७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वमा २० को ज्यान गयाे, १७ बेपत्ता

बाढीले डुबानमा परेकाे सडकमा हिँड्दै विराटनगर वासिन्दा । तस्बिर : नागरिक

पूर्वेली ब्युरो

विराटनगर – अविरल वर्षाले झापामा ४, मोरङमा ६, सुनसरीमा ८ जना, पाँचथरमा १ र इलाममा १ जना गरी २० जनाको मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँचथरमा ३, झापामा ४, मोरङमा ३, सुनसरीमा ६, सप्तरीमा १ जना गरी १७ जना बेपत्ता छन्।

अविरल वर्षाले झापा, मोरङ, सुनसरी, सप्तरीका अधिकांश भाग डुबानमा परेको छ । बाढी प्रभावित क्षेत्रमा उद्घारका लागि पूर्वक्षेत्रीय तालिम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण, जिल्ला प्रहरी कार्यालयसमेत गरी चार हजार पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको डिआइजी रमेशकुमार भट्टराईले जानकारी दिए । बाढीप्रभावित झापा, मोरङ, सुनसरी, सप्तरीमा उद्घार टोलीले पीडित परिवारलाई उद्घार गरि सुरक्षित स्थानमा सारेको छ । 

शनिबार मोरङ बुढीगंगा–६ बस्ने ७५ वर्षीया बुद्धिमाया लिम्बूको घरअगाडिको नालीमा डुबेर मृत्यु भएको छ । सुन्दरहरैचा नगरपलिका–४ बूढीखापस्थित लक्ष्मीनारायण मन्दिर परिसरभित्र कुटी बनाई बसेका मोरङ सुन्दरहरैचा–४ का ६२ वर्षीया सावित्रा थापामगर, संखुवासभाका  ६३ वर्षीया लीला दाहाल र झापा झिलझिलेका ७९ वर्षीय गोविन्दा कार्कीलाई बाढीले बगाएर बेपत्ता बनाएको छ। 

 लेटाङ नगरपालिका–१ मालबाँसेमा पहिरो खस्दा ३७ वर्षीया गोपीमाया तामाङ मृत अवस्थामा भेटिएकी छन् । हात्तीमुढास्थित बुढीखोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । मृतकको नामथर खुलेको छैन । मोरङको बक्राहा (नुनसरी) खोला र लोहन्द्रा खोलाले मिक्लाजुङ गाउँपालिका–२ रातमाटे टोलका ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका–९ कुसुमेका ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । 

शुक्रबार साँझदेखि मध्यपूर्वी तराईमा परिरहेको भारी वर्षा आइतबार अपराह्न रोकिएको छ । वर्षा रोकिएपछि डुबान क्षेत्रमा पानीको सतह घट्दै गएको छ । 

पूर्वी नेपालका मुख्य सहर विराटनगर, इटहरी, राजविराज, दमक, बिर्तामोड र भद्रपुर डुबानमा परेका छन् । भारी वर्षा रोकिएपछि यी सहरमा डुबान समस्या घट्दै गएको छ । पानी रोकिएपछि मोरङमा उद्घार र राहत कार्य तीव्र पारिएको छ । 

जिल्ला दैवी प्रकोप उद्घार समितिले उद्घार र राहतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको छ । 

दुई दिनदेखिको लगातार वर्षाले विराटनगर महानगरपालिकाका घरघरमा घुँडासम्म पानी जमेको छ । जतासुकै पानी भरिएपछि सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । घरमै पानी पसेकाले बस्न र खाना समस्या छ । सुनसरीको दुहबीस्थित नेपाल विद्युत् प्राधिकरणको सब–स्टेसनमा पानी पसेकाले पूर्वी नेपालमा शुक्रबार रातिदेखि विद्युत् आपूर्ति बन्द छ । विद्युत् आपूर्ति हुन अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ । 

बाढीले कोसीहरैंचास्थित गछियामा पुल कटान गरेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । विराटनगर विमानस्थलमा तीन फिटसम्म पानी जमेकाले उडान रोकिएको छ । नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहका अनुसार रन–वे, ट्याक्सी वे, टर्मिनल भवन, सुरक्षाकर्मी ब्यारेक सबैतिर तीनदेखि चार फिटसम्म पानी जमेको छ । ‘पानीको सतह घटेपछि उडान सुचारु गर्न कम्तीमा ४८ घन्टा लाग्छ,’ प्रमुख सिंहले भने, ‘पानीले रनवेमा बालुवा र माटो थुपारिदिएकाले त्यसको सफाइमा समय लाग्छ ।’

विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा डुबान भएकाले त्यहाँबाट ६ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मोरङको रतुवामाई नगरपालिका ७, ८, ९ र ५ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पानी पसेको छ । त्यहाँबाट विस्थापित सात सय परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी चौकी, इटहरीले जनाएको छ । धनपालथान गाउँपालिका–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् । 

सुनसरीमा अझै ५ बेपत्ता

शुक्रबार राति अधिक बर्षासँगै आएको बाढी बस्तीमा पसेर बगाउँदा सुनसरीबाट बेपत्ता भएका पाँचजना अझैसम्म भेटिएका छैनन् । बुढीखोलामा आएको बाढीमा परेका इटहरी–४ का पाँच जना बेपत्ता  छन् । 

