७ वैशाख २०८१ शुक्रबार
अर्थ

भिजिट भिसामा बोलाउँदै, रकम असुल्दै

काठमाडौं- बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेको तथ्य भेटिएको हो ।

पछिल्लो तीनदेखि पाँच महिनाको अवधिमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका १९ जना युवा त्यहाँबाट फर्केपछि ठगी धन्दाको नयाँ शृंखला बाहिर आएको हो ।

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीले रोकेको खण्डमा अध्यागमनकै आठ नम्बर गेटमा बस्ने कर्मचारीलाई सम्पर्क राख्न ट्राभल सञ्चालक चन्द्रबहादुर बुढाथोकी र जानकी अधिकारीले सिकाएको उनले बताए।

संस्थागत तवरले वैदेशिक रोजगारीमा गए राम्रो काम नपाइने र पारिश्रमिक पनि कम हुने तथा जानलाई धेरै समय लाग्ने भन्ने दलालको प्रलोभनमा परी युएई पुगेपछि उनीहरू ठगीमा परेको पुष्टि भएको हो । पूर्वको झापादेखि पश्चिमको रोल्पासम्मका युवालाई काठमाडौंको ठमेलस्थित अर्थलाइन ट्राभलले युएई पठाएको थियो ।

विभिन्न जिल्लाबाट फरक–फरक दलालले बटुलेर अर्थलाइन ट्राभलमा पु¥याए पनि सबै युवालाई युएई बोलाउने व्यक्ति भने चितवन कालिका घर भई हाल आवुधाबीस्थित मुसाफा–३२ बंगाली मस्जिद नजिक बस्ने साजन भन्ने प्रेम पाण्डे भएको पीडितको भनाइ छ ।

भिजिट भिसामा बोलाएर राम्रो काम खोजिदिने र पारिश्रमिक पनि राम्रो पाइने प्रलोभनमा परेका उनीहरूलाई पाण्डेले भिजिट भिसाको अवधि सकिँदासम्म काम नखोजेपछि केही ओभरस्टे भएर र केही पीडा सहन नसकेर स्वदेश फर्केको नागरिकलाई बताए ।

‘दलालले भिजिट भिसामा गए राम्रो काम पाइने आश्वासन दिएकाले सबै कुरा पत्याएर युएई गयौं,’ झापाका पूर्ण राजवंशीले भने, ‘तर, पाण्डे र उसका एजेन्टले भिजिट भिसाको आश्वासन दिनुको कारण ठगी गर्नलाई रहेछ ।’ उनका अनुसार पाण्डेले विभिन्न गाउँबाट युवायुवती मगाउने र उनीहरूसँग सक्दो ठगी गरिरहेका छन् । ‘हामी १९ जना पुग्दा पाण्डेले ४० जना जति अरु युवायुवती फ्ल्याटमा राखेका थिए,’ राजवंशीले भने, ‘तीमध्ये अधिकांशले काम पाएका थिएनन् । काम नपाएकाले पाण्डेसँग गुनासो गर्दा उल्टै हप्की–दप्की र कुटपिट गर्थे ।’

जति आग्रह गर्दा पनि पाण्डेले नेपालबाट बोलाएका युवायुवतीलाई काम नखोजिदिएपछि सबै पीडित मिलेर युएईस्थित नेपाली दूतावासका कर्मचारीलाई सहयोगको याचना गरे पनि कुनै उपलब्धि नभएको तुलसीपुर घर भएका पदमलाल ओलीले बताए । ‘पटकपटक राजदूतावासका कर्मचारीसँग सहयोगको याचना गर्दा पनि सधैं मिलाउने प्रयास भइरहेको छ भन्ने शब्दबाहेक अरु सुन्न पाएनौं,’ दाङका अर्का पीडित कुलबहादुर केसीले बताए ।

पीडितका अनुसार देशका विभिन्न जिल्लाबाट दलालले काठमाडौं पु¥याएका युवायुवतीलाई अर्थलाइन ट्राभलले युएईमा रहेका पाण्डेको सम्पर्कमा पठाउने गथ्र्यो । नेपालबाट पठाउने अर्थलाइन ट्राभल र युएईका सम्पर्क व्यक्ति पाण्डे भएपनि युवायुवतीलाई पठाउँदा भने केही दिनको अन्तरमा पठाइने गरिएको फर्केर आएकाहरू बताउँछन् । ‘पठाउने र सम्पर्कको व्यक्ति एउटै हुँदाहुँदै केही दिनको अन्तरमा उडाउनुको कारण हल्लाखल्ला नहोस् भनेर रहेछ,’ सल्यानका विनोद नेपालीले भने ।

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीले रोकेको खण्डमा अध्यागमनकै आठ नम्बर गेटमा बस्ने कर्मचारीलाई सम्पर्क राख्न ट्राभल सञ्चालक चन्द्रबहादुर बुढाथोकी र जानकी अधिकारीले सिकाएको उनले बताए । भिजिट भिसामा जान सक्ने हैसियत नभए पनि उनीहरूलाई अध्यागनका कुनै पनि कर्मचारीले नरोकेको त्यहाँबाट फर्केका युवाको भनाइ छ ।

‘विभिन्न जिल्लाबाट संकलन गरेर अर्थलाइन ट्राभलमा भेला पारिनु, केही दिनको अन्तरले युएईमा रहेका पाण्डेको सम्पर्कमा पठाइनु तथा अध्यागमनका कर्मचारीले कसैलाई सोधपुछ नगर्नु र दूतावासका कर्मचारीले पीडितको भन्दा दलालको कुरा सुन्दा ठूलो गिरोह सक्रिय रहेछ भन्नेमा शंका रहेन,’ राजवंशीले भने, ‘वैदेशिक रोजगारीको आडमा युवा बेच्ने गिरोह सक्रिय हुँदासमेत सबै निकाय चुप छन् ।’

