६ वैशाख २०८१ बिहीबार
खेल

एकताको अभावले पार्क चिन्तित

सोल- दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ।

‘खेलाडीहरू स्वार्थी भएको र उनीहरूमा मतभिन्नता आएको मानिसहरूको बुझाइ छ। तर एउटै समस्यालाई कारण देखाउँदै राष्ट्रिय टोलीको प्रदर्शन ओरालो लाग्यो भन्न मिल्दैन। साना–साना कुराले ठूलो समस्या निम्त्याउँछ,’ कोरियन टाइम्सले पार्कलाई उद्धृत गर्दै छापेको छ, ‘मुख्य कुरा भनेको सबै खेलाडीले एकअर्कालाई विश्वास गर्नुपर्छ।’

जुनमा सम्पन्न छनोट खेलमा कतारसँग पराजित भएपछि दक्षिण कोरियाले जर्मन प्रशिक्षक युले स्टिलाइकलाई बर्खास्त गर्दै उनको ठाउँमा सेन तिए–योङलाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो।

तर पार्कले प्रशिक्षकभन्दा पनि खेलाडीले मैदानमा प्रदर्शन परिवर्तन गर्न तत्परता देखाउनुपर्ने बताए।

पार्कले कप्तान र प्रशिक्षकको आलोचना गर्ने खेलाडीको काम गलत भएको बताए।

२००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा सेमिफाइनल यात्रा तय गर्दाको टोलीका महŒवपूर्ण सदस्य पार्कले दक्षिण कोरिया  समूह ‘ए’ बाट रूस विश्वकपलाई छानिने सम्भावना ५० प्रतिशत मात्र भएको बताए।

समूहका शीर्ष दुई टोली स्वतः विश्वकपमा छनोट हुनेछन्। तर दक्षिण कोरियाले अबको दुई खेलमा कठिन प्रतिद्वन्द्वीको सामना गर्दै छ। त्यसैले दक्षिण कोरियाका लागि छनोट यात्रा त्यति सहज नबन्न सक्छ। दोस्रो स्थानको दक्षिण कोरियाले अगस्ट ३१ मा घरेलु मैदानमा समूहविजेताका रूपमा छनोट भइसकेको इरान र सेप्टेम्बर ५ मा तेस्रो स्थानको उज्वेकिस्तानविरुद्ध खेल्दै छ।

‘खराब लयबाट गुजि्ररहेको दक्षिण कोरियाले दुई कठिन प्रतिद्वन्द्वीसँग खेल्न पाउनु ठूलो अवसर हो। यसले खेलाडीलाई थप हौसला दिन्छ,’ पार्कले भने, ‘इरानलाई हराएर उज्वेकिस्तानलाई बराबरीमा रोक्न सके हामी विश्वकपमा स्वतः छनोट हुनेछौं।’

प्रकाशित: २९ श्रावण २०७४ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App