७ वैशाख २०८१ शुक्रबार
कला

साउनमा सेलिब्रेटी

काठमाडौं- साउन भगवान शिवको आराधनाको महिना मानिन्छ। सबैबीच उत्तिकै महत्व राख्ने साउनमा कलाकर्मी के गर्छन्?

केकी अधिकारी, नायिका

साउन मेरा लागि एकदम 'स्पेसल' महिना हो। म साउनभरि शुद्ध शाकाहारी हुन्छु। शाकाहारी हुनु हाम्रो पाचन प्रणालीका लागि पनि राम्रो हुन्छ। साउन लाग्नासाथ मलाई मेहदी, हरियो चुरा पोते र पोसाक लगाउन मनपर्छ। महिनाभरि श्रद्धापूर्वक पूजा पनि गर्छु र प्रत्येक सोमबार व्रत पनि बस्ने गरेकी छु। राम्रो वर पाऊँ भनेर पनि साउनमा व्रत बस्छु। व्रत बस्दा बिहान पूजापाठ गरी फलाहार गरेर बेलुका सात्विक भोजन खाने गरेकी छु। अरु दिनजस्तै दैनिक आफ्नो काम भने नियमित गर्छु। साउन स्वास्थ्यका लागि पनि उपयुक्त भएको लाग्छ मलाई।

करिश्मा मानन्धर, नायिका

झरी पर्ने महिना हो साउन, त्यसैले कृषिप्रधान हाम्रो देशमा किसानका लागि यो महिना महत्वपूर्ण हुन्छ। साउनमा पूजापाठ, भजन, भगवान शिवको भक्ति धेरै गरिने भएकाले नकारात्मक आसुरी शक्ति परास्त हुन्छन् भन्ने मान्यता छ मेरो।

म यो महिनाभर धार्मिक काममै बढी व्यस्त हुन्छु। शुक्रबार मात्रै बोलबम भन्ने संस्थाको सुन्दरीजलबाट जल लिएर पशुपतिमा चढाउने कार्यक्रममा सहभागी भएकी थिएँ। म प्रायःजसो हरेक महिनामा शाकाहारी नै हुन्छु तर साउनमा भने पूर्ण शाकाहारी हुन्छु। म धार्मिक भएकाले घरमा सधैंजसो पूजापाठ, सत्यनारायणको पूजा लगाउँदै आएकी छु। त्यसैले साउनलाई झन् उत्सवकै रुपमा र महिलाको विशेष पर्व तिज पनि साउनमै भएकाले म यो महिना औधी मन पराउँछु। परिवार र सन्तानको सुख, शान्ति र सम्वृद्धि होस् भन्ने कामना गर्दै व्रत बस्ने गरेकी छु। गरीब दिनदुःखीलाई जहिले पनि दान गर्ने गरेकी छु र साउनमा अलौकिक शक्तिस्वरुप भगवान शिवलाई भक्ति भावले स्मरण गर्छु। यसले हामीमा सकारात्मक ऊर्जा प्रवाह गर्छ भन्ने मेरो विश्वास छ।

सुष्मा कार्की, नायिका

साउनभरि म माछा, मासु छुँदा पनि छुन्न। शुद्ध शाकाहारी भोजन गर्छु। साउनका सबै सोमबार व्रत बस्छु। बिहानै नुहाएर शिव मन्दिरमा पूजा गरेर बेलुकी एक छाकमात्रै भोजन गरी व्रत बस्दै आएकी छु। म व्रत बस्नुको कारण पनि अरु अविवाहित महिलालेजस्तै सुन्दर, सुशील र असल वर शिवजीले दिऊन् भन्ने नै हो। साउन सुरुदेखि मसान्तसम्मै मेहदी लगाइरहन्छु, हरियो चुरा, पोते र पहिरन लगाउन मन पराउँछु। साउनमा नेपाली महिलाको महान पर्व तीजमा पनि म खुब रमाइलो गर्छु। कृष्ण जन्माष्टमीमा पनि पूजा गर्छु।

