७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

चन्द्रगढी विमानस्थलमा प्रधानमन्त्री देउवा। तस्विरः राजु अधिकारी

झापा—बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन्। गृहमन्त्री जनार्दन शर्मासहित झापा आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रीफिङ सुनेर फर्केका हुन्। गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चाएको थियो।

सोमबारसम्ममा सात जनाको मृत्यु भइसकेको झापामा पाँच जना अझै बेपत्ता छन्। १ हजार ९ सयभन्दा बढी परिवार बिस्थापनको पीडामा छन्। यस्तोबेलामा प्रधानमन्त्री स्थलगत अवलोकनमा आउने खबर पाएका बाढीपीडित आशावादी बनेका थिए। तर जम्माजम्मी १५ मिनेटसम्म जिल्ला बसेका प्रधानमन्त्री बाढीग्रस्त क्षेत्रमा गएनन्। एकै जना पनि पीडितलाई भेटेनन्।

'तपाईंहरुको समस्या सुनेँ। म तत्काल केही गरिहाल्छु', प्रधानमन्त्रीले भने

विमानस्थलमा प्रधानमन्त्री र गृहमन्त्री दुबैले सरकारी अधिकारी र आ-आफ्ना दलका जिल्ला नेताको ब्रीफिङ सुनेका थिए। अपरान्ह ४ बजेर ३५ मिनेटमा चन्द्रगढी विमानस्थल ओर्लेका प्रधानमन्त्री र गृहमन्त्रीलाई जिल्लाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी गराएका थिए। त्यस्तै प्रधानमन्त्रीकै दल काङ्ग्रेस झापाका सभापति उध्वब थापाले पनि जिल्लाको समस्याबारे सुनाएका थिए। उनीहरुको कुरा सुनेपछि प्रधानमन्त्रीले राहत सामग्रीका लागि तत्काल केन्द्रबाट सहयोग पठाउने वचन दिएका थिए। 'तपाईंहरुको समस्या सुनेँ। म तत्काल केही गरिहाल्छु', प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीलाई बाढीग्रस्त क्षेत्रमा लैजाने कुनै योजना नभएको जिल्लास्थित सुरक्षा अंगले जनाकारी दियो। 'उहाँहरुले ब्रिफिङ सुन्ने भनेपछि हामीले कर गर्न मिलेन',  झापाका एक सरकारी अधिकारीले भने , 'त्यसैले हामीले ब्रिफिङ मात्र गरेका हौ।'

प्रधानमन्त्रीसँगै झापा आएका गृहमन्त्री जनार्दन शर्माले पनि सहयोगको आश्वासन दिए। अघिल्लो दिन आइतबार झापाको हवाई अवलोकन गरेका गृहमन्त्रीले जिल्लाको समस्याबारे आफू जानकार रहेको दाबी गरेका थिए। करिब १५ मिनेट विमानस्थलमा बिताएका प्रधानमन्त्री र गृहमन्त्री हेलिकप्टरमै राजधानी फर्केका छन्।

प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलबाटै फर्केको थाहा पाएका बाढीपीडितले भने आक्रोश प्रकट गरेका छन्। फुल्वासा खोलाले घर बगाएर मेचीनगर १४ को शान्ति प्राविमा बसिरहेका पीडितले सरकारबाट कुनै आशा नभएको बताए। 'हामी सुकुम्बासीले कोही बाट आशा गरेका छैनौं, शान्ति प्राविको अस्थायी आश्रयमा बसेकी नुन्सरी बिर्जाले भनिन् 'प्रधानमन्त्री आएर हेरेको भए के हुन्थ्यो?'

प्रकाशित: ३० श्रावण २०७४ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App