलहरुले प्रदेश र केन्द्रको चुनाव एकै मितिमा गर्न सहमत भएका छन्। 

प्रमुख तीन दल र निर्वाचन आयोगले आन्तरिक छलफल गरेर बढिमा सोमाबार भित्र दुबै तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएको छ। निर्वाचन आयोगले भदौ ३गतेसम्म मतदाता नामावली संकलनका लागि समय रहेको जनाउँदै त्यसपछि मिति तोक्न आग्रह गरेको छ । 

‘मतदाता नामावली संकलनको समय सकिएपछि सोही दिन वा भोलिपल्ट मिति तोक्न भनेका छौ,’ निर्वाचन आयोगका एक पदाधिकारीले भने, ‘मिति तोक्ने अधिकार मन्त्रिपरिषद्को तर बढिमा सोमबारसम्ममा दुबै तहको मिति घोषणा हुन्छ ।’

कांग्रेस नेता रामचन्द्र पौडेलले दुबै तहको निर्वाचन एकै साथ सम्पन्न गर्नमा प्रमुख दल र आयोग एकमत रहेको जानकारी दिंदै शुक्रबार थप छलफल गरेर मिति घोषणा हुने बताए । मितिका विषयमा विभिन्न प्रस्तावहरु रहेको आएको बताउँदै पौडेलले मंसिर ७ गतेभित्र दुबै चुनाव हुने सुनाउँदै पौडेलले भने, ‘मंसिर ४ गते वा अर्को कुनै दिन एकैसाथ चुनाव हुन्छ ।’ 

निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्न दलीय बैठकमा प्रस्ताव गरेपनि प्रमुख दलले त्यसलाई अस्वीकार गरेका थिए। आयोगले पहिलो चरणमा हिमाली भेग र दोस्रो चरणमा बाँकी ठाउँमा गर्दा सहज हुने प्रस्ताव गरेको थियो। त्यस्तै, प्रदेश र केन्द्रको निर्वाचनका लागि दुई मतपत्र हुने गरी आयोगसँग दलीय सहमति भएको स्रोतको दाबी छ। एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र केन्द्रका लागि र अर्कोमा समानुपातिकतर्फ प्रदेशसभा र केन्द्रका लागि मतपत्र बनाउने सहमति छ। ‘प्रत्यक्ष र समानुपातिकका लागि दुई मतपत्र बनाएर जानेकी भन्ने भएको छ,’ पौडेलले भने । 

तत्काल क्षेत्र निर्धारणको काम टुंगोमा पुर्‍याउन सरकार र दलहरुलाई आग्रह गर्दै आयोगले भदौ ४गतेभित्रै निर्वाचन सम्बन्धी आवश्यक कानुनी प्रवन्ध मिलाइदिन पनि आग्रह गरेको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन सम्बन्धी ऐन र कानुनहरु तत्काल पारित गरेर सहयोग गर्न प्रमुख दल र सरकारलाई आग्रह गरेको बताए। 

निर्वाचन आयोगले तत्काल निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेपछि बुधबार उनले प्रमुख तीन र त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बैठक राखेर मंसिरको दोस्रो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन एकै मितिमा गर्ने जानकारी गराएका थिए । 

 

प्रकाशित: २ भाद्र २०७४ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App