सुनिता दुलाल, लोक गायिका

साउनमा व्रत बस्नै पर्छ भनेर बसेकी त छैन, तर स्वास्थ्यका लागि व्रत बस्नु पनि फाइदाजनक भएकाले समय मिलाएर बस्ने गरेकी छु। साउनमा हरियो चुरा, पोत र हरियो पहिरन लगाएर गीतको सुटिङ गर्ने गरेकी छु। साउनमा प्रायः मठमन्दिर गएर र घरमा पनि भगवान शिवको पूजाआजा गर्छु। साउन लागेपछि मठमन्दिरमा अलि बढी नै चहलपहल हुने भएकाले साउन लाग्यो भनेर मन आनन्दित हुन्छ। भगवानप्रति मेरो आस्था रहेकाले म मठमन्दिरमा पूजाआजा गरिरहन्छु। भगवानको पूजा गर्दा घरपरिवारमा सुख, शान्ति  र संवृद्धि छाउने मेरो विश्वास छ।

पूर्णकला विसी, लोक गायिका

महिलाका लागि महान पर्व तीज पनि साउनमा नै भएकाले मलाई मनपर्ने महिना हो। साउनको पहिलो दिनदेखि नै सोमबारको व्रत बस्ने, हरियो चुरापोते, मेहन्दी र हरियो सारी लगाएर तीजका गीत सुटिङ गर्छु। म विवाहित भएकाले पति र घरपरिवारको सुख, शान्ति र संवृद्धिका लागि व्रत बस्ने गरेकी छु। म सधैं साउनमा नियमित व्रत बस्ने र पूजापाठ गर्थें तर यसपाला मेरो सानो नानी भएका कारण घरपरिवारले नबस भनेकाले व्रत बसेकी छैन। व्रत नबसेका कारण मनमा अलिकति 'फिल' त भयो तर साना बालबालिका पनि भगवानकै स्वरुप हुन् भनेर मन बुझाएकी छु।

वन्दना मैनाली, गायिका

साउनले सधैं चाडपर्वको सुरुवात गर्छ। यही छेकोमा विवाहित महिलाले तीजजस्ता पर्व मनाउँछन्। मेरा लागि पनि तीजसँगै आउने महिना पर्वको महिनाजस्तो लाग्छ। साउनको सुरुवातमा नै मैले हरियो चुरा, मेहन्दी, पोते र हरियो पहिरन लगाएकी थिएँ। साउनका सबै सोमबार व्रत बस्ने गरेकी छु र तीज पनि धुमधामसँग मनाउने गरेकी छु। यसपाली काखे नानी भएकाले अलि गाह्रो भइरहेको छ। तैपनि पूजाआजा गरिरहन्छु, मठमन्दिर जाने गरेकी छु। व्रत र पूजाआजा भनेको परिवारको र सन्तानको सुखशान्ति र संवृद्धिको लागि गरिने पौराणिक मान्यता अनुसार म पनि गर्दै आइरहेकी छु।

वर्षा लेखी, मिस नेपाल इन्टरनेसनल

भगवानमा मेरो आस्था छ। तर साउनमा व्रत नै बस्नुपर्छ भन्ने मान्यता म राख्दिन। साउनमा भगवान शिवजीको पूजाआजा र भक्ति गर्छु तर व्रत बस्दिनँ। स्वास्थ्यभन्दा ठूलो केही हुँदैन। शरीर र मन दुवै स्वस्थ भएमात्र व्रत बस्नु उचित हुन्छ जस्तो लाग्छ त्यसैले स्वस्थ रहनु पहिलो आवश्यकता हो भन्ने मान्छु म। म वातावरण विषयको विद्यार्थी भएकाले साउन हरियो प्रकृतिको प्रतीक मानेर हरियो चुरा, मेहन्दी र मेरो मन पर्ने कलर पनि हरियो नै भएका कारण प्रायः हरियो पोसाक नै लगाउने गरेकी छु। व्रत नबसे पनि म फुर्सदका बेला पशुपति दर्शन गर्छु र साउनलगायत अन्य महिनामा पनि म शाकाहारी भोजन गर्न नै रुचाउँछु। भगवानमा आस्था रहेकाले म मेरो वर यस्तो वा उस्तो होस् भनेर कहिल्यै सोच्दिन, त्यो त आफैंमा भर पर्छ भन्ने मेरो विश्वास छ ।

प्रकाशित: ११ श्रावण २०७३ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App