coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतद्वारा शृंखला क्लिन स्विप

पाल्लखेले- रविचन्द्रन आश्विनले चार विकेट लिएपछि भारतले सोमबार श्रीलंकालाई एक इनिङ र १ सय १७  रनले पराजित गरेको छ। फलोअनमा परेको श्रीलंकाले तेस्रो दिन नसकिँदै सबै विकेट गुमाएपछि भारत तीन खेलको शृंखला क्लिन स्विप गर्न सफल भएको छ।

अफ स्पिनर आश्विन र तीव्र गतिका बलर मोहम्मद सामीले एकआपसमा सात विकेट बाँडेपछि श्रीलंकाले १ सय ८० रन बनाउँदा सबै विकेट गुमायो। पहिलो इनिङमा घरेलु टोलीले १ सय ३५ रन मात्र जोड्न सकेको थियो। पहिलो इनिङमा ४ सय ८७ रन बनाएको भारत टेस्ट वरीयताको शीर्ष स्थानमा छ।

‘हाम्रो टोली युवा छ। त्यही उत्साहका साथ हामी यो शृंखला खेल्न निस्केका थियौं। जुन हाम्रो प्रदर्शनमा पनि देखियो,’ भारतका कप्तान विराट कोहलीले भने, ‘हामीले पाँच वर्षभन्दा धेरै समय सँगै क्रिकेट खेलेका छौं। जसले हामीलाई ऊर्जा दियो।’

अलराउन्डर हार्दिक पाण्डेयले ९६ बलमा १ सय ८ रनको आक्रामक इनिङ खेल्दै भारतलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याएका थिए। तेस्रो टेस्ट खेलिरहेका हार्दिकको यो पहिलो शतक हो।

२३ वर्षीय पाण्डेयले ८ चौका र ७ छक्का प्रहार गरेका थिए। उनले पहिलो इनिङमा श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजलाई एलबिडब्लु आउट गरेका थिए।

‘नियमित प्रदर्शन गर्नेहरूले त्यसलाई निरन्तरता दिए। त्योभन्दा सकारात्मक पक्ष पाण्डेयको प्रदर्शन हो। उनले आफ्लो पहिलो तीन टेस्टलाई सम्झनलायक बनाएका छन्,’ भारतका कप्तान कोहलीले भने, ‘उनले  जति राम्रो बलिङ गर्छन्, ब्याटिङमा पनि त्यस्तै प्रदर्शन गरेका छन्। जसका कारण हाम्रो तल्लो क्रमको ब्याटिङ पनि मजबुत बनेको छ र टोलीलाई थप सन्तुलित बनाएको छ।’

बायाँहाते स्पिनर कुलदीप यादवले श्रीलंकाको पहिलो इनिङमा चार विकेट लिएपछि भारत ३ सय ५२ रनको अग्रता लिन सफल भएको थियो। श्रीलंकाको दोस्रो इनिङमा आश्विनले बिहानी सत्रमै ओपनर दिमुथ करुणारत्नेलाई १६ रनको अवस्थामा पवेलियन फर्काएका थिए। त्यसपछि घरेलु टोलीले थप २३ रन जोड्दा अर्को तीन विकेट गुमायो।

कप्तान दिनेश चण्डीमलले एन्जेलो म्याथ्युजसँग पाँचांै विकेटका लागि ६५ रनको साझेदारी गरे। दोस्रो टेस्ट खेलिरहेका कुलदीपले चण्डीमललाई आउट गर्दै दुईको साझेदारी तोडेका थिए। चण्डीमलले ४ चौकासहित ३६ रन बनाए। दुई चौका र १ छक्कासहित ३५ रन बनाएका म्याथ्युजलाई आश्विनले एलबिडब्लु आउट गरे।

विकेटकिपर निरोशन डिकवेलाले दोस्रो इनिङमा सबैभन्दा धेरै ४१ रन बनाए। ५ चौका बनाएका डिकवेलालाई उमेश यादवले अजिन्क्या रहानेमार्फत क्याच गराएका थिए। पहिलो इनिङमा विकेट हात पार्न नसकेका यादवले दोस्रो इनिङमा दुई विकेट लिए। अर्का तीव्र गतिका बलर मोहम्मद सामीले तीन विकेट लिँदा कुलदीप यादवको नाममा एक विकेट रह्यो।

‘शंृखला निकै कठिन रह्यो। भारतले राम्रो क्रिकेट खेल्यो। शृंखलाभर हाम्रा ब्याट्सम्यान र बलरको प्रदर्शन आफ्नै स्वाभाविक क्षमताभन्दा कमजोर रह्यो। हामीले धेरै मिहिनेत गर्नु आवश्यक छ,’ निराश बनेका श्रीलंकाका कप्तान चण्डीमलले भने।

पहिलो इनिङमा १ सय १९ रन बनाएका भारतका ओपनर शिखर धवन म्यान अफ दी सिरिज घोषित भए। तीन खेलको शृंखलामा बायाँ हाते ब्याट्सम्यान धवनले दुई शतकसहित ३ सय ५८ रन बनाएका थिए।

प्रकाशित: ३१ श्रावण २०७४ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App