लिले- आयोजक फ्रान्सले युरोपियन च्याम्पियनसिपअर्न्तगत समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डविरुद्ध खेल्ने तयारी गरिरहँदा युभेन्ट्स स्टार पाउल पोग्बाप्रति सबैको नजर केन्द्रित हुनेछ।
बुधबार मार्सेमा अल्बानियाविरुद्ध २–० ले जितेको खेलमा पहिलो रोजाइमा पर्न सकेका थिएनन्। तर, बेन्चबाट आएर पनि दिमित्री पएटकोे गोलमा अवसर सिर्जना गरिदिएका पोग्बाले गोलपछि मिडिया बक्सतर्फ संकेत गर्दै हात झट्कालेका थिए। उक्त घटनाप्रति पोग्बाले माफी मागिसकेका छन्। तथापि सञ्चारमाध्यमहरू उनीप्रति तटस्थ छन्।
त्यसयता फ्रान्सका खेलाडीले सञ्चारमाध्यमको सामना गर्दा उक्त विवाद सकेसम्म मत्थर बनाउने कोसिस गरिरहेका छन्। ‘सबैले कुरा गरिरहेको पोग्बाको त्यो घटना मैले देख्न पाइनँ। म दोस्रो गोलमा खुसीयाली मनाइरहेको थिएँ,’ मिडफिल्डर नो‘गोले कान्टेले भने। त्यस्तै सेन्टर ब्याक सामुइल उम्टिटीले भने, ‘म प्रेस हेरेर बस्ने मध्येमा पर्दिनँ।’
त्यसका बाबजुद पनि अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले खेलपूर्व पत्रकार सम्मेलनमा यो मुद्दा सामना गर्नुपर्ने हुनसक्छ।
युरो २०१६ को टेलिभिजन ब्रोडकास्टहरूले विवाद कम गराउन उक्त घटनाको भिडियो दोहोर्याएर देखाएनन्। तर, उक्त भिडियो सामाजिक सञ्जालमा तत्काल भाइरल बनेको थियो। पोग्बाले एएफपीलाई पठाएको विज्ञप्तिमा त्यसलाई सधैँ गर्ने नृत्यका रूपमा व्याख्या गरेका छन्।
उनको विज्ञप्तिबारे भिन्सेन्ट डुलुकले फ्रेन्च स्पोर्टस डेली एलक्विपमा भनेका छन्, ‘उनको विज्ञप्तिले पोग्बाले आफूलाई युरो सुरु हुँदाको अवस्थामा रहेको सम्झेका छन्।’
प्रतियोगिताको पहिलो दिन सञ्चारमाध्यमले पोग्बालाई मिचेल प्लाटिनी र जिनेदिन जिदानसँग तुलना गरेर पहिलो पेजमा स्थान दिएका थिए। प्लाटिनी र जिदानले क्रमशः घरेलु मैदानमा भएको युरो १९८४ र विश्वकप १९९८ जिताएका थिए।
स्विट्जरल्यान्डविरुद्धको खेलमा पोग्बाले एन्टोनी ग्रिजम्यानसँगै कम्तीमा पहिलो रोजाइमा पर्ने आशा गरेका छन्। अल्बानियाविरुद्धको खेलमा ग्रिजम्यानले बेन्चबाट आएर पहिलो गोल गरेका थिए।
कान्टे र ओलिभर जिरौड दुवैले आराम पाउने र योहान काबाए र आन्द्रे–पिइर्रे जिन्याक टोलीमा फर्कने सम्भावना छ भने प्रशिक्षक डेसच्याम्पसले ४–३–३ को रणनीतिमा खेलाउने सम्भावना छ।
डेसच्याम्पस फ्रान्सले युरो २०१२ को जस्तो स्थिति दोहोरिन्छ की भन्नेमा सचेत छन्। लाउरेन्ट ब्लान्कको प्रशिक्षणमा फ्रान्स समूह चरणको अन्तिम खेलमा स्विडेनसँग पराजित भएको थियो। त्यही हारपछि नकआउट चरणमा साबिक विजेता स्पेनसँग पराजित भएर घर फर्किएको थियो।
दोस्रो स्थानको स्विट्जरल्यान्डसँग स्पष्ट २ अंकले अघि रहेको भन्दा फ्रान्सलाई शीर्ष स्थान कायम गर्न बराबरी पर्याप्त हुन्छ। शीर्ष हँुदै अर्को चरण पुगे फ्रान्सले समूह ‘सी’, ‘डी’ र ‘ई’ बाट उत्कृष्ट तेस्रो हुने टोलीसँग खेल्नेछ।
२०१४ विश्वकपमा ब्राजिली सहर साल्भाडोरमा फ्रान्सले स्विट्जरल्यान्डलाई ५–२ ले पराजित गरेको थियो। आइतबार पनि त्यस्तै नतिजा निकाल्ने आशामा छन्, प्रशिक्षक डेसच्याम्पस।
प्रतियोगिताअघि फ्रान्सलाई जति सशक्त टोलीको रूपमा हेरिएको थियो, त्यसअनुरुप प्रदर्शन गर्न भने सकेको छैन। फ्रान्सले रोमानियाविरुद्ध जितका लागि ८९ औं मिनेटसम्म कुर्नुपरेको थियो भने अल्बिानियासँग ९० औं मिनेटसम्म पर्खनुपरेको थियो।
पोग्बाको विवाद सोलाउन नपाउँदै स्विट्जरल्यान्डले आफ्नो आधिकारिक टि्वटर पेजमा लेखेको छ, ‘हे फ्रान्स, तिमीहरूको समस्या पोग्बा होइन हामी हौं।’
पहिलो खेलमा अल्बानियासँग १–० को जित निकालेको भ्लादमिर पेट्कोभिकको टोलीले दोस्रो खेलमा रोमानियासँग १–१ को बराबरीमा रोकिएको थियो। तर, रोमानियाविरुद्धको खेलमा बराबरी गोल गरेका एडमिर मेहमेदीले भने, ‘स्पष्ट छ कि हामी जित्न चाहन्छौं। बराबरी खेेलेर हामी खुसी हुन सक्दैनौं।’
प्रकाशित: ५ असार २०७३ ०६:३७ आइतबार