coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न तीन दल सहमत

काठमाडौं- प्रमुख तीन राजनीतिक दल प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न सहमत भएका छन्। नेपाली कांग्रेस,  माओवादी केन्द्र र एमालेका शीर्ष नेताबीच बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा मंसिर दोस्रो साताभित्र दुवै निर्वाचन एकैपटक सम्पन्न गर्ने सहमति भएको हो। सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सो बैठकमा निर्वाचन आयोगसँग परार्मश गरी सरकारले केही दिनभित्रै चुनाव मिति घोषणा गर्ने छन्।

कांग्रेस नेता रामचन्द्र पौडेलले प्रमुख राजनीतिक दलबीच दुबै चुनाव एकैपटक गर्ने सहमति भएको जानकारी दिँदै निर्वाचन आयोगसँग थप छलफल गरेर मिति घोषणा गरिने बताए। हिमाली भेगमा मंसिरको दोस्रो सातापछि हिउँ गर्ने भएकाले त्यसअघि नै चुनाव सम्पन्न गर्नुपर्ने बताउँदै पौडेलले भने, 'समय पनि छैन, मंसिर ६/७गते प्रदेश र केन्द्रको निर्वाचन एकैसाथ हुन्छ।'

निर्वाचन आयोगले प्रदेश र केन्द्रको छुट्टाछुट्टै मतपत्र प्रयोग गरेर मंसिरमा दुवै चुनाव एकैपटक गराउन नसक्ने बताएकाले सरकारले समस्या समाधान गर्नेगरी आयोग पदाधिकारीसँग बिहीबार छलफल गर्ने तयारी गरेको छ।

प्रत्यक्ष र समानुपातिकका लागि छुट्टाछुट्टै मतपत्र बनाउने, प्रत्यक्षतर्फको मतलाई नै समानुपातिकमा पनि गणना गर्ने वा प्रत्यक्षतर्फकै मतपत्रमा समानुपातिकका लागि दलहरूको थप एक/एक चिह्न पनि राख्ने विकल्पमा छलफल जारी छ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले मतपत्र कस्तो बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। 'प्रत्यक्षतर्फकै मतलाई समानुपातिकमा पनि गणना गर्ने वा कसरी मिलाउन सकिन्छ भन्नेमा छलफल चलिरहेको छ,' श्रेष्ठले भने, 'निर्वाचन आयोगसँग पनि छलफल गरेर कुन विकल्प रोज्ने भन्ने टुंगो लाग्छ।'

तत्काल निर्वाचन मिति घोषणा नगरे मंसिरमा चुनाव गराउन नसक्ने आयोग पदाधिकारीले जनाएपछि सरकारले भदौ ४ गतेभित्र मिति घोषणा गर्ने तयारी गरेको छ। प्रमुख तीन दलको बैठकले आयोगसँग छलफल गरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाएको छ। 'केही दिनभित्र मिति घोषणा गर्ने सहमति भएको छ,' श्रेष्ठले भने।

प्रमुख दलबीच प्रदेश र केन्द्रको निर्वाचनका लागि आवश्यक ऐन र कानुन संसद्बाट पारित गरेर आयोगलाई काम गर्न सहयोग पुर्‍याउने समझदारी भएको छ। 'चुनावका लागि आवश्यक सबै कानुन अब विलम्ब नगरी संसद्बाट पारित गर्ने कुरा भएको छ,' कांग्रेस नेता पौडेलले भने, 'सबै कुरा टुंग्याउँदै निर्वाचनमा जुट्ने हो।'

पौडेलले संसद्मा विचाराधीन संविधान संशोधन विधेयकलाई पनि प्रक्रियामा लगेर टुंगोमा पुर्‍याउने सहमति भएको बताए। उनका अनुसार प्रमुख प्रतिपक्षी एमाले पनि संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजान सहमत  देखिएको छ।

'राष्ट्रिय एकता कायम गरौं'

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले बाढीपहिरोका कारण मुलुकमा आइलागेको विपतिलाई सबै एक भएर सामना गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार साँझ डाकेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले भूकम्पपछि जस्तै राजनीतिक दल एकैठाउँमा उभिएर प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने र मधेस समस्या समाधान गरेर अघि बढ्नुुपर्ने नेताहरूले जोड दिएका छन्। संविधान संशोधनसहित मधेसका समस्या समाधान गरेर राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

नेताहरूले बाढीबाट पीडित तराई–मधेसका बासिन्दाको उद्धार, राहत र पुनर्स्थापनमा पनि  सबै दल एक भएर लाग्नुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आइपरेको विपतिको सामना, संविधान संशोधन र प्रदेश/केन्द्रको निर्वाचन मिति घोषणा विषयमा दलहरूको राय मागरेका थिए। उनले केही दिनभित्रै संसद्मा रहेको संविधान संशोधन विधेयकलाई टुंगोमा पुर्‍याउँदै प्रदेश र केन्द्रको निर्वाचन एकैपटक मंसिरमा गर्ने सरकारी तयारी रहेको जानकारी गराउँदै राय मागेका थिए।

प्रकाशित: १ भाद्र २०७४ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App