coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीको वितण्डा, २९ को मृत्यु

काठमाडौं- दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोमा परी २९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले बाढीपहिरोबाट सुनसरी, मोरङ, झापा, पाँचथर, सिन्धुली, बाँके, सर्लाही, दाङ, पाल्पा, बर्दिया, बारालगायत जिल्लामा २९ जनाको मृत्यु भएको जनाएको छ।

सुनसरीमा सात, झापा र सिन्धुलीमा चार/चार, पाँचथर, मोरङ र बाँकेमा तीन/तीन, बारा, सर्लाही, पाल्पा, दाङ र बर्दियामा एक/एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक प्रकोपपीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरोकारवालाई निकायका अधिकारीलाई निर्देशन दिएका छन्। उनले शनिबार सरोकारवाला निकायका अधिकारीको आकस्मिक बैठक बोलाएर उद्धार र राहत प्रभावकारी बनाउन निर्देश गरेका हुन्। प्रधानमन्त्री देउवाले बिहानै बाढीपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहका सहयोग गर्न पनि निर्देशन दिएको उनका वरिष्ठ सञ्चारविज्ञ गोविन्द परियारले बताए।

त्यसैगरी गृहमन्त्रालयमा प्रकोप व्यवस्थापन विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखसहितको बैठक बस्यो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले प्रतिकूल मौसम र पर्याप्त स्रोतसाधन अभावले उद्धार तथा राहत वितरणमा ढिलाइ भएको बताए। 'बाढीपहिरोका कारण देशैभरि ठूलो क्षति भएको छ,' शर्माले भने, 'बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि मौसम प्रतिकूल हुँदा समस्या भएको छ। तयारी अवस्थामा राखिएका राहत सामग्री पुर्‍याउन पनि सकिएको छैन।'   उनले सुरक्षाकर्मीलाई उद्धारमा परिचालन गरिएको जानकारी दिए। यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोसी ब्यारेजको ढोका खोल्न भारतीय पक्षलाई आग्रह गरेका छन्। नेपालस्थित भारतीय राजदूत मञ्जिपसिंह पुरीमार्फत उनले सो आग्रह गरेका हुन्।  परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उनका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले भने, 'उहाँले नेपालस्थित भारतीय राजदूतमार्फत ब्यारेजको ढोका खोलेर जोखिम न्यूनीकरणका लागि पहल गर्न आग्रह गर्नुभएको छ।'

टेलिफोन संवादमा राजदूत पुरीले जोखिम न्यूनीकरण गर्न सघाउने आश्वासन दिएको लामिछानेले बताए। कोसी नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको छ।

यसैबीच सत्तासीन दल नेपाली कांग्रेस र प्रतिपक्षी दल एमालेेले  बाढीपहिरोपीडितको उद्धार तथा राहत वितरणमा खटिन आआफ्ना कार्यकर्तालाई निर्देशन  दिएका छन्।

….

शुक्रबार साँझदेखि परिरहेको भारी वर्षाले जलमग्न हुँदा इटहरीमा डुबेर सातजनाको मृत्यु भएको छ। सबैभन्दा बढी मानवीय क्षति भएको इटहरी नै हो। रातको समयमा परेको वर्षाले डुबानमा परेको इटहरीका विभिन्न स्थानबाट शनिबार बिहान सातजनाको शव भेटिएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

वर्षाको पानीले डुबेर मृत्यु हुनेमा भोजपुर घर भएका इटहरी–४ गौरीगाँउमा डेरा गरी बस्ने माया राईकी ८ वर्षीया छोरी रुप्सनी राई, ३ वर्षका छोरा रुपेश राई, इटहरी–४ आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनुवार, इटहरी–४ गौरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनका छोरा वर्ष १० का सिटी साह, इटहरी–२० तरहरामा एक ८० वर्षका पुरुष र इटहरी–९ मा ३५ वर्षीया महिला छन्। तरहरा र इटहरी–९ मा मृत भेटिएका ती पुरुष–महिलाको पहिचान खुलेको छैन। सुनसरीको दुहबी नगरपालिका–१२ बस्ने ६८ को रामलाल राजवंशीको डुबान घरबाट सार्ने क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार राजवंशी बिरामी थिए।

