६ वैशाख २०८१ बिहीबार
समाज

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

काठमाडौं- छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआइजी हुन्। तर यी दुबै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

काठमाडौं परिसरमा रहेका प्रद्युम्न कार्की बढुवा भएर एसएसपी भए। उनी पनि एसएसपीको फुली लगाएर एसपीको काम गरिरहेका छन्। एसएसपी प्रमुख हुने महानगरीय प्रहरी अपराध महाशाखाका प्रकाशजंग कार्कीले पनि एसएसपीको फुली लगाएर एसपीको भूमिका निर्वाह गरिरहेका छन्। अहिले महाशाखामा एसएसपी दिनेश अमात्य प्रमुख छन्।

हालै एआइजिपीमा बढुवा भएका ११ मध्ये अधिकांशको हालत पनि उस्तै छ। केही एआइजी डिआइजी हुँदाका बेला एआइजी प्रमुख रहने कार्यालयमा निमित्तका रुपमा सरुवा भएकाले उनीहरू विभाग प्रमुखको भूमिकामा त छन् तर पदस्थापन सोही कार्यालयमा भएको छैन।

बढुवा जाम खुलाउँदे गृह मन्त्रालयले एआइजीदेखि हबल्दारसम्मको बढुवा निकाल्यो। तर पदस्थापन हुन सकेको छैन। प्रहरी नियमावली अनुसार एआइजीको सरुवा मन्त्रिपरिषद्ले गर्नुपर्छ भने डिआइजी र एसएसपीको सरुवा अधिकार गृहमन्त्रीमा छ।

पदस्थापन नहुँदा एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजीले काम गरिरहेका छन्। डिआइजी प्रमुख हुने प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोमा भने एसएसपी निमित्त छन्। ब्युरोका प्रमुख नवराज सिलवाल बिदामा बसेपछि एसएसपी शेरबहादुर बस्नेतले त्यसको नेतृत्व गरिरहेका छन्।

पहिलो नम्बरका एआइजी बमबहादुर भण्डारी महानगरीय प्रहरी कार्यालयमा छन्। दोस्रो नम्बरमा एआइजी भएका जयबहादुर चन्द गृहमा हाजिर गरेर बसेका छन्। तेस्रो नम्बरका एआइजी देवेन्द्र सुवेदी एआइजीको दरबन्दी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छन्। चौथो नम्बरका पशुपति उपाध्याय कार्य विभागमा छन्। पाँचौ नम्बरका केशरीराज घिमिरे मानवस्रोतमा छन्।

डिआइजी प्रमुख हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एआइजी कमलसिंह बम छन्। प्रबन्धमा माधवप्रसाद जोशी छन्। एसएसपी हुँदा क्षेत्रीय प्रहरी कार्यालय पुगेका विजयलाल कायस्थ एआइजी हुँदा पनि त्यहीं नै छन्। रणबहादुर चन्द जुनियर प्रहरी तालिम केन्द्रमा छन् भने विजय भट्टको दरबन्दी डिआइजी प्रमुख हुने महिला बालबालिका सेवा केन्द्रमा छ।

एसएसपीबाट डिआइजी भएका १५ जना, एसपीबाट एसएसपी भएका २५ जनाको अवस्था पनि उस्तै छ। उनीहरूको काँधको फुली फेरिए पनि जिम्मेवारी फेरिएको छैन।

आफ्नालाई पठाउन चलखेल

बढुवा भएकामध्ये पद अनुसार जिम्मेवारी पाउने जम्मा तीन प्रहरी अधिकारी छन्।  एआइजी बढुवा सिफारिसमा परेका मिङमार लामालाई निर्णय नहुँदै एआइजी प्रमुख हुने ट्राफिक निर्देशनालय लगेर डिआइजीमा सिफारिस भएका सर्बेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा ल्याइएको थियो। खनालको सरुवा भएपछि डिआइजी प्रमुख हुने प्रहरी प्रवक्तामा पुष्कर कार्की आए। तर यो सरुवा स्थायी भने हैन।

सत्तासीन २ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कुन प्रहरीलाई कहाँ पदस्थापन गर्ने भन्ने सहमति हुन नसक्दा प्रहरी संगठन अन्योलमा छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पदस्थापनका लागि दबाब बढाउन सकेका छैनन्। पछिल्लो समय उनी गृह प्रशासनसमक्ष निक्कै कमजोर देखिएका छन्।

सरुवा निकालिसकेकी एसपी मीरा चौधरीको सरुवा गृह मन्त्रालयबाट रोकिँदा समेत उनले फुकाउन सकेका छैनन्। सरुवा भएका सबै एसपी  जिल्लामा खटिइसक्दा चौधरी सिआइबीमै छिन्। स्रोतका अनुसार उनको सरुवा स्थगित भने भएको छैन। गृहमन्त्रीको निर्देशनमा तत्कालका लागि उनलाई जिल्ला नपठाइएको हो।

महानगरीय प्रहरी कार्यालय, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठानलगायत कार्यालयमा कसलाई पठाउने भन्ने विषयमा दुई दलबीच सहमति हुन सकेको छैन।

स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय र ब्युरोमा पठाउने प्रहरी अधिकारी चयनमा सबैभन्दा धेरै विवाद छ। दरबन्दी संख्याभन्दा बढी एआइजी भएकाले पनि कसलाई कहाँ पठाउने भन्ने विवाद छ।

गृहमन्त्री जनार्दन शर्माले ११ एआइजीमध्ये ७ जनालाई सात प्रदेश हेर्नेगरी जिम्मेवारी तोक्ने योजना सार्वजनिक गरेका थिए। प्रदेशमा पठाउने प्रहरी अधिकारी चयनमा समेत दुई दलबीच सहमति हुन सकेको छैन।

गृहमन्त्रीको कार्ययोजनामा कार्यालय प्रमुखको जिम्मेवारी पाउनेसँग कार्यसम्पादन सम्झौता गर्ने उल्लेख छ। त्यसको तयारीमा समय लाग्दा पनि बढुवा अधिकारीहरूको पदस्थापन हुन नसकेको हो।

प्रकाशित: १ भाद्र २०७४ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App