८ वैशाख २०८१ शनिबार
समाज

बाढीको क्षति विवरण आउन सकेन, राहतको प्रतिक्षामा पीडित

रौतहट-  बाढीले जिल्लाको अवस्था अत्यन्तै चिन्ताजक बनेको छ। जिल्लामा बाढीले पुर्याएको क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन। बाढीको पानी सोमवार कम भएको भए पनि अधिकांश गाउँको सम्पर्क टुटेकाले क्षतिको विवरण आउन सकेको छैन। सुरक्षाकर्मीले जिल्लामा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गरिरहेको छ।

जिल्ला सदरमुकाम गौरमा आइतबार राति कतिपय घरको भुइँतल्लाको छानासम्म पानी चढेको थियो। सडकमा दश फिटभन्दा माथि पानी जमेको थियो। सर्वसाधारणको कल्पनाभन्दा अत्यधिक बाढी आएपछि सदरमुकामबासी निकै आत्तिएका थिए । मध्यरातदेखि पानी कम हुन थालेपछि  सर्वसाधारणमा बाँच्ने आश पलाएको छ।

बाढीले बालीनाली तथा पसल र गोदामहरुमा अपूरणीय क्षति पुर्‍याएको छ। गोदाममा करोडौँको सामान बिग्रिएको छ । सदरमुकाम गौरको करिब सबै पसलमा पानी पसेपछि अरबौँको क्षति भएको अनुमान गरिएको छ।

विभिन्न गाउँको सडक सम्पर्क टुटेकोले यातायात अवरुद्ध भएको छ। सदरमुकाम गौरलाई महेन्द्र राजमार्गको सखुअवामा सडक टुटेकोले मरम्मतको काम सुरु भए पनि सुचारु हुन अझै एक दुई दिन लाग्ने देखिएको छ। विभिन्न गाउँको  सडक सञ्जाल टुटेपछि राहत संकलन तथा वितरणको काममा समस्या भएको छ।

सरकारको तर्फबाट राहत वितरणको काम खासै हुन नसके पनि विभिन्न प्रयासले प्रारम्भिक राहत वितरणको क्रम सुरु भएको छ । गरुडाका व्यावसायी धर्मनाथ प्रसाद जयसवालले गरुडा नगरपालिकाको विभिन्न गाउँमा चामल, दाल, चिउरा, आलु, नुन लगायतको करिब दश लाखको राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराएका छन् । अन्य संघ संस्थाहरुले पनि राहत वितरणको काम सामान्य रुपमा थाले पनि भित्र गाउँहरुमा पस्न सकेको देखिएको छैन। समयमा राहत पीडितहरुमा पुग्न नसक्दा अझै धेरै पीडित आहत बनिरहेको देखिएको छ।

संसदीय टोलीद्वारा निरीक्षण

रौतहटको विभिन्न प्रभावित क्षेत्रको संसदीय टोलीले निरीक्षण गरेको छ। सहरी विकास मन्त्री प्रभु साहको नेतृत्वमा सांसदत्रय डा. अमरेशकुमार सिंह, सुनीलकुमार यादव र रामकुमार भट्टराई सहितको टोली बाढीले अत्यन्त प्रभावित करुनिया, गरुडा लगायतका ठाउँको निरीक्षण गर्दै पीडित परिवारको क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्री साहले बाढीबाट मृत्यु भएकाको पीडितका लागि केन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट दुई लाखका दरले नगद सहयोग उपलब्ध गराउने निर्णय सरकारले गरेको जानकारी गराएका छन् । बाढीले जिल्लालाई तहसनहस गरेको देखिएकोले सरकारलाई यथार्थ विवरण उपलब्ध गराई सबै पीडितलाई सरकारले सकेको राहत उपलब्ध गराउने बताएका छन्।

प्रकाशित: ३० श्रावण २०७४ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App