मोरङमा अविरल वर्षापछिको डुबान र बाढीले ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। मृत्यु हुनेमा लेटाङ नगरपालिका–१ मालवासेका ३५ वर्षीय गोपीमाया तामाङ छिन्। उनको पहिरोमा परी मृत्यु भएको छ। बक्राहाको बाढीले मिक्लाजुुङ गाउँपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडाको मृत्युु भएको छ। लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउँपालिका–९ का ५६ वर्षीय मीनबहादुुर थापा र घरछेउको नालीमा डुबेर बुढीगंगा गाउँपालिका–६ की ७५ वर्षीय बुुद्धिमाया लिम्बूको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए। सुन्दरहरैंचा नगरपालिकामा तीनजना बाढीमा परेर बेपत्ता छन्। गछिया खोला र बूढीखोलामा आएको बाढीले बलिया खापमा रहेको वृद्धाश्रमका तीनजना वृद्धालाई बगाएर बेपत्ता बनाएको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिव ढकालले जानकारी दिए।

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्। झापा गाउँपालिका–२ मा कन्काई खोलाले बगाउँदा कमला घोर्साने र शिवसताक्सी नागरपालिका १ मा झिलझिले खोलाले बगाउँदा विजय पाण्डेको मृत्यु भएको हो।

कनकाई नदीमा आएको बाढीले मृतक घोर्सानेकी आमा, झापा गाउँपालिका २ कै कालीप्रसाद राजवंशीसहित परिवारका ४ जना, झावा गाउँपालिका ७ का टेकबहादुर दर्नाल, उनकी पत्नी र बच्चालाई बगाउँदा बेपत्ता छन्। बाढीका कारण झापा गाउँपालिका, बारदसी गाउँपालिका, कचनकवल गाउँपालिका, मेची नगरपालिका, हल्दिबारी गाउँपालिका, शिवसताक्सी नगरपालिका, भद्रपुर नगरपालिका र गौरीगन्ज गाउँपालिकाबाट ११ सय ११ परिवार विस्थापित भएका हुन्। झापामा सबैभन्दा धेरै कनकाई नदीले क्षति पुर्‍याएको छ। विरिङ, कमल, निन्दा, मेची, रतुमावा, झिलझिले र किष्णे खोला बस्तीमा पसेको छ। झापा गाउँपालिकामा उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि अविरल वर्षा भइरहेका कारण समस्या परेको छ। झापामा पनि बिजुली, मोबाइल र इन्टरनेट सेवा अवरुद्ध छ।

 पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी रमेशकुमार भट्टराईका अनुसार बाढीपहिरोबाट भएको क्षति संकलन अझै जारी छ। उनले बाढीपहिरोले एकैपटक धेरै स्थानमा क्षति पुर्‍याएकाले उद्धारमा  समस्या भइरहेको बताए। उनले वर्षाले तराई–मधेसका सप्तरी, सुनसरी, मोरङ र झापा पूरै डुबानमा परेको बताए।

पहिरोले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र तेह्रथुममा व्यापक क्षति पुर्‍याएको छ। सुनसरीको इटहरी, मोरङको विराटनगर, सप्तरीको राजविराज र झापाका दमक, बिर्तामोड, भद्रपुरलगायतका प्रमुख सहर  जलमग्न छ। यी सबैको सहरको सडकमा खोला बगेजस्तै पानी बगिरहेको छ।

 कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड पहिरोले अवरुद्ध छ। पहिरोले त्यहाँ सडक भत्काइदिएको छ। ‘बाढी र पहिरोले कहालीलाग्दो अवस्था छ,’ डिआइजी भट्टराईले भने, ‘लगातार पानी परिरहेकाले उद्धारमा समस्या भइरहेको छ।’

उनले बाढी–पहिरोले समस्याग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनवटै सुरक्षा निकाय परिचालन गरिएको बताए।

विराटनगर एयरपोर्टमा ३ देखि ४ फिट पानी जमेको छ। मोरङको सुन्दरहरंैचा नगरपलिका ४ र ६ स्थित गछिया खोलाले पुलको पश्चिम भाग कटान गरेकाले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। 

