६ वैशाख २०८१ बिहीबार
समाज

बाढी पीडितहरु भोकको सन्त्रासमा, राहत बाँड्ने रोए

वीरगन्ज- सोमबार दिउँसो २० बोरा चिउरा, १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको बाढी पीडित गाउँ भेंलहाँ पुगेका हरिनारायण रौनियारको आँखा रसायो । राहत वितरण गरिरहँदा उनी एक्कासी भक्कनिएर भीडभन्दा टाढा पुगे।

दुई दिनदेखि चुल्हो नबलेको गाउँमा सरकारी संयन्त्रको कुनै राहत सामग्री पुगेको छैन । बाढीको पानी ओरालो लागेपनि घरसँगै भान्सा, अन्न, भाँडाकुडा सबै हिलाम्य छ । पेसाले निर्माण ब्यवसायी रहेका रौनियारले त्यहाँ लगेको चिउरा, भुजा र चाउचाउ पाउन स्थानीय पीडित परिवारका वृद्धदेखि बालकसम्म लुछाचुडी गरेका थिए । करिब २० वर्षे एक युवकले रौनियारलाई भने, ‘मलाई बेस्सरी भोक लागेको छ ।’ उनलाई खानेकुरा दिन लगाएपछि रौनियार बाँड्ने ठाउँबाट निस्किएका थिए । ‘कस्तो विडम्बना छ, अलिकति अन्न दानाको लागि मानिसहरु यसरी तछाडमछाड गर्नुपर्ने रहरले हो र ?’ रसाएका आँखा लुकाउँदै उनले भने, ‘यो बाध्यता, यो परिस्थिति कसले बुझिदिने ।’

उनका अनुसार बाढीले धेरै धनजनको क्षति गरेको छ । पीडित ठाउँका मानिसहरुको धैर्य बगाएर लगेको छ भोक र आवश्यकताले । पर्साका पचासभन्दा बढी बाढी प्रभावित गाउँमा पानी थमिसकेर पनि राहत सामग्री पुग्न सकेको छैन । गाउँगाउँमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले थोरै भए पनि राहत र उद्धारमा सघाएर स्थानीयको मनोबल थामेका छन् ।

‘बुढो भइसके यसरी बाढीले बिस्थापित कहिले पनि हुनु परेको थिएन्, बुहारी, ३ जना नाती नातिना छन् । अहिले स्कुलमा शरण लिएका छौं,’ पकाहाकी ६० वर्षीया बचीदेवी सोनारिनले भनिन् । उनले घरका सबै नोक्सान भएको बताइन् । बाढीले गाउँ नै तहसनहस भएपछि स्थानीय सत्तरी परिवारका करिब तीन सय जनाले उक्त स्कुलनमा रात बिताएका थिए

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले ३ ठाउँमा राहत सामग्री वितरण गरेको बताए । बाँकी दुई ठाउँको सूचना पाएको उनले बताए । ती ठाउँमा मंगलबार राहत वितरण गर्ने बताए ।

 

प्रकाशित: ३० श्रावण २०७४ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App