८ वैशाख २०८१ शनिबार
राजनीति

राहतमा ढिलाइ, मन्त्री आए तर उद्घार भएन

आश्रयस्थलमा भुजाका साथ बालक । तस्बिर : नगेन्द्र उपाध्याय

पश्चिमेली ब्युरो

नेपालगन्ज  – पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन।

आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार हुन सकेन । बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन् । उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन् । स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत गरे पनि फर्केर गएको बताए । ‘हामी हिजो (शनिबार) दिउँसोदेखि यहीं छौं,’ उनले टेलिफोनमा भने, ‘कहिलेसम्म बस्नुपर्ने हो, थाहा छैन।’

ठाकुरद्वारा, बारबर्दिया, मधुवन, गुलरिया र बासगढी नगरपालिकाका बाढीपीडित रुख र विद्यालयको छतमाथि उद्धारको पर्खाइमा बसिरहेका छन्। 

बाँकेका बाढी र डुबान प्रभावित क्षेत्रमा पीडित राहत र उद्धारको पर्खाइमा छन् । राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा बाढीबाट विस्थापित स्थानीय विद्यालय र  सडकमा बसिरहेको वडाध्यक्ष रामलखन थारुले जानकारी दिए । ‘सबै घरजग्गा बाढीले बगायो, अन्त गएर बस्ने ठाउँ छैन,’ उनले भने, ‘त्यही भएर पीडित सडकमै बास बस्न बाध्य छन्।’

प्रभावित क्षेत्रमा स्वास्थ्यसंस्था पनि खुल्न सकेका छैनन् । स्थलगत अनुगमनमा गएको अधिकारवादी संस्था थर्ड एलाइन्सले डुडुवा गाउँपालिकाको बनकट्टी, बेतहनी र कम्दीमा स्वास्थ्यचौकी खुले पनि स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको जनाएको छ । एलाइन्सका नेपालगन्जस्थित उपक्षेत्रीय कार्यालय प्रमुख आलम खानले बाढी प्रभावित क्षेत्रमा राज्यले उद्धार र राहतको काम छरितो गर्न नसकेको बताए।

हजारौंको बिचल्ली

बर्दियामा शनिबार बिहानैदेखि बबईको बहाव बस्तीमा पस्दा हजारौंको बिचल्ली भएको छ । बाढीबाट ज्यान जोगाएर भाग्न सफल व्यक्ति भोकभोकै छन् । प्रहरीका अनुसार शनिबार करिब १० हजार व्यक्तिको उद्धार गरिएको छ । एसपी भरतबहादुर बोहोराले डुबानमा परेका व्यक्तिलाई सुरक्षित स्थानमा सारेको बताए।

मधुवन नगरपालिकाको वडा नं. १ र २ मा सम्पर्क हुन नसक्दा क्षति विवरण आउन सकेको छैन । नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले करिब पाँच सय घर डुबानमा परेको बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिका अधिकांश क्षेत्र जलमग्न छन् । बबईमा आएको बाढी हालसम्मकै ठूलो भएको आकलन गरिएको छ । मध्यरातमा पण्डितपुर, भैँसीहाट मेला र बालापुरबाट पसेको बाढीबाट गुलरिया नगरक्षेत्र डुबानमा परेको छ। 

बबई बस्तीतिर सोझिएपछि उच्च सतर्कता अपनाइएको रेडक्रसका अध्यक्ष कृष्ण गौतमले बताए । बबईको सतह बढ्ने क्रमसँगै बारबर्दिया, ठाकुरबाबा र बाँसगढीका एक लाख घरधुरीले घर छोडेको रेडक्रसले जनाएको छ । प्रहरीको प्रारम्भिक तथ्यांकअनुसार बाढीले एक हजार घरलाई पूर्ण रुपमा क्षति गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । बबई खतराको लेबल (८ मिटर) नाघेर ९ मिटर पुगेको मापन गरिएको छ।