पहिरोले ६ को मृत्यु

भारी वर्षासँगै झरेको पहिरोले पहाडी जिल्ला सिन्धुली, तेह्रथुम र पाँचथरमा ६ जनाको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ मा पहिरोले एकै परिवारको चारजनाको ज्यान गएको छ। नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा दुर्गाकुमारी खड्का (२७ वर्ष), शोभा खड्का (१५ वर्ष), अनिस खड्का ( १० वर्ष) र मनीष खड्का (वर्ष ८) का रहेका छन। शुक्रबार राति करिब २ बजेको समयमा पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो। उदयबहादुर खड्काले भने भागेर ज्यान जोगाए।

पाँचथरमा पहिरोले एक जनाको मृत्यु भएको छ। पहिरोमा परी तीन जना बेपत्ता भएका छन् भने कैयौं परिवार विस्थापित भएका छन्। फालेलुङ–१  एकतीनको चुपादिनमा ८३ वर्षीय तिलोचन विश्वकर्माको मृत्यु भएको छ। पहिरोले दुई घर बगाएको छ। दुई परिवारका अन्य सदस्य भाग्न सफल भए पनि विश्वकर्मालाई पहिरोले बगाएको हो। यस्तै, पहिरोले घरसँगै बगाएर बेपत्ता भएका  एकै परिवारका तीन जनाको खोजी कार्य जारी छ। उनीहरूलाई जीवितै उद्धार गरिने सम्भावना कम बन्दै गएको सुरक्षकर्मीले बताएका छन्। ठूला ढंगा बगाएका कारण खोजी कार्य कठिन बनेको छ।

फालेलुङ–३ ताङलेपामा रहेको निवाखोला लद्युजलविद्युत् आयोजनाको पावर हाउस बगाउँदा आयोजना रुँगेर बस्ने एक परिवारका  तीन जना बेपत्ता भएका छन्। १५ मेगावाटको लद्यु जलविद्यत् आयोजनासहित घरै बगाएको हेा।  खोल्सीबाट आएको पहिरोले आयोजनासहित घर बगाएको हो। घर बगाउँदा  विष्णुभक्त राई, बुहारी पर्था राई र  नाति गंगा राई बेपत्ता भएका हुन्।

तेह्रथुममा रहेको १३ मेगावाटको एउटा जलविद्युत् परियोजना पहिरोले बगाइदिएको छ। त्यहाँ एकजनाको शव भेटिएको र तीनजना हराइरहेको डिआइजी भट्टराईले जानकारी दिए।

लगातारको वर्षाले पूर्वी नेपालको जनजीवन अस्तव्यस्त बनेको छ। खोलाको बाढी बाँध फुटाएर बस्तीमा पस्दा सयौं सर्वसाधारण विस्थापित भएका छन्। डिआइजी रमेश भट्टराईले लगातार पानी परिरहेकाले उद्धार गर्न मुस्किल परिरहेको बताए।

 वर्षाले विद्युत्, टेलिफोन र अन्य लाइफलाइन सेवा अवरुद्ध छ। उद्धार र राहतका लागि हेल्पलाइन नम्बरहरू सामाजिक सञ्जालमा उपलब्ध गराइए पनि सेवामा देखिएको समस्याले ढिलाइ भइरहेको छ। सुनसरीको दुहबी ग्रिडमा पानी पसेपछि शनिबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध छ।

जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमा उद्धारका लागि सहयोग गर्न अपिल गरिरहेका छन्। ‘ठूलो प्राकृतिक संकट आइपरेको छ,’ मोरङ सुन्दरहरैंचा नगरपालिका मेयर शिवप्रसाद ढकालले भने, ‘सरकारले तुरुन्तै पहल गर्न जरुरी छ।’

(मणि दाहाल/काठमाडौं, अजित तिवारी/विराटनगर, अमर खड्का/इटहरी, राजु अधिकारी/झापासिन्धुलीबाट अनिल भण्डारी र पाँचथरबाट गिरिराज बाँस्कोटाको सहयोगमा)

प्रकाशित: २९ श्रावण २०७४ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App