७ वैशाख २०८१ शुक्रबार
समाज

बाँकेमा बाढी पीडितको बिचल्ली, अवरुद्ध राजमार्ग अझै खुलेन

नेपालगन्ज- वर्षा नरोकिँदा बाँकेका विभिन्न ठाउँ थप डुबानमा परेका छन्। शुक्रबार राति परेको वर्षापछि आएको बाढीले पुर्‍याएको क्षति संकलन गर्न नपाउँदै शनिबार रातिदेखि परेको वर्षाले थप डुबान गरेको छ। राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले बाँकेका अधिकांश गाउँ डुबानमा छन्।

डुबान हुँदा घरभित्र राखिएको अन्नपात, लत्ताकपडा भिजेको छ, भने पशु चौपाया डुबेर मरेका छन्। निरन्तर वर्षा हुँदा बाढी पीडितलाई राहत वितरण गर्ने कार्य प्रभावित भएको छ। बाढीले विस्थापित भएका पीडितले भोकभोकै खुल्ला आकाशमुनि रात कटाएका छन्। उनीहरु शनिबार बिहानदेखी घर छाडेर विस्थापित भएका हुन्।

बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको राप्तीसोनारी गाउँपालिकामा बृद्धबृद्धा, बिरामी, सुत्केरी र बालबालिकाको विचल्ली भएको त्यहाँका जनप्रतिनिधीले जनाएका छन्। राप्तीसोनारी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष रामलखन थारुले बाढी पीडितहरु भोकभोकै खुल्ला आकाशमुनि बस्नु परेको बताए। ‘सुरक्षित ठाउँ भन्ने कुरा कतै छैन, बाढीले नभेटाउने उच्च ठाउँमा खुल्ला आकाशमुनि बसेका पीडितहरु रातभर आएको पानीले भिजेर विचल्ली भयो,' उनले भने ‘कसैले त्रिपाल, चाउचाउ र विस्कुट दिएपनि धेरै राहत पाउँथ्ये।' गाउँमा रहेका पसललाई समेत बाढीले डुबाएको र बाढी पीडितको संख्या अत्यधिक रहेकाले वडा कार्यालयको एक्लो प्रयासले सम्भव नभएको वडा अध्यक्ष थारुले बताए। स्थानीय सामुदायिक बिद्यालय, सरकारी भवनमा आश्रय लिएका पीडितहरु भोक भोकै बस्न बाध्य छन्।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा विस्थापितलाई राहत वितरण गर्ने कार्य वर्षाका कारण प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र पौडेलले शनिबार मौसममा सुधार भएकाले केही ठाउँमा हेलिकप्टरबाट चिउरा, चाउचाउ, विस्कुट लगायतका राहत सामाग्री खसालिएको जानकारी दिदै आइतबार मौसममा सुधार नआएकाले हेलिकप्टरमार्फत राहत पुर्‍याउन कठिनाई भएको बताए। ‘जताततै बाटो बिग्रेको छ, स्थलमार्गबाट राहत पुर्‍याउन सम्भव छैन, हेलिकप्टरबाट मात्रै राहत पुर्‍याउन सम्भव छ, त्यो पनि मौसमले साथ दिएपछि मात्र हुन्छ,' पौडेलले भने।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सरोज पौडेलले शनिबार रातीदेखी अविरल बर्षा सुरु भएकाले थप डुबान गरेको बताए। ‘बाढीमा कतै फसेर उद्धार गर्नुपर्ने अवस्था छैन, तर घर छाडेर विस्थापित भएकालाई सुत्न र खाने समस्या छ,' उनले भने। भारतीय पक्षलाई लक्ष्मणपुर बाँधको ढोका खोल्न स्थानीय प्रशासनले आग्रह गरेपनि त्यहाँबाट कुनै रेसपोन्स नभएको अधिकारीले बताएका छन्।

अवरुद्ध राजमार्ग अझै खुलेन

अविरल बर्षापछि आएको बाढीले पुल भत्काउँदा अवरुद्ध बनेको यातायात सेवा अझै सञ्चालनमा आएको छैन। बाढीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित गन्धौली खोला र गाभर खोलामा रहेको पुल शनिबार बिहान करिव ५ बजेतिर भत्काएको थियो।

भत्केको पुलमा अस्थायी मर्मत गरी साना गाडी सञ्चालनमा ल्याउन गरिएको प्रयास शनिबार रातिको वर्षापछि असफल भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। ‘भत्केको ठाउँमा सामान्य मर्मत गरेर साना गाडी सञ्चालनमा आएका थिए, तर रातीदेखी परेको वर्षाले माटो बगाएपछि पुरै अवरुद्ध भएको छ,' उनले भने। राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, सुर्खेत लगायत स्थानबाट आएका सवारी साधन कोहलपुरमा रोकिएका छन् भने राजधानी लगायत ठाउँबाट आएका सवारी साधन बीच जंगलमा शनिबारदेखी अलपत्र अवस्थामा रहेका छन्।

गृहमन्त्री निरिक्षणमा

गृहमन्त्री जनार्दन शर्मा बाढी प्रभावित क्षेत्रको निरिक्षणमा आउन लागेका छन्। उनले बाढी प्रभावित क्षेत्रको हेलिकप्टरमार्फत निरिक्षण गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७४ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App