coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भैरहवा भन्सारमा सेटिङमा तस्करी, प्रज्ञापनपत्रमा भएभन्दा फरक सामान

बुटवल- एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएको भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान भन्सार पास भएको खुलेको छ। बिहीबार भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना६ख ५६३५ र ना४ख ४१२६ नम्बरका ट्रक  छुटेका थिए। तीमध्ये ना४ख ४१२६ नम्बरको ट्रक भन्सारको दुई नम्बर गेटबाट निस्कँदै गर्दा नियन्त्रणमा लिइएको थियो। यो ट्रकमा रहेको सामान र प्रज्ञापनपत्रमा उल्लेख भएको विवरण फरक पाइएको हो। प्रज्ञापनपत्रमा एक हजार १७ थान पर्दा कपडा, उलनटप दुई हजार दुई सय ७० बन्डल रहेको उल्लेख छ।

भन्सार कर्मचारीले नियन्त्रणमा लिएको ट्रकको सामान जाँच गर्दा सिडी चक्का एक लाख २० हजार थान, हाते आरा दुई हजार एक सय ६०, एंगल कक तीन सय ६३ थान, पिलर कक एक सय थान, कन्सिल्ड कक दुई सय ६६ थान, विव कक दुई सय ६६ थान, लंग बडी विव कक फेला  पारेका छन्। त्यसैगरी, वाल मिक्स्चर २२ थान, सिंक मिक्स्चर ७८ थान, फलामे ह्यान्डल आठ सय ९५ किलो, फलामे टावर बोल्ट एक हजार ६ सय ६० किलो, एलड्रप ६३ किलो, डोर लक सात सय ७९ थान पाइएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत गोपाल भट्टराईले जानकारी दिए।

यसैगरी, रेडिमेड पर्दा तीन हजार तीन सय ६० थान, सोफा कभर ८५ सेट, किचन बास्केट एक सय २६ पिस, बाथरुम ऐना एक हजार दुई सय १० थान, पेन्ट ब्रस आठ हजार ६ सय ४० थान, रेक्जिन कपडा एक हजार आठ सय ४५ मिटर, नेट कपडा पाँच सय ५० मिटर, लेगिंज एक सय ९५ थान, लेडिज टप एक सय २६ थान, लेडिज कुर्ता एक सय ६९ थान, इम्ब्रोडरी साडी १० थान, साधारण साडी ९४ थान र क्याटलग ४८ थान रहेको भट्टराईले जानकारी दिए।

यो घटना सार्वजनिक भएसँगै तस्करहरुले भैरहवा भन्सार कार्यालयबाट गदर्ैै आएको तस्करी खुलेको हो। भारतले दुई वर्षअघि नाकाबन्दी गर्नुअघि  तस्करले वीरगन्जलाई केन्द्र बनाएर तस्करी गर्दै आएका थिए। नाकाबन्दीले वीरगन्ज नाका लामो समय अवरोध भएपछि उनीहरुले भैरहवा भन्सार कार्यालयमा सेटिङ मिलाएर तस्करी गरेका हुन्।

एउटै प्रज्ञापनपत्रबाट दुई ट्रक पास भएको घटनापछि भन्सार विभागले भैरहवा भन्सार कार्यालयका अधिकृत मानबहादुर विक, नायव सुब्बा सुवास शर्मा, खरिदार अतुल शर्मा र विनय जोशीलाई अनुसन्धानका लागि काठमाडांैमा उपस्थित हुन भैरहवा भन्सार कार्यालयलाई पत्र काटेको छ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भुपाल शाक्यले सेटिङ मिलाएर चलाएको तस्करी धन्दामा उनलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्नेबारे विभागका अधिकारीबीच छलफल चलेको भन्सार स्रोतको भनाइ छ।

यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयले चासो देखाएको छ। बुटवल कार्यालयका अनुसन्धान अधिकृतहरुले आइतबार भन्सार कार्यालय पुगेर ट्रकमा भएका सामानको विवरण र यसअघि भन्सार कार्यालयले दिएको प्रज्ञापनपत्र लगायत विवरण लिएका थिए।

मनकामना इन्टरनेसनल पडसरी रुपन्देहीले आयात गरेको उक्त सामान कारोबारी राजु थापाको भएको बुझिएको छ। राजुले रुपन्देहीको  पडसरीमा एउटा र काठमाडौंमा दुई गोदाम राखेर सामान ओसारपसार गरिहेका छन्। उनको यो कारोबारका बारेमा राजस्व अनुसन्धान कार्यालय पनि अहिलेसम्म बेखबर जस्तै छ। विवादमा तानिएको मनकामना इन्टरनेसनलको अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि चासो देखाएको छैन। ‘यसबारेमा हामीलाई केही जानकारी छैन,' राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख नगेन्द्र पाण्डेले भने।

सेटिङ मिलाउने प्रहरी घुमुवा

तस्करीको धन्दामा प्रहरीका घुमुवाले सेटिङ मिलाउँदै आएका छन्।  लुम्बिनी अञ्चल प्रहरी कार्यालयका घुमुवा असई अवदेश यादव र रामसकल यादव तथा सशस्त्र प्रहरीका रेशम महतरा तस्करीको सेटिङमा खटिएका छन् । सीमा सुरक्षा कार्यालय भैरहवामा घुमुवा रहेका महतराको दरबन्दी पोखरा गणमा थियो। काजमा रहेकाहरु दरबन्दी भएकै ठाउँमा जानुपर्ने भएपछि पोखरा पुगेका उनलाई सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराले पुनः भैरहवा पठाएको छ। पहिले सीमा सुरक्षा कार्यालयमा  रहेर खटिने उनी अहिले भने सुक्खा बन्दरगाहमा काज देखाएर भन्सार क्षेत्रको सेटिङ मिलाउँदै आएको सशस्त्र प्रहरी स्रोतको भनाइ छ। उनीसँगै तस्कर र भन्सार अधिकारीबीच सेटिङ मिलाउन सशस्त्रका पूर्वप्रहरी जवान निर्मल तिवारी पनि प्रयोग भएका छन्।

प्रकाशित: ३१ श्रावण २०७४ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App