८ वैशाख २०८१ शनिबार
खेल

नेइमारबिना पनि जादु गर्ने चाहना

बार्सिलोना- स्पेनिस सुपर कपअन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले आइतबार चिर प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध खेल्दै छ। ब्राजिली स्ट्राइकर  नेइमारबिना पनि विजयी नतिजा निकाल्दै बार्सिलोना उच्च मनोबलका साथ ला लिगाको सुरुआत गर्न चाहन्छ।

बार्सिलोनाले नेइमारलाई विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई बेचेको थियो। क्याटलान क्लब अहिले नेइमारको स्थान लिन सक्ने उययुक्त खेलाडीको खोजीमा छ। लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्हो र बोरुसिया डर्टमन्डका ओसामाने डिम्बेलेलाई भिœयाउन चाहे पनि दुवै क्लबले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका थिए।

बार्सिलोनामा अर्नेस्टो भाल्भार्डे नयाँ प्रशिक्षकका रूपमा आएकाले गत सिजन रियालविरुद्धको खेल्दाको टोलीमा केही परिवर्तन हुने सम्भावना छ। निलम्बनका कारण गत अप्रिलमा नेइमारबिना उत्रिए पनि लियोनल मेसीको निर्णायक गोलमा बार्सिलोनाले ला लिगाको अन्तिम भिडन्तमा रियाललाई ३–२ ले स्तब्ध पारेको थियो।

पछिल्लो समय मयामीमा सम्पन्न सिजनपूर्वको अन्तिम अभ्यास खेलमा रियाललाई ३–२ ले पराजित गर्दै इन्टरनेसनल च्याम्पियन्स कपको उपाधि जितेको बार्सिलोना आइतबार पनि त्यही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा हुनेछ।

अमेरिका भ्रमणमा खेलिएका सबै तीन खेल जितेको बार्सिलोनाले सोमबार ब्राजिली क्लब सापाकोइन्जेविरुद्ध ५–० को नतिजासहित सिजनपूर्वको अभ्यास शंृखलालाई सुखद अन्त्य गरेको थियो। गत वर्ष विमान दुर्घटनामा १९ खेलाडीसहित २४ क्लब पदाधिकारीहरूको निधन भएपछि क्लब पुनर्निर्माणको अभियानमा भएको सापाकोइन्जेको सहयोगार्थ उक्त खेल आयोजना गरिएको थियो।

‘सिजनपूर्वका अभ्यास खेलमा हामी उत्कृष्ट लयमा थियौं। आइतबार रियालविरुद्ध पनि त्यही प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछौं,’ भाल्भार्डेले भने, ‘तर रियाल बलियो टोली हो। हामी उनीहरूलाई हराउँदै नयाँ सिजनको सुरुआत सुखद बनाउन चाहन्छौं।’

सिजनपूर्वका अभ्यास खेलमा जितविहीन भए पनि रियालले गत साता म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो।

कासेमिरो र इस्कोले उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेडविरुद्धको खेलमा रियालको मिडफिल्ड बलियो बनेको थियो। तर, क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच निलम्बनमा परेपछि जिनेदिन जिदानको टोलीमा केही परिवर्तन हुने निश्चित छ। मोड्रिचको स्थानमा माटियो कोभासिकले खेल्ने सम्भावना प्रबल छ।

युनाइटेडविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका क्रिस्टियानो रोनाल्डोले पहिलो रोजाइमा स्थान पाउने सम्भावना छ। गत महिना रूसमा सम्पन्न अन्तरमहादेशीय कपपछि लामो छुट्टीमा रहेका रोनाल्डो कर छली विवाद परेका कारण अमेरिका भ्रमणमा अनुपस्थित थिए।

प्रकाशित: २९ श्रावण २०७४ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App