coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विवादबीच थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार बसेको बैठकले विवादका बीच थ्री स्टार क्लबलाई १ करोड ५० लाख रकम क्षतिपूर्तिस्वरूप दिने लगायतका अन्य महत्वपूर्ण निर्णय गरेको छ। बैठकले मंसिर १४ देखि ए डिभिजन लिग फुटबल प्रतियोगिता गर्ने निर्णयसमेत गरेको छ। 

यसअघि थ्री स्टारलाई क्ष्तिपूर्ति दिने कुरामा विवाद भएपछि  साउन ११ मा भएको एन्फा बैठक स्थगित भएको थियो। एन्फा उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्यत्रय पंकज नेम्बाङ, रत्नकुमार श्रेष्ठ र वसन्त अर्यालले थ्री स्टारलाई क्षतिपूर्ति दिने रकमको स्रोत खोज्नुपर्ने तथा दोषीमाथि कारबाही गर्नुपर्ने अडान राखेपछि निर्णय सर्वसम्मत हुन सकेन। उपाध्यक्ष खड्का तथा तीन सदस्यले निर्णयमाथि असहमति जनाउँदै नोट अफ डिसेन्टसमेत लेखेका थिए।

'थ्री स्टारलाई क्ष्तिपूर्ति दिने विषयमा हाम्रो असहमति छैन। क्षतिपूर्तिका लागि कानुनी पक्ष मिलाउनुपर्छ, स्रोत व्यवस्थापन गर्दै दोषीलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो', संघका सदस्य अर्यालले भने, 'तर माइन्युटमा संघ र क्लबीच सहमति भएअनुसार क्षतिपूर्ति दिने भनेर लेखियो, जब कि संघ र क्लबबीच कुनै पनि सहमति भएको छैन। यसअघि थ्री स्टार क्लबसँग वार्ता गर्न मात्र साथीहरूलाई जिम्मा दिइएको थियो, सहमति गर्ने अधिकार थिएन। त्यसैले तीन जनालो माइन्युटमै नोट अफ डिसेन्ट लेख्नुभयो। मैले पछि मात्र निर्णय पढ्दा थाहा पाएँ र सिइओलाई मेरो निर्णयमा सहमति नभएको व्यहोराको पत्र बुझाएको छु।'

एएफसी एसिया कपको दोस्रो चरणमा छनोट भएर पनि एन्फाको लापरबाहीका कारण थ्री स्टार प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो।

एन्फाको असोज २३ गते गर्ने भनिएको साधारणसभाअघि क्लबलाई क्षतिपूर्तिस्वरूप उक्त रकम दिनेमा सहमति भएको हो।

यसैबीच एन्फाद्वारा वीरबहादुर खड्काको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले देखाएका दोषीहरूका बारेमा अन्तिम निर्णय लिन  एन्फा वरिष्ठ उपाध्यक्ष मणि कँुवर, सदस्यहरू गणेशबहादुर चन्द र दिनेश व्यञ्जनकारसहितको समिति गठन गरेको छ। सो समितिले १० दिनभित्र एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलाई प्रतिवेदन पेस गर्ने निर्णय भएको एन्फाले बताएको छ।

पछिल्लो समय थ्री स्टारलाई क्षतिपूर्ति दिने बारेमा एन्फा पदाधिकारीबीच सहमति हुन नसक्दा फुटबल गतिविधिमा असर गरिरहेको थियो।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले थ्री स्टारको समस्या समाधान भएपछि नेपाली फुटबलले गति लिने बताए। उनले भने, 'हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं। पछिल्लो समय थ्री स्टारको विषय मुख्य समस्या बन्दै आएको थियो।'

यसै गरी बैठकले जनवरी ७ मा निर्वाचन र अक्टोवर ९ मा विधान सभा गर्नका लागि एएफसीलाई पत्राचार गर्ने निर्णय गरेको छ। बैठकले नेपालले एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत समूह 'डी' का खेल नेपालमा आयोजना गर्ने, एएफसी एसिया कप २०१९ को छनोट खेल खेल्ने, भुटानमा हुने साफ यु–१८ च्याम्पियनसिप, किर्गिस्तानमा हुने एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा भाग लिने निर्णय गरेको छ। एन्फा फुटसल लिग आयोजना गर्ने, नेपालले इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा भाग लिनुका साथै काठमाडौं, नवलपरासी र मकवानपुरमा मैदान निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै नेपालले बंगलादेशमा हुने एएफसी यु–१५ च्याम्पियनसिपमा पनि भाग लिने निर्णय गरेको छ।

प्रकाशित: १ भाद्र २०७४ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App