४ वैशाख २०८१ मंगलबार
समाज

पुनर्निर्माण बजेट क्याम्पस रङरोगनमा

रूबी रौनियार/विष्णु तामाङ

काठमाडौं- प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसका भवनमा धमाधम रङरोगन भइरहेको छ। वर्षौंदेखि रङरोगन नभएका क्याम्पसका भित्ता तथा झ्यालढोका अहिले सफा र चिटिक्क पारिएका छन्।

२०७२ वैशाख १२ को भूकम्पले क्याम्पस भवनमा सामान्य चर्कनेबाहेक ठूलो भौतिक क्षति पुगेको छैन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विश्वविद्यालय अनुदान आयोगमार्फत त्रिभुवन विश्वविद्यालयलाई दिएको रकमबाट यो क्याम्पसले २५ लाख रुपैयाँ पाएको छ। क्याम्पस प्रमुख निर्मलाकुमारी सुवालले भूकम्पबाट चर्किएका ठाउँमा टालटुल गरी बाँकी रकमले रङरोगन गरिएको बताइन्। 'यो बजेटबाट नयाँ भवन बनाउन नपाइने भएकाले रङरोगनमा खर्च गरिएको हो,' उनले आइतबार नागरिकसँग भनिन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको रमम पुनर्निर्माण र मर्मतबाहेक अन्य शीर्षकमा खर्चिन पाइँदैन। तर,  त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पसले पुनर्निर्माण रकम अन्य प्रयोजनमा खर्च गरिरहेका छन्।

नेपाल ल क्याम्पसले पुनर्निर्माण शीर्षकमा स्वीकृत २५ लाखमध्ये १२ लाख ५० हजार रुपैयाँ पाइसकेको छ। 'भूकम्पबाट ठूलो क्षति भएको छैन,' क्याम्पस प्रमुख कर्णबहादुर थापाले भने, 'प्रशासनिक भवनको छतमा क्षति पुगेको छ। योसहित अन्य चर्किएका भवन र पर्खालको मर्मत तथा रङरोगनमा यो बजेट खर्च गर्दैछौं।' क्याम्पसले पुस्तकालयसँगैको खाली भागमा तला थपेर छाना लगाउने कामसमेत सोही बजेटबाट गरिरहेको छ।

बागबजारस्थित पद्मकन्या क्याम्पसका पाँच भवनमध्ये मुख्य प्रज्ञा भवन भूकम्पका कारण हल्का चर्किएको छ। यसको मर्मतका लागि विश्वविद्यालयले ३७ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको छ। क्याम्पस प्रमुख रेणुका जोशीका अनुसार स्वीकृत रकम भने ७५ लाख रुपैयाँ हो। उनले विश्वविद्यालयबाट प्राप्त रकमबाट नयाँ भवन बनाउने योजना सुनाइन्। 'विश्वविद्यालयले भूकम्पबाट क्षतिग्रस्त भवनका कक्षाकोठा मर्मतका लागि रकम उपलब्ध गराएको छ,' जोशीले भनिन्, 'केही मर्मतमा खर्चियौं। यही रकमबाट नयाँ भवन बनाउने निर्णय भई क्याम्पसको पञ्चवर्षीय योजनामा समेटेका छौं।' क्याम्पस परिसरमा रहेको जग्गा उपयोग गर्ने नीतिअनुरुप नयाँ भवन निर्माण गर्न लागिएको उनले बताइन्।

रत्नराज्यलक्ष्मी, ल र पद्मकन्या क्याम्पस उदाहरणमात्र हुन्। भूकम्पपछिको पुनर्निर्माण शीर्षकमा प्राप्त बजेट त्रिविअन्तर्गतका आंगिक क्याम्पसले अन्य कार्यमा खर्च गरिरहेको पाइएको छ। विश्वविद्यालयले भूकम्पबाट क्षति नपुगेका क्याम्पसलाई समेत पुनर्निर्माणका नाममा लाखौं बजेट बाँडेको छ।

