८ वैशाख २०८१ शनिबार
राजनीति

बाढी पीडितलाई राहतको कमी हुन्न : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिको तर्फबाट ज्ञापनपत्र बुझाईदै । तस्बिर : अर्जुन ओली

नेपालगन्ज – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहतको कमी हुन नदिने बताएका छन् । राहत वितरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । नेपालगन्ज विमानस्थलमा बिहीबार पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले पूर्व र पश्चिम तराईको बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न सरकारले विभिन्न संयन्त्र परिचालन गरिसकेको जानकारी दिए । 

‘बाढीले देशभर धेरै ठूलो क्षति गरेको छ,’ उनले भने ‘सरकारले राहतसँगै क्षतिपुर्ति पनि चाँडै उपलब्ध गराउने कोसिस गरेको छ ।’ बाढीले अकल्पनीय रुपले क्षति गरेको प्रधानमन्त्री देउवाले बताए । बाढी पीडितलाई राहत वितरण कार्य चुस्त बनाउन आफूले सरकारी अधिकारीलाई निर्देशन दिइसकेको उनको भनाई छ । त्यसअघि नेपाली सेनाको राँझा ब्यारेकमा यसक्षेत्रका उच्च सुरक्षा अधिकारीलाई प्रधानमन्त्री देउवाले बाढी पीडितलाई राहतमा कमी हुन नदिन निर्देशन दिएका थिए । ‘कोही पनि पीडित परिवार नछुटुन, पीडितहरु भोकै बसेको सुन्न नपरोस्,’ प्रधानमन्त्रीले भने । त्यसक्रममा सुरक्षा निकायले यसक्षेत्रमा बाढीले पुर्‍याएको क्षति, उद्धार र राहत वितरण कार्यका विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

विमानस्थलमै प्रधानमन्त्री देउवालाई लक्ष्मणपुर बाँध पीडित संघर्ष समिति, बाढी पीडित जिल्ला संघर्ष समिति बाँके र नेपाली काँग्रेस बाँकेका तर्फबाट छुट्टा–छुट्टै ज्ञापन पत्र बुझाइएको थियो । प्रधानमन्त्री देउवासहित सिचाँई मन्त्री सञ्जय गौतम लगायतको टोलीले बिहीबार बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्रको हेलिकप्टरमार्फत निरीक्षण गरे। प्रधानमन्त्रीले बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरस्थित कमैया डाँडामा पुगेर बाढी पीडित परिवारलाई राहत हस्तान्तरण गरे । उक्त गाउँपालिकाको वडा नम्वर ४ बैजापुरस्थित लालपुरमा बाढीले घर भत्किएर एकै परिवारका तीन बालिका पुरिएका थिए। 

मृतकका बुवा कमल थारुलाई प्रधानमन्त्री देउवाले दुई÷दुई लाखको दरले ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । बाँकेपछि बर्दिया र कैलालीमा पनि बाढी प्रभावित क्षेत्रको निरीक्षणका साथै पीडित परिवारलाई राहत वितरण गरेर प्रधानमन्त्री देउवा बिहीबार नै राजधानी फर्केका छन् ।

प्रकाशित: १ भाद्र २०७४ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App