बाढीमा परेर इटहरी–४ को गहिरी गाउँकी ३९ वर्षीया आशादेवी राई, ३७ वर्षीय रामकुमार राई, चार वर्षीय बालक मिनेर राई, वडा नं. १० की चन्दा तामाङ र नौ महिनाकी बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार, बाढीले बगाउँदा बेपत्ता भएकी २१ वर्षीया सुखी राईको शनिबार दिउँसो दुहबीबाट प्रहरीले उद्घार गरी अस्पताल पु¥याएको छ । इटहरी–४ बाटै बगाएकी एक महिलाको शव मोरङको निमुवामा प्रहरीले फेला पारे पनि सनाखत हुन नसकेको इटहरी प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले बताए। 

बुढीखोलामा आएको बाढी बस्तीमा बस्दा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–४ गहिरी गाउँकी ३२ वर्षीया माया राई, उनको तीन वर्षीय छोरा रूपेश राई, आठ वर्षीया छोरी रूपसनी राई, इटहरी–४ का ४० वर्षीय ईश्वर सुनवार, ३० वर्षीया माला साह, वडा नं. १० की ३५ वर्षीया अनिता धिमालको मृत्यु भएको छ । बाढीले एकजना भिखारीको इटहरीकै तरहरामा मृत्यु भएको छ । बाढीले सुनसरीमा ६ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। 

विस्थापितले इटहरीको कृष्ण प्रणामी मन्दिर, वडा नं. ३ को सरस्वती माध्यमिक विद्यालय, इटहरीकै राधाकृष्ण मन्दिर, वडा नं. १० का मनमोहन प्राथमिक विद्यालय र नगरपालिकाको सांस्कृतिक हलमा आश्रय लिइरहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् । विस्थापितलाई राहत वितरण गर्न मेयर द्वारिकालाल चौधरीको संयोजकत्वमा राहत संकलन तथा वितरण समिति गठन गरिएको छ।

शुक्रबार राति आएको बाढीसँगै पछिल्ला वर्षमा धरान उपमहानगरपालिका पाँचकन्या क्षेत्रबाट सेरा खोलाले पश्चिमतर्फ तटबन्ध भत्काएर बाढी टेंग्रामा मिसाएपछि इटहरीका बस्ती जोखिममा पर्ने गरेका छन्। 

सुनसरीकै भोक्राहा गाउँपालिकाका दुई वडाका बासिन्दा बाहिर निस्कन नसकेपछि प्रहरी र सेनाको टोली उद्घार कार्यमा जुटेको छ । सुनसरीका प्रहरी प्रमुख (एसपी) विद्यानन्द माझीले भने, ‘उद्घार गर्न पूरै कठिनाइ भइरहेको छ ।’ एसपी माझीका अनुसार, हरिनगराको वसन्तपुरमा पनि बाढीले पूरै डुबाएको छ । 

झापामा १२ सय विस्थापित 

बाढीले झापामा क्षतिको आकार लगातार बढाइरहेको छ । आइतबारसम्ममा जिल्लामा चार जनाको मृत्यु भएको छ भने दुई परिवारका ८ जना बेपत्ता छन् । कम्तीमा एक हजार दुई सय परिवार विस्थापित छन्।  

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कन्काई माई र झिलझिले खोलाले बगाएर शनिबार दुई जनाको ज्यान गएको छ । बाढीमा बगेर ज्यान गुमाउनेमा झापा गाउँपालिका–२ की कमला घोर्साने र शिवसताक्षी नगरपालिका–१ का २८ वर्षीय विजय पाण्डे छन् । घोर्सानेलाई कन्काईले र पाण्डेलाई झिलझिले खोलाले बगाएको हो । यस्तै, सिमलबारीकी  ४५ वर्षीया कमला दर्लामी र उनकी आठ वर्षीया छोरीसुखी दर्लामीलाई सानोमाई खोलाले बगाउँदा मृत्यु भएको छ । उनीहरूलाई शनिबार सानोमाई खोलाको पानी घरमा पसेर बगाएको थियो । 

तीन दिनयताको लगातार वर्षाले सबै खोलामा पानीको बहाव उच्च भएपछि क्षति पनि बढेको छ  । सबैभन्दा धेरै क्षति कन्काई माईले पु¥याएको छ । कन्काईको बाढीले दुई परिवारका सातजनालाई घरसहित बगाएर बेपत्ता पारेको छ । झापा गाउँपालिका–२ का कलीप्रसाद राजवंशीसहित उनको परिवारका ४ जना, झापा गाउँपालिका–७ का टेकबहादुर दर्नाल, उनकी पत्नी र बच्चा  बेपत्ता छन् । त्यस्तै मृतक कमला घोर्सानेकी आमा पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ । ‘उनीहरू सबैलाई घरसहित कन्काईले बगाएको हो,’ झापा रेडक्रसका सूचना शाखाका अभिषेक पोखरेलले भने ‘उनीहरू सबैको खोजी जारी छ । तर, लगातारको झरी र खोलामा बढिरहेको पानीको बहावले खोजी तथा उद्धारमा कठिनाइ भएको छ ।’ 

बाढीपीडितको उद्धार र बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालन भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । तर, धेरैतिर उद्धार टोलीसमेत कामै नगरी रित्तै फर्कने अवस्था बनेको छ । पानीको बहाव लगातार बढेका कारण समस्या भइरहेको प्रशासनले जनाएको छ । 

(विनोद सुवेदी/विराटनगर, अमर खड्का/सुनसरी, राजु अधिकारी/झापा, भीम चापागाई/इलाम, गिरिराज बाँस्कोटा/इलाम)

प्रकाशित: ३० श्रावण २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App