७ वैशाख २०८१ शुक्रबार
राजनीति

गृह र आपुर्ति मन्त्रीसहित बाढी प्रभावित क्षेत्रमा प्रचण्ड

बाढी प्रभावित इनरुवा वस्तीमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, गृह मन्त्री जनार्दन शर्मा, आपुर्ति मन्त्री शिवकुमार मण्डल सहितकाहरु ।  तस्बिर : जितेन्द्रकुमार झा

इनरुवा– पार्टीका तर्फबाट सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बुधवार सप्तरीको बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गृह मन्त्री जनार्दन शर्मा र आपुर्ति मन्त्री शिवकुमार मण्डल समेत रहेका थिए। 

राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवा र हनुमाननगर कंकालनि नगरपालिका–११ को इनरुवा वस्ती पुगेर बाढी पीडितहरूसँग भेटघाट गर्नुका साथै उनीहरुले बाढीले पू¥याएको क्षतिबारे समेत जानकारी लिएका थिए । गत साउन २६ गते खाँडो नदीको तटबन्धमा लागेको कटान जोगाउन काम गर्दै गरेको अवस्थामा कटान गरिएको ढिस्कोमा पुरिएर ज्यान गुमाएका देउरीभरुवाका डोमि यादवको परिवारजनसँग समेत पूर्व प्रधानमन्त्री प्रचण्ड, गृह मन्त्री शर्मा र आपुर्ति मन्त्री मण्डल सहितकाहरुले भेटघाट गरे। 

टोलीले इनरुवाका ७० परिवारलाई राहत स्वरुप चामल, चाउचाउ, नुन र पानी लगायतका खाद्यानहरू समेत वितरण गरेका छन् । राहत लिन आएका बाढी पीडित तथा स्थानीयहरूलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धैर्य र साहसका साथ विपदको सामना गर्न आग्रह समेत गरे। 

‘हाम्रो मुलुक प्राकृतिक सम्पदाका दृष्टिले निकै धनि छ, यद्यपी प्रकृतिले कहिले काँही हामीलाई समस्यामा समेत पार्ने गरेको छ’, उनले भने, ‘महाभूकम्पको पीडाबाट अझै हामी बाहिर निस्कन सकेका छैनौं, त्यसमाथि बाढीले दिएको घाउ झन् पीडादायी भएको छ ।’ बाढी पीडितहरूको उद्धार, बचाव तथा राहत पुनःस्थापनाका लागि सरकार र आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत उनले बताए।

 गृहमन्त्री जनार्दन शर्माले दशगजा क्षेत्रमा रहेको भारतीय बाँध तथा कोसी ब्यारेज लगायतको यावत समस्याहरूको समाधानका लागि सरकारले भारतसँग प्रभावकारी कुटनीतिक पहल थालेको बताए । सञ्चारकर्मीहरुले राखेको जिज्ञासा माथि बोल्दै उनले भने, ‘सरकारले गम्भीरता पूर्वक कुटनीतिक पहल थालेका छन्, बाढीका बेला कोसी ब्यारेजको ३६ वटा ढोका सम्म खोल्न लगाउनु त्यसकै नतिजा थियो, विस्तारै अन्य समस्याहरूको कुटनीतिक समाधान समेत निकाल्न हामी लागि परेका छौं ।’

बाढी पीडितहरूको राहत बचाव, उद्धार तथा पुनःस्थापना कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत गृहमन्त्रीले दोहाेर्‍याए । ‘बाढी पश्चातको बचाव, उद्धार, पुनःस्थापना लगायतका कार्यका लागि सरकार सक्षम छन’, उनले भने, ‘हामीसँग पर्याप्त स्रोत साधन छन्, हामी लागि परेका छौं, यस्तो विपदमा सिंगो मुलुकले नै जुन तदारुकता देखाएको छ, त्यो प्रशंसनीय छ ।’ 

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा आएको उक्त टोलीमा सहभागी आपुर्ति मन्त्री शिबकुमार मण्डलले बाढी पिडितको राहतका लागि सरकारसँग चाहिएको जति पर्याप्त खाद्यान स्टकमा रहेको जानकारी गराए । मण्डलले भने, ‘हामिसँग टन्ने खाद्यान छन्, राहतका लागि चिन्ता गर्नुपर्दैन ।’

यद्यपी तराईका जिल्लाहरुमा बाढीले नष्ट पारेको धानखेतीबारे क्याबिनेटले विशेष निर्णाय गर्नुपर्ने खाँचो रहेको उनले बताए । सञ्चारकर्मीहरूको जिज्ञासामा बोल्दै उनले भने, ‘हजारौ विघा धानबाली नष्ट भएको छ, यसले आगामी दिनमा खाद्यान संकट निम्त्याउन सक्छन्, यसबारे हामी चाँडै प्रभावकारी रणनीति सहित अघि बढ्ने छौ ।’ 

प्रकाशित: ३२ श्रावण २०७४ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App