८ वैशाख २०८१ शनिबार
समाज

रौतहट सदरमुकाम गौर जलमग्न

रौतहट- लगातारको वर्षातले रौतहट अस्तव्यस्त बनेको छ। तीन दिनदेखि जिल्लामा देखिएको बाढीले जिल्लाको अवस्था अत्यन्तै गम्भीर बनेको छ। वर्षा र बाढीले जिल्लाको विभिन्न गाउँको सम्पर्क टुटेको छ। चन्द्रपुर, गरुडा  र गौरमा रहेको नेपाल टेलिकमको कार्यालयको टाबरले काम गर्न छोडेपछि धेरै गाउँसँगको सम्पर्क टुटेको हो।

आइतबार बिहानदेखि जिल्लाको सदरमुकाम गौरमा पानी पसेपछि मुख्य सडक पानीले भरिएको छ। पानीको निकास नहुँदा सदरमुकाम डु्ब्न लागेको स्थानीयले बताए। मुख्य सडकमा तीनदेखि चार फिटसम्म पानी जमेको छ। सदरमुकामको अधिकांश घरको भुइँतल्ला पानीले भरिएका छ। एउटा घरदेखि अर्को घरमा जान सकिने अवस्था छैन । भुइँतल्ला घर हुनेहरु छानामा बस्न बाध्य छन् । घरको झ्यालभन्दा माथिसम्म पानी आइसकेको र केटाकेटी तथा महिलालाई छानामा राखे पनि छाना पनि डुबाउने हो कि डरले सताएको र सरकारका विभिन्न निकायसित उद्धारका लागि गुहार मागे पनि सहयोग पाउन नसकेको नेपाल राष्टिय शिक्षक संगठन रौतहटका अ्धयक्ष मणिशंकर लाल निधिले बताए।

सदरमुकाम गौरको करिब सबै सरकारी कार्यालय डुबानमा परेका छन् । बोट र हेलिकप्टरबाहेक अन्य उपायले उद्दार गर्न सकिने अवस्था रहेको छैन । दशगजा नजिक भारतले बाँधेको बाँधका कारण सदरमुकाम अकल्पनीय डुबानमा परेको हो । जिल्ला भन्सार कार्यालय, सशस्त्र प्रहरी बेस क्याम्प सीमा सुरक्षा कार्यालय, भन्सारमा रहेको नेपाल प्रहरीको कार्यालय सबै डुबानमा परेको प्रत्यक्षदर्शीको भनाई छ। भारतको विभिन्न भागबाट नेपाल फर्किन चाहने सयौँको संख्यामा नेपालीहरु बिहानैदेखि सदरमुकाम पस्न नपाएको र भारतले बनाएको बाँधमा नै शरण लिइरहेको प्रत्यक्षदर्शी वृजकिशोर यादवले बताए।

बाढीले लालबकैया नदीको तटबन्ध भत्काइदिएपछि सदरमुकाममा पानीको मार परेको हो । तटबन्ध भत्काएपछि जिल्लाको करिब एक दर्जन गाउँ उच्च जोखिममा रहेको छ । सदरमुकाम गौर पनि उच्च जोखिममा परेको छ । बाढीले सदरमुकाम गौरलाई पूर्वपछिम राजमार्गसित जोड्ने वीरेन्द्र राजमार्गको सखुअवामा करिब बीस मिटर लामो सडक बगाएपछि सडक पनि अवरुद्ध भएको छ । जिल्लाको करिब असी प्रतिशत भूभाग डुबानमा परेको छ । एक गाउँदेखि अर्को गाउँसम्मको सडक सम्बन्ध विच्छेद भएको छ । यातायात, स्ञचार, बिजुली, खानेपानी लगायत सबै आधारभूत समस्यासित स्थानीय जुधिरहेका छन्। मोबाइल र टेलिफोन अवरुद्ध हुँदा सम्पर्क हुन नपाएर स्थानीयबासी निकै पीडित बनेका छन् । आइतबार साँझतिर गरुडामा नेपाल टेलिकमको टेलिफोन र मोबाइल सेवा संचालनमा आएको छ।

डुबानग्रस्त क्षेत्रमा खानेपानी, खाना र बसोबासको समस्या देखिएको छ । विभिन्न गाउँमा सरकारी विद्यालय तथा अन्य सामुदायीक भवनहरुमा शरण लिनेहरुको संख्या हजारौँमा पुगेको अनुमान छ। बाढीले लाखौँ बिघा खेती डुबानमा परेको छ।

प्रकाशित: २९ श्रावण २०७४ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App