coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जसले थापाथली र भोटेबहालमा भेटेको पाँच लाख फिर्ता दिए

ट्राफिक प्रहरी कार्यालयमा एक लाख रुपैयाँ बुझाएपछि तयार पारिएको पत्र।

काठमाडौ‌ं– काठमाडौंको सडकमा पाँच लाख रुपैयाँ हराए के होला? निश्चय नै त्यसरी पैसा हराए भेटिन्छ भन्ने आशा कमैलाई होला। सिन्धुपाल्चोकका स्थायी बासिन्दा सुजन लामाले मंगलबार त्यस्तै अनपेक्षित घटना अनुभव गर्न पाएका छन्। भैँसेपाटी बस्दै आएका उनी मंगलबार बिहान करिब ११ बजे न्युरोडबाट पैसा झोलामा हालेर मोटरसाइकलमा घरतिर लागे। घर पुगेर झोला हेर्दा त्यहाँ पाँच लाख रुपैयाँका बिटा थिएनन्। झोला रित्तै थियो। कतिखेर र कहाँ पैसा झर्‍यो उनले पत्तो पाएनन्। एकै छिन अघि बैंकबाट झिकेको पाँच लाख गुमाउनु पर्दा उनी छाँगाबाट खसेजस्तै भए।

काठमाडौं भोटेबहालका पाँच महिलाले सोही बाटो हिँड्दा बाटोमा चार लाखको बिटा फेला पारेका थिए। मच्छेली महर्जन, सारदा महर्जन, मचनानी महर्जन, बिमला डंगोल, नानीमाया महर्जनको समूहले लाख–लाखका बिटा भेटेको थियो।

‘आजकालको जमानामा पनि यति सज्जन मान्छे हाम्रो समाजमा हुुनुहुँदो रहेछ’, सुजन लामाले नागरिकन्युजसँग भने, ‘उहाँहरूको निष्ठा र इमान देखेर म आफैँ नतमस्तक भएको छु। यो बीचमा मेरो मन धेरैपटक उहाँहरुप्रति कृतज्ञ भयो। धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’

‘हामी बाटोमा हिँड्दै थियौं। भोटेबहाल चोकको रुख नजिकै चार लाखको बिटो देख्यौं’, ६५ वर्षीया मच्छेली महर्जनले नागरिकन्युजसँग भनिन्, ‘अर्काको पैसा लिनु हुँदैन। जसको हो उसैले पाउनुपर्छ भन्ने लाग्यो।’ अरुको सम्पत्ति लिनु हुँदैन भन्ने सोच मच्छेलीको थियो। त्यसैले उनीहरु नजिकैको प्रहरी कार्यालय महानगरीय प्रहरी प्रभाग जनसेवा न्यूरोड पुगे। र त्यहाँ प्रहरीलाई पैसा बुझाइ दिए।

‘सुरुमा हामीले उहाँलाई खोज्यौं भेटेनौं। पछि पैसा हराएको मान्छे आउनुभएछ उहाँको त पाँच लाख पो हराएको रहेछ। हामीले भेटेको त्यही चार लाख थियो। प्रहरीलाई बुझाइदि सक्यौं’, उनले सुनाइन्।

विशाल बजारस्थित जनसेवा प्रहरी कार्यालयमा पैसा बुझाइदिएपछि प्रहरीले पैसा भेटिएको सर्कुलर सबैतिर गर्‍यो। ‘मंगलबार साँढे ११ बजेतिर चार लाख भेट्टाएको भन्दै पाँच जना महिला आउनुभयो हामीले पैसा भेटिएको  खबर सबैतिर सर्कुलर गर्‍यौ’, जनसेवाका डिएसपी सन्तोष आचार्यले नागरिकन्युजसँग भने। विशाल बजार आसपास पैसा भेटिएको चर्चा नै चल्यो। मान्छेहरु कुरा गर्न थाले, ‘होइन कलियुग भनेको त अझै सत्ययुग बाँकी रहेछ।’ सुजनले पनि कसैले पैसा भेट्टाएर प्रहरीमा बुझाइदिएको चर्चा सुने। उनलाई केही राहात अनुभव भयो। च्यातिको झोलासहित उनी प्रहरीकोमा पुगे।

महानगरीय प्रहरी प्रभाग जनसेवा पुगेर भेटिएको चार लाख रकम आफ्नो भएको दाबी गरे। उनीसँग विवरण लिइसकेपछि प्रहरीले सडकमा रहेका सिसी क्यामेराको रेकर्ड चेक गर्‍यो। ‘सिसी क्यामेराको फुटेजमा मोटरसाइकल र झोला उनकै भएको देखियो। तथ्य प्रमाणले पैसा उनकै देखिएपछि हामीले पैसा फिर्ता गरिदियौं’, डिएसपी आचार्यले नागरिकन्युजसँग भने।

प्रहरीले चार लाख मात्र फर्काएको थियो। सुजनको हराएको रकम पाँच लाख रुपैयाँ थियो। अझै एक लाख रुपैयाँ हरायो। ‘चार लाख भेटिएपछि चाहिँ मलाई बाँकी एक लाख पनि भेटिन्छ कि भन्ने आश लाग्यो’, सुजनले भने। त्यतिकैमा प्रहरीबाट खबर आयो बाटोमा भेटिएको एक लाख रुपैयाँ एक युवकले थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयमा छोडेको छ।

रामेछाप घर भई कालीमाटी बस्दै आएका २५ वर्षीय उमेश श्रेष्ठले थापाथली–त्रिपुरेश्वरबीच सडकमा भेट्टाएको एक लाख रुपैयाँ ट्राफिकलाई जिम्मा लगाएका थिए।

‘नेपालीहरूका लागि एक लाख रुपैयाँ भनेको सानो कुरा हैन कसैको वर्षभरिको कमाई हुन सक्छ’, उमेश श्रेष्ठले नागरिकन्युजसँग भने, ‘पैसा हराउने व्यक्तिको अवस्था सम्झेर पीडा महसुस भयो। त्यही भएर एक लाखको बिटो प्रहरीको जिम्मा लगाइदिएँ।’ ट्राफिक कार्यालयले पैसा र पैसा बुझेको चिठीसहित ट्राफिकको लष्ट एन्ड फाउन्ड विभागमा पठाइदियो। चिठीको एक प्रति उमेशलाई पनि दिइयो।

पैसा खोज्दै ट्राफिक प्रहरी कार्यालय आइपुगेका सुजन लामाले घटनाको सबै बेलिविस्तार लगाए। ट्राफिकले भेटिएको पैसा उनकै भएको यकिन गरेपछि फिर्ता दियो।

‘आजकालको जमानामा पनि यति सज्जन मान्छे हाम्रो समाजमा हुुनुहुँदो रहेछ’, सुजन लामाले नागरिकन्युजसँग भने, ‘उहाँहरूको निष्ठा र इमान देखेर म आफैँ नतमस्तक भएको छु। यो बीचमा मेरो मन धेरैपटक उहाँहरुप्रति कृतज्ञ भयो। धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’

प्रकाशित: ३२ श्रावण २०७४ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App