८ वैशाख २०८१ शनिबार
समाज

बाढीपीडितलाई रुक्माङ्गद कटवाल ट्रष्टको कुहिएको चामल!

राहतको नामा बाँडेको कुहिएको चामल देखाउँदै बाढी पीडितहरु। तस्बिर: जितेन्द्रकुमार झा

बनरझुला(सप्तरी)- सप्तरीका बाढी पीडितलाई वितरण गरिएको चामल कुहिएको फेला परेको छ। गत शनिवार जिल्ला विपद व्यवस्थापन समितिले सप्तरीको बनरझुला, कुसहा तथा रम्पुरा क्षेत्रमा राहतको नाममा बाँडेको चामल  कुहिएको रहेको स्थानीय बाढी पीडितले बताएका छन्। पीडितलाई बाँडेको कुहिएको चामल रुकमाङ्गद कटवाल ट्रस्टले स्थानीय शिरिशको फूल नामक समाजिक संस्थालाई उपलब्ध गराएको थियो। उक्त चामल सो संस्थाले जिल्लाको विपत व्यवस्थापन समितिलाई साउन २७ गते उपलब्ध गराएको हो।

स्रोतका अनुसार समिति सदस्यले राहत सामग्री बुझ्दा चामलको गुणस्तर हेर्ने काम भएको थिएन। ‘केही लत्ताकपडा र ५-५ केजीका एक सय ८० प्याकेट चामल आएको हो। सामान लिने बेलामा कसैले पनि बोरा खोलेर चामलको गुणस्तर हेर्ने काम गरेनौं’ , स्रोतले भन्यो।

बनरझुलाका स्थानीय जागेश्वर रायका अनुसार कटवाल ट्रष्टले उपलब्ध गराएको चामल तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल नेतृत्वमा जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा साउन २८ गते बाँडिएको थियो। वितरण गर्नुअघि सो चामल राजविराजस्थित रेडक्रस गोदाममा राखिएको थियो।

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले वितरणका वेला उक्त सामग्रीहरु गुणस्तरीय नै रहेको दाबी गरेका छन्। ‘हामीलाई उक्त सामग्री शिरिशको फूल नामक समाजिक संस्थामार्फत् रुकमाङ्गद कटुवाल ट्रस्टले उपलब्ध गराएको हो। मैले बुझ्दा वितरणका बेला राम्रै सामग्री भनेर बाँडिएको थियो’, पाण्डेले नागरिकन्युजसँग भने।

‘हाम्रो वरिपरि रहेको बाढी विस्थापितहरुका लागि सामूहिक रुपमै ९ थान त्रिपाल र २९ प्याकेट चामल दिइएका थियौं’, रायले भने, ‘पछि प्याकेट खोल्दा चामलको अवस्था हेरेर छक्क परेँ।’ दुईवटा प्याकेट खोल्दा चामल कुहेको भेटिएपछि अरु प्याक नखोली राखेका छन्।

‘कुहिएर गन्हाउन थालेको अवस्थामा रहेको चामल बाढी पीडितहरुलाई बाँड्नुको के अर्थ?’, अर्का स्थानीय बाढीपीडित देवराम शर्मा भन्छन्, ‘बाढीपीडितहरुको घाउमा मलम लगाउनको साटो यस्तो कार्यले पीडा थाप्ने काम मात्रै भयो।’

बनरझुला मात्रै नभई सोही दिन कुसहामा बाँडिएको चामल पनि खानयोग्य छैन। पीडितका नाममा कुहिएका, गन्हाएका, कामै नलाग्ने खालका सामग्रीहरु विपद् व्यवस्थापन समितिबाटै वाँडिएको घटनाले स्थानीय आक्रोशित भएका छन्।

कुहेको चामल कसरी जनतासम्म पुग्यो?

काठमाडौंबाट आएको चामल जिल्ला दैवी प्रकोप उद्दार समितिले राजविराज स्थित नेपाल रेडक्रस सोसाईटी सप्तरीको गोदामका राखेको थियो। सोही राती आएको बाढी रेडक्रसको गोदाम भित्र समेत पसेको थियो। त्यतिवेलै चामलका बोराहरु भिजेको स्रोतले बतायो। २८ गते विहान सरकारी संयन्त्रले सो सामग्री वाढीपीडित क्षेत्रमा गएर वितरण गरेको थियो।

'बाढीपीडितलाई किन जानीजानी कुहेको चामल बाँड्नु भएको ?' भन्ने नागरिकन्युजको प्रश्नमा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, 'यो म नआउँदै भएको घटना रहेछ। अहिले सबै संयन्त्रसँग छलफल गरी यस विषयमा छानवीन भइरहेको छ। निष्कर्षमा पुगेपछि दोषीमाथि कारवाही गर्न प्रशासन तयार छ।'

 

 

प्रकाशित: ३१ श्रावण २०७४ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App