coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झापामा बाढीले ज्यान गुमाउनेको संख्या ७ पुग्यो

झापा- बाढीका कारण ज्यान गुमाउनेको संख्या झापामा ७ पुगेको छ। आइतबार साँझसम्म चार जनाको शव भेटिएको जिल्लामा सोमबार थप तीन जनाको शव फेला परेको छ। थप पाँच जना चार दिनदेखि बेपत्ता रहेका कारण मृतक संख्या अरु थपिन सक्ने प्रहरीको अनुमान छ।

 शुक्रबार रातिदेखि गाउँ–गाउँमा छिरेको विभिन्न खोलाको बाढीले बगाएर मृत्यु हुनेहरुमा झापा गाउँपालिकाका सबैभन्दा धेरै छन् । झापा–२ की ३५ वर्षीया धनमाया घोर्साने, झापा ७ की कमला दर्लामी, उनकी आठ वर्षीया छोरी खुशी दर्लामी र झापा २ कै ६० वर्षीया मुस्लिम महिलाको ज्यान बाढीमा परेर गइसकेको छ। त्यस्तै शिवसताक्षी–१ का २८ वर्षीय विजय पाण्डे, कचनकवल ३ का २२ वर्षे पवन राजवंशी, र दमक ५ का तपोस मण्डल मृत फेला परेका छन् । पवन, बृद्धा महिला र तपोसको शव सोमबार फेला परेको हो ।

झापा गाउँपालिकाकै कलिप्रसाद राजवंशीको परिवारका तीन जना, सोही गाउँकी मृतक धनमाया घोर्सानेकी छोरी कमला र दमकका दिवस राई भने अझै बेपत्ता नै छन्। ‘बेपत्ताको खोजी कार्य जारी छ’,झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने ‘मौसममा सुधार आएपछि खोलाहरुमा पानीको सतह क्रमशः घट्न थालेको छ । बेपत्ताको खोजी कार्य जारी छ।’

आइतबार अपरान्हदेखि झरी रोकिएर घाम लाग्न थालेपछि झापामा बाढीको कहर बिस्तारै साम्य हुँदै गएको छ । यद्यपि खोलामा पानीको सतह जति घट्दै गयो, कटानको समस्या भने थपिँदै गएको छ। ‘खोलाहरुमा पानीको सतह घट्दै गएपछि डु्बाउने र बगाउने चिन्ता कम हुने हुन्छ’, जिल्लामा राहत तथा उद्धार कार्यको समन्वय गरिरहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले भने ‘तर, कटानको समस्या अब झनै बढेर जाने ुहन्छ । त्यसैले अब भौतिक रुपमा हुने क्षति केही दिन बढ्ने देखिन्छ।’

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा १ हजार ९ सय ५२ परिवार यसपटकको बाढीबाट प्रभावित बनेका छन् । त्यसमध्ये १ हजार ८ सय ७२ परिवार भने विस्थापनमै परेका छन् । नजिकै रहेका स्कुल, मन्दिर, पार्टी प्यालेस तथा अन्य सार्वजनिक भवनहरुमा पीडितलाई अस्थायी रुपमा राखिएको छ । रेडक्रस, जिल्लास्थित विभिन्न सरकारी कार्यालय, स्थानीय संघसंस्था र स्थानीय तहको पहलमा पीडितलाई खाना तथा आवासको प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जनाए।

आइतबार दिउँसो २ बजेपछि झरी रोकिएर घाम लागेपछि डुबान क्षेत्रमा जमेको पानीको सतह बिस्तारै घट्न थालेपछि विस्थापितहरु घर फर्किन थालेका छन् । ‘यस्तै मौसम कायम रहे अबको तीन चार दिनभित्र आधाभन्दा बढी विस्थापित आफ्नै घर फर्किन सक्नेछन्’, रेडक्रस झापाले भनेको छ ‘तर, धेरैको घरमा अहिले पनि खोलाको पानी कुदिरहेका कारण भन्न सकिने अवस्था छैन ।’ झापाका ११ परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ  भने बाँकी १८ सय भन्दा परिवारको घरमा पनि क्षति पुगेको छ।

झापामा यसपटकको बाढीले ठूलो परिमाणमा भौतिक क्षति पुर्याएको छ । यद्यपि सम्पूर्ण ध्यान उद्धार र राहतमा लगाउनुपरेका कारण क्षतिको विवरण संकलन नभएको प्रजिअ तिवारीले बताए । उनका अनुसार जिल्लामा सबैभन्दा ठूलो क्षति सर्वसाधारणको थातवासमा परेको छ । त्यस्तै सडक, सिञ्चाई, खानेपानी आयोजना, विद्युत आयोजना लगायतका भौतिक पूर्वाधारमा पनि ठूलै क्षति भएको छ ।

जिल्लामा शनिबारयता विद्युत सेवा ठप्प छ । इन्टरनेट सेवा पनि अवरुद्ध छ । यसको सबैभन्दा ठूलो मार उद्योगधन्दा कलकारखानामा परेको छ । त्यस्तै जिल्लाका आठ वटा दैनिक पत्रिकाको प्रकाशन विद्युत अवरोधसँगै तनि दिनदेखि रोकिएको छ । डेढ दर्जनको संख्यामा रहेका एफएमहरुको प्रशारण पनि कतै अवरुद्ध र कतै प्रभावित भएको छ ।

 

 

 

 

प्रकाशित: ३० श्रावण २०७४ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App