coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल-चीन पेट्रोलियम पदार्थ अन्वेषण सम्झौता सम्पन्न

काठमाडौं- चीनले चार महिनाअघि नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको पहिलो चरणको पूर्व सम्भाव्यता अध्ययनपछि अन्तिम सम्झौता गरेको छ। मंगलबार दुई देशबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चीनका तर्फबाट चिनियाँ वाणिज्य उपमन्त्री यु जियानहुवाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। चीनले पहिलो चरणको पूर्व अध्ययन र छलफलपछि नेपालको पेट्रोलियम पदार्थ अन्वेषण गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।

खानी तथा भूगर्भ विभागका अनुसार चिनियाँ भूगर्भविदहरूको टोलीले नेपालको विभिन्न ठाउँमा पूर्वसम्भाव्यता अध्ययन गरेको छ। 'चिनियाँ टोलीले पहिलो चरणको सम्भाव्यता अध्ययन गरिसकेको छ,' विभागका उपमहानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले नागरिकसँग भने, 'उक्त अध्ययनपछि उनीहरूले आफ्नो देशमा छलफल गरे र अहिले सम्झौता भएको छ।'

चीनबाट आएको भूगर्भविदहरूको टोलीले विभागसँग मिलेर सुर्खेत–दैलेखी, बुटबल–पाल्पा, सुनसरीको चतरा–बराह क्षेत्र र मोरङको बाहुनमा रहेको ड्रिलिङ साइटको स्थलगत अध्ययन गरेको थियो। टोलीले विभागको परियोजनमा रहेका पेट्रोलियमसँग सम्बन्धित डाटा तथा सूचनाको समेत अध्ययन गरेको थियो।

विभागका अनुसार उक्त टोलीले ३० अप्रिल २०१६ देखि २६ मेसम्म स्थलगत अध्ययन गरेको थियो। उक्त अध्ययन प्रतिवेदनलाई चिनियाँ टोलीले आफ्नो सरकारसामु पेस गरेको थियो। उक्त प्रतिवेदनमाथि चीनमा व्यापक छलफल भएको विभागले जनाएको छ। उनीहरुले प्रतिवेदन विभागमा भने नबुझाएको रजौरेले बताए।

सम्झौता अनुसार चीनले नेपालको कुन भागका के कति मात्रामा पेट्रोलियम पदार्थ छ भनेर अन्वेषण गर्नेछ।

विभागले मुलुकका विभिन्न भागलाई १० वटा खण्डमा विभाजन गरेको छ। अहिलेसम्म ती स्थानमा स्वदेशी र विदेशी कम्पनीहरूले अन्वेषण गर्ने भनेर अनुमतिपत्र लिए पनि काम अघि नबढेपछि सबैसँगको सम्झौता रद्द गरिसकेको छ। सम्झौता बमोजिम पेट्रोलियम कार्य नगरेका कम्पनीहरूको सम्झौता २०७१ मा नेपाल सरकारले रद्द गरेको र हाल १० वटै अन्वेषण खण्डहरू खाली रहेको विभागले जनाएको छ।

त्यसैगरी, विभागले पेट्रोलियम नियमावली, २०४१ लाई नेपाल सरकारबाट समसामयिक पाँचौं संशोधन गरी राजपत्रमा सूचना प्रकाशन गर्ने क्रममा रहेको छ। उक्त संशोधन राजपत्रमा प्रकाशित भएपछि पेट्रोलियम कार्यको अन्वेषण, विकास तथा उत्पादनको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी भएको विभागले जनाएको छ।

परियोजनाले वार्षिक कार्यक्रम अन्तर्गत उदयपुर, धनुषा, रुपन्देही र पाल्पा क्षेत्रमा भौगर्भिक नक्सा अध्यावधिक गर्ने कार्य सम्पन्न गरेको छ। साथै दाङ, रोल्पा र प्युठान जिल्लामा विस्तृत भौगर्भिक सेक्सन मिजरमेन्ट कार्य सम्पन्न गरेको जनाएको छ।

प्रकाशित: १ भाद्र २०७४ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App