भूकम्पबाट क्षतिग्रस्त शैक्षिक संस्थाको पुनर्निर्माणमा बजेट अभाव रहेको अवस्थामा यी क्याम्पसले पुनर्निर्माण रकम अन्य शीर्षकमा प्रयोग गरिरहँदा प्राधिकरण भने बेखबर छ।

कुन क्याम्पसलाई कति बाँडियो

विश्वविद्यालय आर्थिक प्रशासन महाशाखाका उपनियन्त्रक अमीर सिन्दुकारका अनुसार विश्वविद्यालयले पहिलो चरणमा २७ आंगिक क्याम्पस र एक अनुसन्धान केन्द्रलाई पुनर्निर्माण शीर्षकको रकम दिएको छ। प्राधिकरणले पहिलो चरणमा गत जेठमा २० करोड रुपैयाँ उपलब्ध गराएको थियो। असारमा थप २५ करोड रुपैयाँसहित हालसम्म कुल ४५ करोड रुपैयाँ प्राधिकरणबाट प्राप्त भएको उनले बताए। त्यसमध्ये तीन करोड ७५ लाख केन्द्रीय क्याम्पसको भवन पुनर्निर्माणमा खर्च गर्न उपलब्ध गराइएको छ।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसलाई ११ लाख २५ हजार, ल क्याम्पसलाई १२ लाख ५० हजार, पद्मकन्या क्याम्पसलाई ३७ लाख ५० हजार, रत्नराज्यलक्ष्मी क्याम्पसलाई २५ लाख र शंकरदेव क्याम्पसलाई २१ लाख ५८ हजार रुपैयाँ उपलब्ध गराइसकेको उनले जनाए।

विश्वविद्यालयले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई १ करोड ८७ लाख ५० हजार, त्रिचन्द्र क्याम्पसलाई ३७ लाख ५० हजार, ललितकलालाई १८ लाख ७५ हजार, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जलाई ६२ लाख ५० हजार र पाटन संयु क्त क्याम्पसलाई २५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

यसैगरी भक्तपुर क्याम्पसलाई १६ लाख ८८ हजार, सानोठिमी क्याम्पसलाई ११ लाख २५ हजार, नेपाल कमर्स क्याम्पसलाई ९ लाख ३८ हजार, अमृत साइन्स क्याम्पसलाई १३ लाख १३ हजार, सरस्वती क्याम्पसलाई ७२ लाख र थापाथली क्याम्पसलाई १८ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको सिन्दुकारले जनाए।

उपत्यकाबाहिर गोरखा क्याम्पस गोरखालाई २८ लाख १३ हजार, धौलागिरी क्याम्पस बाग्लुङलाई ११ लाख २५ हजार, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरालाई २८ लाख १३ हजार, लमजुङ क्याम्पस लमजुङलाई १६ लाख ८८ हजार, पृथ्वीनारायण क्याम्पस पोखरालाई २५ लाख र चिकित्सा नर्सिङ क्याम्पस पोखरालाई ११ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ।

वनविज्ञान अध्ययन संस्थान पोखरालाई ३७ लाख ५० हजार, धनकुटा क्याम्पसलाई १८ लाख ७५ हजार, भोजपुर क्याम्पस भोजपुरलाई २२ लाख ५० हजार र वीरेन्द्र बहुमुखी क्याम्पस चितवनलाई १६ लाख ८८ हजार रकम यही शीर्षकमा बाँडिएको छ।

अन्य शीर्षकमा खर्च गर्न पाइँदैन

प्राधिकरणबाट उपलब्ध गराएको बजेट भवन पुनर्निर्माणबाहेक अन्य कार्यमा खर्च गर्न नपाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। 'विश्वविद्यालयलाई हामीले ससर्त अनुदान दिएका हौं,' प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने, 'भूकम्पले भत्किएका भवन पुनर्निर्माण र मर्मतबाहेक अन्य शीर्षकमा खर्चिन पाउँदैन।' यो शीर्षकको बजेटबाट नयाँ भवन बनाउनसमेत नपाइने उनले बताए।

