बाढी पीडितलाई निजी क्षेत्रबाट सहयोग

सोमबार, ३० साउन २०७४, १० : १३ नागरिक

काठमाडौं – निजी क्षेत्रका विभिन्न संघसंस्थाले केही दिनदेखि अविरल परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिमा राहत प्रदान गर्न सहयोगको घोषणा गरेका छन् । 

बाढी र पहिरोका कारण केही दिनयता विभिन्न ठाउँमा गरी दर्जनौंको मृत्यु र हजारौं परिवार घरबारबिहीन हुन पुगेका छन् । यस्तो विषम परिस्थितिमा सहयोगको घोषणा गर्दै अरूलाई पनि सहयोग गर्न उनीहरूले आग्रहसमेत गरेका छन् । 

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आफ्ना सदस्य तथा अन्य संघसंस्थाको समेत सहयोगमा नगद तथा जिन्सी गरी तत्काल करिब १ करोड रुपैयाँबराबर सहयोगको घोषणा गरेको छ। 

उक्त सहयोगमा महासंघले १० लाख रुपैयाँ, नेपाल औषधी उत्पादक संघबाट ५० लाख रुपैयाँबराबरको औषधी, नेपाली युवा उद्यामी मञ्चबाट १५ लाखबराबरको नगद तथा जिन्सी, शंकर ग्रुपबाट ५ लाखबराबरको नगद तथा जिन्सी, बागमती सफाई महाअभियानबाट १० लाख तथा अन्य संघसंस्थाबाट १० लाख सहयोग घोषणा गरिएको हो । 

महासंघले सामाजिक सेवा फोरमका सभापति जयप्रसाद शिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी–पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरेको छ । महासंघले बैंक अफ काठमाडौंमा एफएनसिसिआई रिलिफ खाता (खाता नं. ०१२५०००००६३५) सञ्चालनमा ल्याएको छ । महासंघले सबै सदस्य वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्य, उद्यमी–व्यवसायी, गैरआवासीय नेपाली संघलगायतलाई सहयोगको अपिल गरेको छ । 

‘संस्थागत सामाजिक उत्तरदायित्वबाट निजी क्षेत्र सधैं अभिप्रेरित रहेको तथा देश र देशवासीमा प्राकृतिक विपत्तिका बेला खुला हृदयले सहयोग गर्दै आएका छौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा छ, ‘हामी आफ्ना सबै सदस्य संघसंस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर विपत्तिमा परेका जनताको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोष स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले १ करोड रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन्। 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको हो।

‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं,’ अध्यक्ष घलेले भने, ‘बैठकबाट हामीले १ करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामग्री खरिद गरी तुरुन्तै वितरणमा खटिने छौं।’

संघ अध्यक्ष घले र उनकी श्रीमती जमुना गुरुङको एमआइटी फाउन्डेसनले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरू भवन भट्ट र कुमार पन्तले एक–एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन्।

बाढीपहिरो पीडितलाई आवश्यक सहयोगबारे संघका अध्यक्ष घलेले आइतबार गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए । सहयोगको आवश्यकताबारे गृह मन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ।

तत्कालका लागि राहत कोषको रकम २ करोड रुपैयाँ पुर्‍याउने र सामग्री खरिद प्रक्रिया सुरु गर्ने जनाइएको छ । राहत वितरण समन्वय गर्न अध्यक्ष घले तत्कालै अस्ट्रेलियाबाट नेपाल आउने संघले जनाएको छ । संघले विश्वभरि छरिएर रहेका नेपालीलाई गच्छेअनुसार सहयोग गर्न आह्वान पनि गरेको छ। 

त्यसैगरी बाढीपीडितको सहयोगका लागि आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले २५ लाख रुपैयाँ राशीको प्रारम्भिक राहत कोष स्थापना गरेको छ । बुद्धले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको कोषमा संकलित रकम मोरङ र सुनसरीका अतिप्रभावित बस्तीमा खाद्यान्न, औषधीलगायत वितरणमा प्रयोग गरिने जनाएको छ। 

