६ वैशाख २०८१ बिहीबार
अन्य

महिला समानता कि आधिपत्य ?

कानुनमा एउटा छ भनाइ छः एब्सुलुट पावर करप्ट्स एब्सुलुट्ली अर्थात् पूर्ण अधिकार खतराजनक हुन्छ ।

महिला अधिकारका सम्बन्धमा पनि अहिले यदाकदा अधिकारहरुको दुरुपयोग भएको देख्न पाइन्छ । समाजमा आएको परिवर्तनसँगै कतिपय परिवारमा परिवर्तन देखिन्छन् । कतिपय परिवारमा सकारात्मक र कतिपय परिवारमा नकारात्मक परिर्वतन स्वाभाविक रुपमा भएका छन् । महिला र पुरुष बराबरीको हिसाबले खट्ने, बराबरीको हिसाबले कमाउने र बराबरीको हैसियतमा भएका परिवार खुसी छन्, सुखी छन् र सम्पन्न देखिन्छन् । समान अधिकार र समान हैसियतका कारण कतिपय परिवारमा महिला ठूलो कि पुरुष भन्ने दम्भ पनि नदेखिएको होइन किनभने जहाँ अधिकार हुन्छ, त्यहाँ दुरुपयोगको सम्भावना पनि हुन्छ ।

२०५९ असोज १० देखि लागू भएको मुलुकी ऐनको एघारौँ संशोधनले छोराछोरीलाई समान अंशको भागीदार बनाएपछि परिवारमा परिवर्तनका संकेतहरु देखिन थालेका छन् । छोरा र छोरीमा जकडिएको विभेदलाई त्यसले केही हदसम्म न्यून गरिदिएको छ । छोराको दर्जा पाएका कैयौँ छोरीहरु टाउको ठाडो गरेर हिँड्न सक्ने भएका छन् र बाबुको सम्पत्तिको वास्तविक हकदार बनेका छन् । बाबुआमाले छोराछोरीको मञ्जुरी नलिइकन उनीहरुको हक लाग्ने सम्पत्ति आफूखुसी गर्न नपाउने व्यवस्थाले सन्तान दुवैलाई आफ्नो अधिकारप्रति ढुक्क बनाइदिएको छ ।

पहिला बाबुको सम्पत्तिमा छोरीलाई उत्तराधिकारी बनाउँदा बाबुको सम्पत्ति खाने अर्कै कोही माइकलाल आउला कि भन्ने ठानिन्थ्यो । त्यस पछाडिको कारण आफ्नो सम्पत्तिमा अरुको रजाइँ नहोस् भन्ने मानसिकताले प्रेरित भई छोरीलाई माया गर्ने तर सम्पत्ति दिन हिच्किचाउने अवस्था थियो । छोरीलाई पनि दिने तर छोरीकी छोरीले नपाओस् भन्ने चाहना राख्ने मानिस अझै पनि देखिन्छन् । अंश नपाएका श्रीमती र छोराछोरीले दायर गरेका अंश तथा मानाचामलको मुद्दाको संख्या आँकलन गर्ने हो भने यस्तो मानसिकता अझै समाजमा व्यापक छ ।

महिलाले भने आफ्नो लोग्नेबाट पनि अंश पाउने र बाबुबाट पनि अंश पाउने दोहोरो सुविधा किन भन्ने प्रश्न पनि नउठेका होइनन् । बाबुबाट पनि अंश पाउने र लोग्नेबाट पनि अंश पाउने हुँदा महिला विस्तारै धनी र शक्तिशाली हुने तर पुरुषहरु भने तुलनात्मक रुपमा कमजोर हुने अवस्था नआउला भन्न सकिन्न । यद्यपि बाबु वा आमा जोसँग भए पनि सम्पत्तिको हकदार छोराछोरी नै हुने वा उनीहरुलाई नै दिने संस्कार समाजमा हुञ्जेल त्यसबाट आत्तिहाल्नु पर्ने अवस्था छैन ।

सामान्यतः परिवारमा महिलालाई नै खटनीया बनाइने गरिएको छ अहिले । लोग्नेले कमाएर ल्याउने र श्रीमतीले त्यसलाई व्यवस्थापन गर्ने चलन नौलो होइन । र, त्यसको उल्टो कुनै पुरुष घरबूढो भएर बस्ने र महिलाले कमाएर परिवार धानेका सम्पन्न परिवारहरु पनि नभएका होइनन् । परिवारहरुमा पैतृक सम्पत्तिबाहेक कुनै नयाँ सम्पत्ति जोडेको छ भने श्रीमतीकै नाममा जोड्ने चलन पनि छ । खासगरी श्रीसम्पत्ति जोड्ने तथा जग्गाजमिन खरिद गर्दा पत्नीलाई पनि अघि सारौँ न त भन्ने परिवारमा यो भिन्न अवस्था देखिन्छ । र, यसलाई सरकारी दस्तुरमा दिइएको छुटले समेत प्रोत्साहित गरेको छ ।

