७ वैशाख २०८१ शुक्रबार
समाज

धनुषाका १३ सय परिवार विस्थापित

जनकपुर- धनुषास्थित कमला नदीको नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। कमलासिद्धिदात्री नगरपालिका माचिझिटकोहियाका ७४ वर्षीय शोभित साहको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए।

यसअघि आइतबार दिउँसो मणियारी खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी नगराइन नगरपालिका–४ की १४ वर्षीया बालिका सोमबारसम्म भेटिएकी छैनन्। स्थानीय गुरगुर राउतकी छोरीलाई बाढी बगाएको उनकी आमाले देखेकी थिइन्। उनको मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ। शनिबार साँझ गणेशमान चारनाथ नगरपालिका–१ फुलबरियाका २२ वर्षीय राजाराम यादवको चारनाथ खोलामा आएको बाढीले बगाएर मृत्यु भएको थियो।

लगातार तीन दिनसम्म परेको अविरल वर्षाले बस्तीमा पसेको बाढीका कारण धनुषामा एक हजार तीन सय परिवार विस्थापित भएका छन्। घरमा पानी पसेर बस्न नसक्ने भएपछि जनकपुरको धर्मवान टोलका ३५ परिवार, जानकी नगरका ४० परिवार र कुवारामपुरका ३० परिवार घरवार छोडेर स्थानीय विद्यालय तथा जनकपुर उद्योग वाणिज्य संघको भवनमा आश्रय लिन पुगेका छन्।

यस्तै, कमलासिद्धिदात्री, सहिदनगर, सबैला, नगराइन नगरपालिका तथा धनौजी, विदेह, मुखियापट्टी मुसरनियाँ गाउँपालिकाको दलित बस्तीका गरी एक हजारभन्दा बढी परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार धुर्मुससुन्तली फाउन्डेसनले जनकपुर–१ का ८६ परिवारलाई खाद्यान्न र लुगाफाटोसहितको राहतसामग्री वितरण गरेको छ। धनुषाधाम नगरपालिकाले ३ सय परिवारलाई चामल, च्युरालगायत खाद्यान्न वितरण गरेको छ। त्यस्तै, रेडक्रस सोसाइटी धनुषा र जनकपुर उद्योग वाणिज्य संघले पनि राहत वितरण गरेका छन्।

सोमबार जनकपुर विमानस्थलमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले घरबारविहीन भएका परिवारको संख्या पत्ता लगाएर पीडितलाई राहत वितरण कार्य तीव्र पार्ने निर्णय गरेको छ। यसका लागि जनकपुर उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटीलगायत सामाजिक संस्थालाई जिम्मेवारी तोकिएको समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले बताए।

धनुषा गृहजिल्ला भएका कृषिमन्त्री रामकृष्ण यादव र खानेपानी मन्त्री महेन्द्र यादवले जिल्लाको बाढीप्रभावित क्षेत्रको अवलोकन गरेका छन्। हेलिकोप्टरबाट जिल्लाको वस्तुस्थिति बुझेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा सहभागी भएका मन्त्रीद्वयले बाढीमा थुनिएकालाई तत्काल उद्धार गरी राहत वितरण कार्यमा सक्रियता बढाउन निर्देशन दिएका थिए।

प्रकाशित: ३१ श्रावण २०७४ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App