४ वैशाख २०८१ मंगलबार
समाज

राहत सडक वरपर केन्द्रित, गाउँका पीडित भोकभोकै

त्रिपाल मुनि रहेका रौतहटको गरुडा-२ गेडहीका बाढीपीडित राहतको पर्खाइमा छन्। तस्विरः मदन ठाकुर

रौतहट—बिहीबारदेखि रौतहटमा राहत वितरणले केही गति लिएको छ। सडक छेउछाउ र सहरी क्षेत्रमा बाढीपीडितले औषधि, उपचार र राहत पाएका छन्। ग्रामीण क्षेत्रका बाढीपीडित भने पाँच दिनदेखि एक छाक भात खान पाउने अवस्थामा छैनन्। सरकारले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मात्र राहत वितरण गर्नुपर्ने नियम बनाएपछि मूल सडकभन्दा भित्रका बस्तीसम्म राहत पुग्न सकेको छैन।

गरुडा नगरपालिका २ गेडहीका राम प्रगास सहनीले भात खान नपाएको पाँच दिन भएको नागरिकन्युजलाई बताए। उनको घरमा बाढी पसेर भत्कियो। घरभित्रका सारा सामान नष्ट भए। अहिले १३ सदस्यीय उनको परिवार नहरको डिलमा झुल टाँगेर बसेको छ। ६ महिनाकी सुत्केरी र बच्चा पनि त्यहीँ खुला आकाशमुनि बस्न बाध्य छन्। गत पाँच दिनदेखि चिउरा खाएर छाक टारिरहेको उनले बताए। ‘खाना पकाउन चामल छैन। ठाउँ पनि छैन।’ शुद्ध पिउने पानीको अभवामा झाडापखलाको त्रास रहेको सहनी बताउँछन्।

गरुडाका स्थानीय एक व्यावसायीले पाँच किलो चिउरा वितरण गरेदेखि कोही नआएको अर्का स्थानीय नाराण सहनीले सुनाए। यहाँ बाढीपीडितहरु सडकको छेउमा पाल टाँगेर बसेका छन्। पालभित्र रहेका दुई दर्जन बच्चाहरु बाटोमा कोही नयाँ मान्छे देखे राहत लिएर आएको हो कि भनेर आशाका नजर डुलाउँछन्।

रौतहटका बाढीपीडितमध्ये राम प्रगास सहनी प्रतिनिधि पात्र मात्र हुन्। गरुडाका स्थानीय एक व्यावसायीले पाँच किलो चिउरा वितरण गरेदेखि कोही नआएको अर्का स्थानीय नाराण सहनीले सुनाए। यहाँ बाढीपीडितहरु सडकको छेउमा पाल टाँगेर बसेका छन्। पालभित्र रहेका दुई दर्जन बच्चाहरु बाटोमा कोही नयाँ मान्छे देखे राहत लिएर आएको हो कि भनेर आशाका नजर डुलाउँछन्।

गौर ७ टिकुलियाका बाढी पीडित ५० परिवारको बिजोग छ। सदरमुकामकै बासिन्दा भएर पनि राहतको गाडी यताउति ओहोर दोहोर गरेको टुलुटुलु हेर्न बाध्य भएको उनीहरु बताउँछन्। आफूहरु भोको र अनिदो भएर अर्काको छतमा शरणार्थी जीवन बिताउनु परे पनि कोही सोध्न नआएको ब्रह्मदेव सहनीले बताए। ठेला चलाएर गुजारा गर्दै आएका उनको घर बाढीले भत्काइ दिएपछि उनीसँग केही पनि बाँकी छैन। घरमा राहत लिएर कोही पनि आफ्नो टोलमा नआएको सहनीका छिमेकी बद्री मल्ली डोमले सुनाए। बाढीले दलित परिवार झनै पीडित बनेका छन्। जिल्लाको सदरमुकाम गौरकै वडा नं. ३  मा रहेको मुसहर बस्ती र १० को सबगढा टोलका दलित बस्तीमा रहात पुग्न सकेको छैन। सबगढाका नन्दलाल बैठाले दलितहरु राहतबाट बञ्चित भएकोमा दुःख व्यक्त गरे।

