coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मौकामा व्यापारीको चौका, तरकारीको भाउ छोइनसक्नु

काठमाडौं- अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ। अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ। पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि सय प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारीले बताएका छन्। तराईमा बाढीको क्षति, राजधानी प्रवेश गर्ने सडकमा अवरोध र वर्षाले तरकारी नष्ट भएपछि मूल्य बढेको हो।

सधै झै आयात कम भएको मौका छोपी व्यापारीले मनपरी भाउ बढाएका छन्। अभावको मौका छोपी ज्यादै महँगो मूल्य लिए पछि भान्छा चलाउन हम्मे परेको उपभोक्ताको गुनासो छ।

खुद्रा पसलमा गोलभेंडाको मूल्य किलोको सय रुपैयाँ छ। परबलको एक सय २० रुपैयाँ छ। आलु धार्नीको सय नाघेको छ। काउली, भिन्डी, घिरौंलाको मूल्य पनि ८० रुपैयाँ हाराहारी छ। लौका, काँक्रो किलोको ६० र करेला ४५ रुपैयाँ पुगेको छ। प्याज छोइनसक्नु भएको छ।

बजारमा तरकारी निकै कम आएकाले भाउ बढेको टुकुचा तरकारी बजारकी गंगा श्रेष्ठले बताइन्। 'तीन दिनअघि ६०–७० रुपैयाँ किलोमा बेचेको परबल अहिले एक सय २० रुपैयाँ पुगेको छ,' श्रेष्ठले भनिन्, 'माग अनुसार पुर्‍याउनै सकेका छैनौं।' बर्खामा भारतबाट पनि तरकारी आउन रोकिएको छ। यसको असर मूल्यमा परेको हो।

दुई साताअघि भिन्डी किलोको ३५, घिरौंला ४५, करेला ३५, परबल ३५, चिचिन्डो ३५, बोडी, सिमी ४५ रुपैयाँमा बिक्री भएको थियो।

बर्खाका कारण उत्पादन समेत घटेको छ। खुद्रा पसलमा मात्र नभएर उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमै भाउ बढेको छ। अधिक वर्षाले बाहिरी जिल्लामा करोडौंको तरकारी नष्ट भएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए। 'अधिक वर्षाले देशभर करोडौंको तरकारी नष्ट भएको छ,' कार्कीले भने, 'त्यसको असर स्वाभाविक रुपमा बजारमा परेको छ।'

बजारमा तरकारी कम आएकाले पनि भाउ बढेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ। ग्रामीण क्षेत्रबाट आउने तरकारी पनि आउन सकेको छैन। वर्षाले कच्ची सडकमा गाडी नपुग्ने र बोकेर ढुवानी गर्नुपर्दा लागत बढेको व्यापारी बताउँछन्।

६०–६५ रुपैयाँ पर्ने प्याजको भाउ बढेर ९० रुपैयाँ पुगेको छ।  कतिपय व्यापारीले बहाना बनाएर भाउ बढाएको उपभोक्ता बताउँछन्। प्याज, आलु लगायत फल्ने सिजन अहिले नभए पनि बाहिरबाट नआएको मौका छोपी उपभोक्तालाई ठग्ने काम भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्। मुलुकमा विपत्ति आएको मौका छोपी कमाउने प्रवृत्ति समेत हाबी हुने उनीहरुको भनाइ छ।

उपत्यकामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरको दामन लगायत क्षेत्रमा उत्पादित तरकारी बिक्री हुन्छ। उपत्यकाका मुख्य तरकारी बजार कालीमाटी , टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेल, बानेश्वरबाट तरकारी बिक्री हुन्छ। व्यापारीले ती बजारबाट लगेपछि नाफा जोडेर बेच्छन्।

वर्षादमा उत्पादनै कम भए पनि खुद्रा व्यापारीले धेरै नाफा राखेको कालीमाटी तरकारी बजारका उप–निर्देशक विनय श्रेष्ठले बताए। 'वर्षादले तरकारी उत्पादन घटेको छ,' श्रेष्ठले भने, 'कालीमाटीको तुलनामा खुद्रा बजारमा भाउ निकै धेरै देखिएको छ।' अप्ठेरो परेको बेलामा मौका छोपेर नाफा कमाउने प्रवृत्ति हाबी भएको श्रेष्ठले बताए। 'केही व्यवसायीले अस्वाभाविक मूल्य लिएको पाइएको छ,' उनले भने। श्रेष्ठका अनुसार उपत्यकामा तरकारी आयात पनि घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक करिब साढे ६ सय टन तरकारी आउने गरेकोमा अहिले करिब पाँच सय टन आयात छ। प्याजको भाउ भने भारतमै महँगिएकोले यता असर परेको श्रेष्ठले बताए। 'यहाँ प्रयोग हुने प्रायः सबै प्याज भारतबाट आयात हुन्छ,' उनले भने, 'वर्षाले ढुवानीमा समेत समस्या भएकाले महँगिएको हो।'

वर्षादमा खरिद गरेपछि छिटो बिग्रिने गरेकाले व्यापारी समेत मर्कामा रहेको मैतीदेवीमा तरकारी व्यापार गर्ने किसन तामाङले बताए। किनेर ल्याएर एक/दुई दिन स्टक रहे सबै कुहिएर मूल लगानी पनि नउठ्ने उनले बताए। 'सबैभन्दा जोखिम तरकारी व्यापारमा छ,' तामाङले भने, 'धेरै नाफा राखेको आरोप लगाउनु ब्यर्थ छ।'

प्रकाशित: ३१ श्रावण २०७४ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App