coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुस पिउन तीनै भूगोलका हात

डा. केसीलाई जुस पियाउनुअघि गोर्खाका थोवाङनोर्बु लामा, सिन्धुपाल्चोककी पाँचवर्षीया सरोजा नेपाली र सिराहाकी अनितादेवी महतो। तस्बिर : उपेन्द्र लामिछाने

काठमाडौं- सोह्र दिन लामो अनशन अन्त्य गर्ने क्रममा धेरैलाई लागेको थियो– डा. गोविन्द केसीलाई जुस पियाउन कोही विशिष्ट आउनेछन्। कार्यक्रमको प्रतीक्षा लम्बिइरहँदा धेरैलाई यो भान परेको थियो।

'अब कार्यक्रम सुरु गरौं,' सहयोगीले यति भन्नासाथ अपरिचित तीन अनुहार एकाएक अगाडि देखिए। आफ्ना अभिभावकका काखमा रहेकी बालिका, एक महिला र एक भिक्षु।

तीनै जना टिचिङ अस्पतालमा उपचाररत बिरामी– पाँच वर्षीया सरोजा नेपाली, गोर्खाका भिक्षु थोवाङनोर्बु लामा र सिराहाकी अनितादेवी महतो।

तीनै जनाले डा. केसीलाई जुस पियाएर अनशन तोडाए। धेरैले सोधे– उहाँहरु को? 'सामान्य मान्छे जसको परिचय आम रुपमा छैन, उहाँकै लागि मेरो लडाइँ हो,' डा. केसीले ती मान्छे रोज्नुको कारण खुलाए, 'त्यसैले मैले उहाँहरुकै हातबाट अनशन तोडेको हुँ।'

पाँचवर्षे सरोजा खुट्टाकी बिरामी हुन्। करिब दुई महिनादेखि अस्पतालकै हाडजोर्नी विभागमा उपचाररत ती बालिकाको खुट्टा पूरै सुन्निएको छ। पटकपटकको शल्यक्रिया र उपचारपछि समेत खुट्टामा सुन्निने क्रम रोकिएको छैन।

गत वर्ष वैशाखमा गएको भूकम्पमा परेर परिवारका दुई सदस्यसमेत गुमाएको नेपाली परिवारमा यसपटक बालिकाको उपचारको बोझ थपिएको छ। उनीहरुको उपचार डा. केसीले नै गरिरहेका छन्।

सिराहा, सुखिया–९ की अनितादेवी महतोले 'नेक' काममा सहभागी भएकोमा निकै खुसी लागेको सुनाइन्। 'मलाई थाहा थिएन, यो नेक (राम्रो) काममा मलाई पनि बोलाइन्छ भन्ने,' छोराको उपचारका लागि अस्पताल आएकी उनले भनिन्, 'मलाई आज बहुत खुसी लागेको छ।'

तीन सन्तानकी आमा अनितादेवी १३ वर्षीय जेठो छोरो परमेश्वरको हाड–नसासम्बन्धी उपचार गराउन राजधानी आएकी हुन्। 'डाक्टरसाप पनि परमेश्वरजस्तै लाग्यो,' उनले भनिन्, 'उहाँ ठिक हुनुभयो, अब मेरो छोरो पनि ठिक हुनेछ।'

छेवाङनोर्बु डा. केसीलाई चिनेको आफन्तको उपचार क्रममा हो। भूकम्पले खुट्टामा चोट पुर्‍याएका आफन्तको सफल उपचारपछि उनी केसीदेखि प्रभावित बनेका हुन्। 'यिनै डाक्टरलाई आज जुस खुवाउन पाउँदा खुसी लागेको छ,' उनले भने, 'उहाँ धेरै बाँच्नुपर्छ।'

लामा पोसाकमा आएका उनी डा. केसीलाई जुस पियाएपछि भर्‍याङमा बसेर पत्रकारसँग कुरा गर्न व्यस्त देखिए।

यी तीनै जनाको डा. केसीसँगको सम्बन्धन बिरामी र चिकित्सकको रुपमा थियो तर डाक्टरले १६ दिन लामो अनशन तोड्ने क्रममा आएका अर्का नोर्बु गोरखाका हुन्। पहेंलो कपडा लगाएका भिक्षुलाई डा. केसीले हिमाल र महतोलाई तराईका प्रतिनिधिका रुपमा रोजेका हुन्।

तपार्इं किन सधैँ सामान्य मान्छेबाट किन जुस पिउनुहुन्छ? 'म पनि सामान्य नै मान्छे हुँ,' उनले भने।

आइतबार साँझ चारबुँदे सहमतिपछि सोमबार अपराह्न  अनशन तोड्ने क्रममा  डा. केसीले जुस पिउन पनि हिमाल, पहाड र तराई तीनै भूगोलको प्रतिनिधित्व गराएका थिए।

'अरुले हामीलाई वास्ता नगरे पनि डाक्टरसापको यो काममा हामीलाई बोलाउँदा खुसी लाग्यो,' सरोजाका ठूलोबुबा नारायण नेपालीले भने, 'हामीलाई यो कुरा जिन्दगीभर याद रहन्छ।'

प्रकाशित: ११ श्रावण २०७३ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App