अंशबण्डा गर्दा होस् वा सम्बन्ध विच्छेद गर्दा होस् महिलाले सम्पत्ति पाइरहेको पनि देखिन्छ । सम्पत्तिको अधिकारले महिलालाई अलि सक्षम पनि बनाएको छ । मसँग सम्पत्ति छँदैछ लोग्नेको यातना किन खप्ने वा सासुससुराको बुहार्तन किन ब्यहोर्ने भन्ने महिला पनि समाजमा नदेखिएका होइनन् तर कतिपय उदाहरण कस्तोसम्म देखिएको छ भने मसँग सम्पत्ति छँदैछ किन त्यसलाई कुरेर बस्ने भन्दै लोग्ने विदेश गएको मौकामा श्रीमतीले सम्बन्ध विच्छेद गर्ने गरेको पनि पाइएको छ ।  

अदालतसम्म आउने मुद्दाहरुलाई समाजमा भइरहेका घटनाको एउटा पाटोका रुपमा विश्लेषण गर्ने हो भने अधिकारहरु दुरुपयोग पनि हुनसक्ने अवस्था छ । श्रीमतीको नाममा सम्पत्ति जम्मा गर्ने, भएभरको सम्पूर्ण जग्गाजमिन श्रीमतीकै नाममा रजिस्ट्रेसन पारित गरेर राख्दा परिवारहरुमा यदाकदा बेमेल भएको र त्यसलाई सल्टाउन खोज्दा पैतृक सम्पत्ति भन्दा पनि स्त्री अंशधनको सम्पत्तिको रुपमा महिलाले लिने र सम्पत्ति बण्डा गर्न नचाहँदा मुद्दाहरु अदालतसम्म पुग्ने गरेका छन् । लोभ लालचबाट गरिएका यस्ता कार्यले परिवारलाई नै अप्ठ्यारोमा पारेका छन् । वास्तविकता लुकाई गरिएको कार्यले केही दिन सुखसयल भए पनि पारिवारिक मिलनको सम्भावनालाई सधैँ टाढा धकेलिदिन्छ ।  

अदालतमा कतिपय मुद्दा कस्तासम्म पनि आएका छन् भने पटक पटक सम्बन्ध विच्छेद गर्दै सम्पत्ति लिँदै जाने प्रवृत्ति पनि देखिएको छ । अर्काेतिर लोग्नेकै कारणबाट आफ्नो नाममा आएको सम्पत्तिसमेत लोग्नेलाई थाहै नदिई अपचलन गर्ने र परिवारभन्दा पनि अन्य अन्य काममा खर्च गर्ने गरेका कारण परिवारमा बेमेल, झैँझगडाहरू भएका छन् ।

यथार्थमा सम्पत्ति आफैँमा शक्ति पनि हो । त्यसैले त मानिसहरु यसको पछि दगुरिरहेका हुन्छन् तर त्यस्तै परिवारहरुमा किचलो देखिन्छ जसले सम्पत्तिलाई सहज ढंगले व्यवस्थापन गर्न र हिस्सेदारहरुलाई सहज ढंगले सम्पत्तिको अधिकारमा सहभागी बनाउँदैनन् । जुन परिवारमा श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्यभन्दा पनि ठूलो सम्पत्तिलाई ठान्ने गरिन्छ, त्यस्ता परिवारमा सधैँ सम्पत्तिको कलह देखिन्छ । सम्पत्ति त परिवार चलाउनका लागि हो । परिवारलाई खुसी र सुखी राख्नका लागि हो भन्ने परिवारमा यस्तो अवस्था सितिमिति आउँदैन ।
 
अन्त्यमा अदालतसम्म पुगेका प्रतिनिधि घटनाबाट के भन्न सकिन्छ भने अधिकार जसलाई दिए पनि खासै फरक पर्दैन । र, जसले प्रयोग गरे पनि परिवार सक्षम बनाउने काममा प्रयोग भएमा तथा दुरुपयोगको सम्भावना नभएमा खासै फरक पर्दैन । परिवारभित्रको सम्पत्तिको अधिकार पनि त्यही अवस्थाबाट गुज्रिएको छ । अधिकारभन्दा पनि अनुत्तरदायी बनी आधिपत्य जमाउन खोज्ने प्रवृत्तिले सधैँ अधिकार दुरुपयोगतर्फ उकास्न प्रेरित गर्छ ।  

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: २९ श्रावण २०७४ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App