बुद्धका अनुसार राहत सामग्री स्थानीय टोल, युवा क्लब तथा सुरक्षाकर्मीको सहयोगमा आफैं वितरण गरिने छ भने वितरण गर्दा लाग्ने प्रशासनिक खर्च पनि आफैं बेहोर्ने छ। 

कृषिमा अर्बौंको क्षति

दिलीप पौडेल
काठमाडौं – अविरल वर्षासँगै आएको बाढी, पहिरोले मुलुकभर कृषिमा अर्बौं रुपैयाँको क्षति भएको छ । किसानले लगाएका खाद्यान्न बाली धान, मकै, तरकारी फलफूल, माछा नष्ट भएको छ। 

बालीनालीसँगै गाईभैंसी, बाख्रा, कुखुरा मरेर करोडौं रुपैयाँको क्षति पुगेको पशुपक्षी मन्त्रालयले जनाएको छ ।
दुई हप्ताअघिसम्म पानी अभावले रोपाइँ गर्न नपाएका तराईका किसान अहिले बाढीको चपेटामा परेका छन् । पूर्वाञ्चलमा किसानले रोपेको धान ८० प्रतिशत डुबानमा परेको कृषि विकास मन्त्रालयले जनाएको छ । ‘मुलुकको मध्य र पूर्वी तराईमा करोडौं रुपैयाँको क्षति भएको छ,’ मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ‘क्षतिको विवरण आउने क्रम जारी छ ।’

सबैभन्दा धेरै क्षति पूर्वाञ्चल र मध्यमाञ्चलमा भए पनि देशभर क्षति पुगेको छ । पूर्वाञ्चलमा तरकारी, माछा, खाद्यान्न करिब २९ करोड रुपैयाँको क्षति भएको कृषि विकास मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए । ‘धान लगाएको ठूलो क्षेत्र डुबानमा परेको छ,’ सापकोटाले भने, ‘धान क्षतिको विवरण आउन बाँकी छ ।’ पूर्वाञ्चलमा १४ करोडको तरकारी, १२ करोडको खाद्यान्न, तीन करोडको माछा क्षति भएको छ।

पर्सामा २० हजार हेक्टर क्षेत्रफलमा फैलिएको धानखेती डुबानमा परेको छ । तरकारी २० हेक्टर, माछा १० हेक्टरमा क्षति पुगेको छ । बारामा धान ५५ हजार आठ सय हेक्टर,  तरकारी नौ हजार ६ सय ७५, माछा पाँच सय , रौतहटमा धान २८ हजार पाँच सय , तरकारी एक सय ६०, माछा एक सय ६० हेक्टरमा क्षति पुगेको छ । सर्लाहीमा धान २७ हजार हेक्टर, तरकारी पाँच सय, माछा आठ सय, मकै सात सय, बेसार तीन सय, तरुल एक सय हेक्टरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, धनुषामा धान २१ हजार तीन सय हेक्टर, तरकारी एक हजार चार सय, माछा आठ सय, मकै एक सय ५०, मास दुई सय हेक्टरमा क्षति पु¥याएको छ । महोत्तरीमा धान २० हजार ६ सय ३५ हेक्टर, तरकारी पाँच हजार, माछा एक हजार, चितवनमा माछा ६० हेक्टर, केरा तीन हेक्टर, रसुवामा धान तीन सय हेक्टर, मकै नौ टन, रामेछापमा धान ३२ हेक्टर, ललितपुरमा मकै ६ हजार, तरकारी ५० हेक्टरमा क्षति पुगेको छ। 