पुनर्निर्माण बजेट खर्च गर्ने कार्यमा त्रिवि पदाधिकारी गैरजिम्मेवार बनेको प्राधिकरणका एक अधिकारीले बताए। गत आर्थिक वर्षको प्रगति विवरणसमेत त्रिविले हालसम्म नबुझाएको प्राधिकरणका बजेट शाखा प्रमुख राजन पौडेलले बताए। 'कुन क्याम्पसले के शीर्षकमा खर्च गरे भन्ने प्राधिकरणलाई जानकारी छैन,' पौडेलले भने, 'पटकपटक ताकेता गर्दा समेत त्रिविले गत वर्षको प्रगति विवरण पेस गरेको छैन।'

त्रिवि पदाधिकारीको लापारबाही यतिमा मात्रै सीमित छैन। त्रिविले यसअघि पुनर्निर्माणकै बजेट कीर्तिपुरस्थित मूल गेट निर्माणमा खर्चेको थियो। त्रिविले यही बजेटबाट तीनवटा गाडी खरिद गर्ने प्रस्ताव प्राधिकरणसमक्ष राखेको थियो। त्यस्तै, भूकम्पको प्रभाव नपरेका जिल्लाका क्याम्पसलाई पनि कार्यक्रममा समेटिएको थियो। 'तीनवटा गाडी खरिद गर्न बजेट माग गरिएको थियो,' पौडेलले भने, 'भूकम्पबाट क्षति पुगेका भवनबाहेक अन्य शीर्षकमा प्राधिकरणले बजेट स्वीकृत गरेको छैन।'

पौडेलले चालू आर्थिक वर्षका लागि एक अर्ब बजेट विनियोजन गरिए पनि त्रिविले हालसम्म कार्यक्रम पेस नगरेको बताए।

'दुरुपयोग भएको छैन'

भूकम्पबाट प्रभावित क्याम्पसको स्थलगत अनुगमन गरेरै बजेट उपलब्ध गराइएको आर्थिक उपनियन्त्रक सिन्दुकारको दाबी छ। 'प्राधिकरण, विश्वविद्यालयका प्रतिनिधि र इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका इन्जिनियरको टोलीले अनुगमन गरेर पहिलो चरणको बजेट निकासा गरेको हो,' उनले भने। पुनर्निर्माण रकम अन्य शीर्षकमा खर्च भइरहेको बारे जानकारी नभएको उनले बताए।

विश्वविद्यालयले अतिप्रभावित १४ जिल्लाका आंगिक क्याम्पस पुनर्निर्माण गर्न प्राधिकरणसँग आठ अर्ब रुपैयाँ बजेट माग गरेको उनले बताए। 'प्राधिकरणले ६४ करोड ६४ लाख ८ हजार रुपैयाँ पहिलो चरणमा छुट्याएको जानकारी दिएपछि यही आधारमा त्रिविले कार्यक्रम तय गरेको थियोे,' उनले भने, 'प्राधिकरणले पछि ५६ करोडमात्रै दिने भनेपछि  विश्वविद्यालयले कार्यक्रम परिवर्तन गरेको हो।'

गत जेठमा २० करोड र असारमा २५ करोड गरी हालसम्म कुल ४५ करोड रुपैयाँ प्राप्त भएको उनले बताए। '२० करोड रुपैयाँ क्याम्पसहरूलाई बाँडिसक्यौं,' उनले भने, 'बाँकी रकम त्रिवि सभाले पास गरेपछि कलेजहरुको प्रगति विवरणको आधारमा  मात्र निकासा हुन्छ।'

प्रकाशित: १ भाद्र २०७४ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App