जताततै सडक अवरुद्ध

नेपालगन्ज–गुलरिया सडक दुई दिनदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा हिँडेका यात्रु अलपत्र परेका छन् । नेपालगन्ज सडकखण्डको लालपुर र भैँसीहाट बजारमा बबईको भेलले अवरुद्ध गरेको हो । जिल्ला प्रशासन कार्यालयले बाढीले पुल बगाउँदा ग्रामीण क्षेत्रमा उद्धारमा कठिनाइ भएको जनाएको छ।

लगातारको वर्षाका कारण रत्न राजमार्ग र कर्णाली राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा यातायातका साधन चल्न नसकेको प्रहरीले जनाएको छ । बाँकेको चिसापानीदेखि वीरेन्द्रनगरसम्म १५ भन्दा बढी ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाका अनुसार आइतबार साँझसम्म केही ठाउँमा आंशिक रुपमा पहिरो हटे पनि धेरै ठाउँमा पहिरो पन्छाउन सकिएको छैन। 

दाङमा मृतक तीन 

दाङको घोराही–१२, हापुरमा खहरेखोलाले बगाउँदा निर्मला बाठाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले दाङमा बाढीबाट मृत्यु हुनेको संख्या तीन पुगेको बताए । त्यस्तै, तुलसीपुरमा जसपुरखोलाले बगाउँदा स्थानीय मेघबहादुर खत्री बेपत्ता भएका छन्।

दाङमा बाढीले तीन सय ५१ परिवारका चार सय ८७ व्यक्ति विस्थापित बनेका छन् । आइतबारसम्म ८८ घर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीले करिब चार सय बिघा जमिन कटान गरेको छ ।

सडकमै बास

कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा पुनः बाढी पसेको छ । बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा घर छोडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन्।

बस्तीमा एक साताअघि पनि बाढी पसेको थियो । चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै पुनः बस्तीमा बाढी पसेको छ । बाढीले भजनी नगरपालिकाका ५ वटा वडाका बासिन्दा पूर्णरुपमा विस्थापित भएका छन् । वडा नं. २, ३, ५, ७ र ८ का करिब एक हजार घरपरिवार पूर्ण रुपमा विस्थापित भएको इप्रका भजनीका इन्स्पेक्टर नेत्र बोहराले जानकारी दिए । उनका अनुसार पाँच हजार मानिस विस्थापित भएका छन् ।

स्थानीय खेमराज पाण्डेले भजनी नगरपालिका–८ का मात्रै एक हजार दुई सय ८० घरमा बाढी पसेको बताए । तीमध्ये तीन सय घरपरिवार सडकमा आश्रय लिन पुगेका उनको भनाइ छ 

टीकापुर नगरपालिकाका वडा नं. ६ र ९ का केही बासिन्दासमेत बाढीको चपेटामा परेका छन् । उनीहरु हुलाकी सडक र अन्य सुरक्षित स्थानमा बसेका छन् । कतिपय मान्छे बाढीमा फसेका छन् । कर्णाली नदीले मोहना, काँडा, पथरैया र कान्द्रा नदीको बाढीलाई थुनेपछि ती गाउँ डुबानमा परेका हुन्। 

टीकापुरको मुख्य बजार पनि डुबानमा परेको छ । निकास नहुँदा सयभन्दा बढी पसलमा बाढी पसेको छ । ब्लक नं. सी र १४ का अधिकांश घरमा बाढी पसेको छ । स्थानीयले घरभित्र तीन फिट पानी जमेको बताए । इप्रका टीकापुरसमेत बाढीको चपेटामा परेको छ । राति एक्कासि आएको बाढीले इप्रकाको कार्यालय, भान्साघरलगायत डुबाएको छ । प्रहरीले कार्यालयबाट सडकसम्म पुग्न डुंगा प्रयोग गर्नुपरेको थियो।

(नेपालगन्ज– कलेन्द्र सेजुवाल, बर्दिया– निर्मल घिमिरे, दाङ– देवेन्द्र बस्नेत, सुर्खेत– नगेन्द्र उपाध्याय र टीकापुर– योगेश रावल)


 

प्रकाशित: ३० श्रावण २०७४ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App