युएईबाट फर्केका युवाका अनुसार हरेकको दुईदेखि तीन लाख ८० हजार रुपैयाँसम्म खर्च भएको छ । पाण्डेले भिजिट भिसामा जाने हरेक व्यक्तिले अनिवार्य रूपमा बोक्नुपर्ने नियम रहेको एक हजार अमेरिकी डलर लिएका थिए भने बाँकी रकम एजेन्ट र ट्राभल सञ्चालकले असुलेको रोल्पाका वसन्तराज खत्रीले बताए ।

उनीहरूका अनुसार युएईस्थित दूतावासमा पटकपटक धाउँदा कुनै सहयोग नभए पनि अन्तिम समयमा भेटिएकी श्रम सहचारी हिराकुमारी यादवले सहयोग गर्दा घर फर्कन पाएका हुन् । घर फर्कंदासम्म चारजनाको भिजिट भिसाको समय सकिएको छ । भिजिट भिसाको तीन महिनाको अवधि सकिएपछि चारजना एक दिन प्रहरी हिरासतमा समेत बस्नु परेको खत्रीले बताए ।

काठमाडौं फर्केलगत्तै दलाल, ट्राभल र पाण्डेले असुलेको रकम फिर्ता पाउन १९ युवाले प्रहरी कार्यालय, वैदेशिक रोजगार विभाग लगायत निकायमा सम्पर्क गरे पनि सहयोग नपाएको बताए ।

‘कसैबाट सहयोग नपाएपछि गृहमन्त्री जनार्दन शर्मालाई पनि भेट्यौं,’ दाङका केसीले भने, ‘उहाँ (गृहमन्त्री) ले प्रहरीलाई सहयोग गर्न निर्देशन दिनुभयो । प्रहरीले नमिल्ने भन्छ । अब सहयोग कसरी जुटाउने भन्ने समस्या भइरहेको छ ।’ कानुन व्यवसायी भने कानुनले वैदेशिक रोजगारीका मुद्दालाई फौजदारी अपराध मानेकाले सरकारी निकाय पन्छिन नमिल्ने बताउँछन् । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई कानुनी सहायता प्रदान गर्दै आइरहेको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल सरकारवादी फौजदारी मुद्दामा उजुरी नपरे पनि सरकारी निकायले आफैं अनुसन्धान गर्ने सक्ने कानुनी व्यवस्था रहेको बताउँछन् । ‘१९ युवा ठगीको परेको घटना भने प्रायः सरोकारवाला सरकारी निकायलाई थाहा छ,’ उनले भने, ‘यस्तो बेला सरकारी निकायमध्ये कसले कारबाही गर्ने भन्नेबारे अन्योल हुनु लाजमर्दो हो ।’

अध्यागमन विभागका निमित्त महानिर्देशक शम्भु मरासिनी युवाहरू उद्देश्य विपरीत भिजिट भिसामा गए पनि विभागले आवश्यक सूचना संकलन गरेर प्रहरीको अनुसन्धान ब्युरोलाई पठाएको बताउँछन् । ‘युवाहरू ठगिएको देखिएकाले कारबाहीका लागि सूचना प्रहरीलाई दिएका हौं,’ उनले भने ।

के हो भिजिट भिसा ?

विदेशमा रहेका कुनै आफन्त या यात्रामा जानु परेको खण्डमा प्रयोग गरिने भिसा भिजिट भिसा हो ।

देश अनुसार भिजिट भिसा फरकफरक अवधिका लागि दिइने गरे पनि युएईले भने तीन महिनाका लागि दिन्छ । भिजिट भिसाका लागि सबभन्दा महŒवपूर्ण दुईतर्फी हवाई टिकट र यात्रा गर्ने व्यक्तिसँग एक हजार अमेरिकी डलर अनिवार्य मानिन्छ ।  कानुन अनुसार भिजिट भिसामा गएका कुनै पनि व्यक्तिले सम्बन्धित देशमा पुगेपछि आम्दानीमूलक काम गर्न पाउँदैनन् ।

तर, युएई सरकारले कहिलेकाही भिजिट भिसालाई वर्किङ भिसाको रूपमा परिणत गर्ने सुविधा दिने गरेकाले दलालले सोही प्रावधानबाट फाइदा लिन उक्त प्रयास गरेको देखिन्छ । सेटिङ मिलाएर भिजिट भिसालाई वर्किङ भिसामा परिणत गर्न सफल भएको खण्डमा समस्या नआउने तर त्यसो हुन नसके समस्या बढ्ने बताइन्छ ।

पछिल्लो समयमा भिजिट भिसाबाट ठूलो संख्याका नेपाली विदेश जाने गरे पनि अध्यागमन विभागसँग यकिन विवरण नभएको निमित्त महानिर्देशक मरासिनी बताउँछन् । भिजिट भिसाबाहेक नेपालबाट बर्सेनि ठूलो संख्यामा युवायुवती रोजगारीका लागि विदेश पस्ने गर्छन् । आर्थिक वर्ष ०७३÷७४ मा नयाँ र पुराना गरी विभिन्न मुलुकमा ६ लाख ५० हजार युवायुवती रोजगारीका लागि पुगेका थिए ।

प्रकाशित: ३२ श्रावण २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App