पाँच दिनपछि सदरमुकाम गौरलाई जोड्ने मूल सडक बिहीबारदेखि सञ्चालनमा आएको छ। जिल्लाको मुख्य सडक सञ्चालनमा आएपछि राहत पुर्‍याउने काममा तीव्रता आएको प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापा बताउँछन्। गौर, गरुडा र मौलापुर लगायतका ठाउँहरुमा राहतको केन्द्र बनाएर पीडितहरुलाई राहत वितरण भइरहेको बताउँदै प्रजिअ थापाले भित्री गाउँसम्म राहत पु¥याउने प्रयास भइरहेको स्पष्ट पारेका छन्।

गौर नपा र विश्वकर्मा सिमेन्टद्वारा राहत वितरण
बाढी पीडितलाई गौर नगरपालिकाले बिहीबारदेखि राहत वितरण सुरु गरेको छ। नपाले ढाँगर टोलमा दलितहरुलाई चामल, दाल, तरकारी, भाँडाकुडा र त्रिपाल प्रदान गरेको नगरपालिका प्रमुख सन्तोष कुमार मिश्रले बताएका छन्। नपाको बढी प्रभावित क्षेत्रबाट राहत वितरणको काम सुरु गरेको मिश्रको दाबी छ।

यसैगरी गौर नगरपालिकाकै विभिन्न वडामा विश्वकर्मा सिमेन्ट उद्योगले चार सय घरपरिवारलाई राहत प्रदान गरेको छ। त्रिपाल, दाल, चामल, कपडा, भाँडाकुडा लगायतको सामग्री वितरण गर्दै उद्योगका सिइओ विशाल कानुनले अति पिछडिएका दलित र गरिब बाढी पीडित परिवारलाई स्थानीय प्रशासनसित समन्वय गरेर सहयोग गरेको बताएका छन्।

आएन नदी नियन्त्रण टोली
लालबकैया र बागमती दुवै ठूला नदीको तटबन्ध भत्केर जिल्लामा बाढीले ताण्डव मच्चाए पनि बाराको परवानीपुरमा रहेको जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रणको कार्यालयले निरीक्षण समेत गर्न आएको छैन। तटबन्धहरु कमजोर र जीर्ण बन्दै जाँदा पनि नियमित मरम्मत सम्भार गर्न कुनै चासो नदेखाएको कार्यालयलेब बाढीपछि पनि कुनै वास्ता गरेको छैन। २०७२ सालमै भत्किन लागेको लालबकैयाको तटबन्धलाई बाढीको बेला बोरामा बालुवा हालेर स्थानीयबासी तथा स्थानीय प्रशासनले काम चलाउ मरम्मत गर्दै आएको भए पनि नदी नियन्त्रणको टोलीले नियमित मरम्मत सम्भार नगर्दा रौतहटमा अर्बौं जनधनको क्षति हुन पुगेको हो। रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले नदी नियन्त्रण कार्यालयमा फोन गरी बाढीले नदीको तटबन्ध भत्काएको बारे जानकारी लिन र नदी नियन्त्रणको काम तत्काल अगाडि बढाउन निर्देशन दिएको नागरिकन्युजलाई बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रौतहटमा
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायर सडकको अवस्था बुझ्न रौतहट आएका छन्। बाढीले देशमा सबैभन्दा बढी जनधनको क्षति रौतहटमा पु¥याएको आफूले थाहा पाएको बताउँदै मन्त्री बलायरले बाढी पीडितको यथार्थ अवस्था बुझ्न र राहत वितरणको स्थलगत स्थिति अवलोकन गर्न रौतहटबाटै सुरुआत गरेको बताएका छन्। नागरिकन्युजलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बलायरले सडक सञ्जाल ध्वस्त भएपछि रौतहट लगायतको जिल्लाको बारेमा मन्त्री परिषदमा कुरो उठाउने बताए।

प्रकाशित: १ भाद्र २०७४ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App