८ वैशाख २०८१ शनिबार
कला

राहत संकलनमा जुटे कलाकार

काठमाडौं – अविरल वर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत् आर्थिक सहयोगको घोषणा गरेका छन् ।

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो संस्था ‘धुर्मुस–सुन्तली फाउन्डेशन’मार्फत महोत्तरीबाट बाढीपीडितका लागि औषधि, खाद्यान्न र त्रिपालसहित अन्य राहतको सहयोग सुरु गरेका छन् । आइतबार नै महोत्तरी पुगेका धुर्मुसले औषधि र खाद्यान्न वितरणमा जोड दिने बताए । ‘जता हे¥यो त्यतै पानी नै पानी मात्र छ । महोत्तरीको सीतापुरस्थित भंगाहामा छौं । यहाँ तीस परिवारको विचल्ली छ,’ धुर्मुसले भने, ‘महोत्तरीदेखि झापासम्मका क्षेत्रमा पुगेर बाढी प्रभावित जनतालाई सहयोग गर्नेछौं,’ उनले भने,‘बाढी पीडितसँग खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका अत्यावश्यक बस्तुको अभाव छ । यो अवस्थामा हामीले उनीहरूलाई दाल, चामल, बिस्कुट, चाउचाउलगायतका खाद्यान्नसहित औषधि पनि दिनेछौं ।’ उनले आफूहरूले खाद्यान्न संकलन गरिसकेकोले मेडिकल टिमसँग समन्वय गर्दै बाढी प्रभावित अन्य जिल्लामा पुग्ने बताए ।

हास्य कलाकार निर्मल शर्मासहितको टोलीले ‘पिपुल टु पिपुल’ समूह गठन गरेर बाढी पीडितका लागि सहयोग संकलन सुरु गरिसकेका छन् । उनको टोलीमा सञ्चारकर्मी प्रभात रिमाल, गायक सञ्जय श्रेष्ठ, दन्त चिकित्सक डा. निल पाण्डे र महिला अभियन्ता माया गुरुङ छन् । ‘समूह बनाएर हामीले फेसबुकमार्फत सहयोगका लागि आह्वान गरेका थियौं । स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइले आर्थिक सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ,’ उनले नागरिकसँग भने, ‘हाम्रो ध्यान अहिले खाद्यान्नभन्दा पनि पीडितको स्वास्थ्योपचारमा केन्द्रित छ । पीडितको उपचारका लागि डाक्टरसँग पनि कुराकानी गरिरहेका छौं ।’

अधिकांश पीडितका कोही न कोही परिवारका सदस्य विदेशमा भएकाले पनि समूहले अहिले स्वास्थ्यमा प्राथमिकता दिएको खुलाए । ‘भूकम्पको बेला पीडितहरूले लत्ताकपडा लिन मान्नु भएको थिएन । पीडितमा हैजाको समस्या देखिने सम्भावना भएपछि हामीले स्वास्थ्योपचारमा ध्यान दिएका छौं ।’ उनका अनुसार समूहमा संकलन भएको रकम गुगल सिटमार्फत् सार्वजनिक गरिनेछ । समूहले सप्तरीबाट पीडितलाई सहयोगको काम सुरु गर्नेछ।

त्यस्तै, नायिका पूजा शर्माले १ लाख सहयोग गर्ने घोषणा गर्दै बाढी प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न चाहे पनि मौसमको प्रतिकूलताले त्यसो गर्न नसकेको जनाएकी छन् । ‘प्लेनको टिकट पाएको छैन । बाढीपीडित क्षेत्रमा सोमबारसम्म जाने योजना छ । अन्य व्यक्ति वा समूहको हातबाट सहयोग दिनुभन्दा आफैं उपस्थित भएर सहयोग गर्दा राम्रो हुन्छ जस्तो लाग्यो,’ पूजाले भनिन्, ‘म फिल्म युनिटसँगै बाढी पीडित क्षेत्रमा जाँदैछु । हामी सप्तरीबाट सुरु गरेर कहाँसम्म पुग्न सकिन्छ त्यहाँसम्म पुगेर खाद्यान्न, लत्ताकपडा सहित केही आर्थिक सहयोग पनि गर्नेछौं।’

बाढीपीडितलाई निर्माता तथा कलाकार दीपकराज गिरीले १ लाख, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि मोरङ समाजमार्फत ५१ हजार, अभिनेत्री प्रियंका कार्कीले ५१ हजार सहयोगको घोषणा गरेका छन् । त्यस्तै गायक प्रमोद खरेलले १० हजार, संगीतकार टंक बुढाथोकीले ५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन्। 

नेपाल चलचित्र कलाकार संघले पनि बाढीपीडितको सहयोगार्थ ‘दैवी प्रकोप राहत कोष’ स्थापना गरेको छ । संघका अध्यक्ष रामकेशर बोगटीले फेसबुकमार्फत कोषमा संघको ६५ हजार, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको १ लाख, किरण केसीबाट २५ हजार, भिडियो निर्देशक राजु केसीबाट २५ हजार, २१ प्रोपर्टी बिल्डर्सबाट ५० हजार सहयोग प्राप्त भइसकेको जानकारी दिएका छन् । नेपाल चलचित्र निर्माता संघले पनि विज्ञप्तिमार्फत बाढीपीडितलाई सहयोग गर्न आह्वान गरेको छ । संघका उपाध्यक्ष माधव वाग्लेले सोमबार कार्यसमितिको बैठक बसेर सहयोगको खाका निर्धारण गर्ने बताए । ‘साथीहरूले धेरै खाले प्रस्ताव ल्याउनु भएको छ । कसरी सहयोग गर्न सकिन्छ भन्ने सोमबारको छलफलमा तय गर्नेछौं,’ वाग्लेले भने।

 

प्रकाशित: ३० श्रावण २०७४ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App