झापामा धान ७० प्रतिशत, मोरङमा ७०, सुनसरीमा ८०, सप्तरीमा ६०, सिराहामा ५० प्रतिशत धान डुबानमा परेको छ ।  धान डुबानमा परे पनि पानीको बहाव घटे तत्काल असर नपर्ने मन्त्रालयका सचिव सुरोज पोख्रेलले बताए । ‘करिब ३० प्रतिशत धान डुबान सहन सक्ने क्षमताका छन्,’ पोख्रेलले भने, ‘बाढी पहिरोले पुरेको बाहेक डुबानले ठूलो असर पर्दैन ।’
बाढी पहिरोले गाईभैंसी, बाख्रा, कुखुरा लगायत पशुपक्षीमा पाँच करोड रुपैयाँ क्षति भएको प्रारम्भिक विवरण आएको पशुपक्षी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताए । ‘मुलुकभर करोडौं रुपैयाँको क्षति भएको छ,’ पौडेलले भने, ‘क्षतिको विवरण आउने क्रम जारी छ ।’ मन्त्रालयका अनुसार गाई १३, गोरु ६, भैंसी १५, राँगो बाख्रा ६६, बंगुर ६, कुखुरा ३५ हजार मरेका छन् । तराईमा जिल्लाबाट विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । 
धादिङको ज्वालामुखी, गंगाजमुना गाउँ, पर्साको बहुदराह, लाहर, हरपुरुवा, रसुवामा उत्तरगया, कालिका, राम्चे, बाराको बञ्जरिया, कलैया, जितपुर, ललितपुरको कञ्जोसम, रामेछापको खाँडादेवी, मन्थली, सर्लाही, मकवानपुर, चितवन लगायत जिल्लाबाट क्षतिको प्रारम्भिक विवरण आएको पशुपक्षी मन्त्रालयले जनाएको छ । 

बाढी प्रभावित क्षेत्रमा राहत दिन्छौं : कृषि विकास मन्त्री
सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न लगायत राहतका कार्यक्रम लैजाने कृषि विकास मन्त्री रामकृष्ण यादवले बताएका छन् । आइतबार कृषि विभागमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्री यादवले त्यसको लागि मन्त्रालय अघि बढेको बताए । ‘प्रभावित क्षेत्रका किसानलाई खाद्यान्न अभाब हुन नदिन खाद्यान्न पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छौं,’ मन्त्री यादवले भने, ‘क्षति बेहोरेका किसानलाई पनि छिट्टै राहतका अन्य कार्यक्रम घोषणा गर्छौं ।’ 

मन्त्रालयका नियमित कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्ने र अपुग भएमा अर्थ मन्त्रालयबाट बजेट ल्याएर भए पनि वितरण गर्ने मन्त्री यादवले बताए ।

खाद्यान्न, माछा, तरकारी, फलफूल लगायत भौतिक पूर्वाधारको क्षतिको तीन दिनभित्र यकिन गर्न मन्त्रालयका सचिव सुरोज पोख्रेलको संयोजकत्वमा आकस्मिक कृषि प्रकोप उद्धार व्यवस्थापन समिति गठन गरेको छ । सो समितिमा कृषि अनुसन्धान परिषद नार्क, खाद्य सुरक्षा, कृषि व्यवसाय प्रवद्र्धन  तथा वातावरण महाशाखा, कृषि विभाग, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका अधिकारी पनि छन् । मन्त्रालयले के–कस्ता राहत कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा तत्काल प्रतिवेदन पेस गर्न कृषि विभागलाई पनि निर्देशन दिएको छ । कृषिमन्त्रीकै नेतृत्वमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने समेत जनाएको छ ।

मन्त्रालयले पाँचै विकास क्षेत्रबाट क्षतीको विस्तृत विवरण तीन दिन भित्र आइपुग्ने संकलन गर्ने जनाएको छ । बाढी प्रभावित क्षेत्रमा अन्तराष्ट्रिय दातृ निकायको सहयोग पनि पठाउने तयारी भैरहेको मन्त्रालयले जनाएको छ । ‘विभिन्न दातृ निकायसँग छलफल गरेका छौं,’ सह–प्रवक्ता सापकोटाले भने, ‘राहात उपलब्ध गराउनु पर्ने खाका आएपछि दातृ निकायले सहयोग गर्ने भएका छन् ।’






यसमा तपाईको मत

अन्य समाचार

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

नाडा प्रतिनिधि र अर्थ मन्त्री विच छलफल

नाडा प्रतिनिधि र अर्थ मन्त्री विच छलफल

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ९ सदसिय नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री डा. युवराज खतिवडासंग भेटी फेयर...

Ncell Footer Ad