coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढी-पहिरोले १३ को मृत्यु, ५ बेपत्ता

विराटनगर – शुक्रवार साँझदेखि अविरल परिरहेको वर्षाले पूर्वी नेपालमा १३ जनाको मृत्यु भइसकेको छ । ५ जना हराइरहेका छन् । सयौं परिवार विस्थापित छन्। 

पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी रमेश भट्टराईका अनुसार बाढी–पहिरोबाट भएको क्षति संकलन अझै जारी छ । उनले बाढी–पहिरोले एकैपटक धेरै स्थानमा क्षति पु¥याएकाले उद्दार गर्नमै समस्या भइरहेको बताए । उनले बर्षाले तराई–मधेसका सप्तरी, सुनसरी, मोरङ र झापा पुरै डुवानमा परेको छ । पहिराले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र तेह्रथुममा व्यापक क्षति पुर्‍याएको छ। 

सुनसरीको इटहरी, मोरङको विराटनगर, सप्तरीको राजविराज र झापामा दमक, बिर्तामोड, भद्रपुर लगायतका प्रमुख सहर पुरै जलमग्न छ । सबैभन्दा बढी मानवीय क्षति इटहरीमा भएको छ । लगातारको वर्षाले इटहरी डुवानमा पर्दा त्यहाँ हालसम्म ७ जनाको मृत्यु भइसकेको डिआइजी भट्टराईले जानकारी दिए । मोरङमा चारजनाको मृत्यु भएको छ। 
तेह्रथुममा रहेको १३ मेगावाटको एउटा जलविद्युत परियोजना पहिरोले पुरै बगाइदिएको छ । त्यहाँ एकजनाको मृत शरीर भेटिएको र तीनजना हराइरहेको डिआइजी भट्टराईले जानकारी दिए । कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड पहिरोले अवरुद्ध छ  । पहिरोले त्यहाँ सडक नै भत्काइदिएको छ । ‘बाढी र पहिरोले कहालीलाग्दो अवस्था छ,’ डिआइजी भट्टराईले भने, ‘लगातार पानी परिरहेकाले उद्दारमा समस्या भइरहेको छ ।’

बाढीले सप्तरी, सुनसरी, मोरङ र झापा तथा पहिरोले ताप्लेजुङ, पाँचथर र तेह्रथुममा व्यापक क्षति
 

मोरङको सुन्दरहरैचा नगरपलिका ४ र ६ स्थित गछिया खोलाले पुलको पश्चिम पट्टिको भाग कटान गरेकोले पूर्व–पश्चिम राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।  बुढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बुढीखोलाको पानी पसेर ३ सय ५० घर डुबानमा परेको छ । बक्राहा (नुनसरी) खोलाको पानी पसेर मोरङको उर्लावारी नगरपलिका–८ स्थित माझीटोलका १५ घर र मिक्लाजुङ गाउँपालिकापा–६ खाबेझोडाका १८ घर डुवानमा परेका छन्। लोहन्द्रा खोलाको पानीले मोरङको बेलबारी नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रहेको पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ । अविरल वर्षाले विराटनगरमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालयको एकसय मिटर कम्पाउण्ड वाल भत्काएको, विमानस्थल सुरक्षा गार्डको ब्यारेक भवन र कार्यालयमा पानी पसेर डुबान छ । विराटनगर महानगरपालिका ४, ५, ६, ११ र १२ नम्बर वडाका ६ सय घर डुबानमा परेको छ।

बाढीले मोरङको रतुवा र बक्राहा खोलाको बाँध नै टुटाएको छ । बाँध टुटाएर रतुवामाई नगरपालिका वडा नम्बर ५, ७, ८ र ९ मा पानी पसेर ७ सय घर तथा खोलाको बाँध फुटेर रतुवामाई नगरपालिका १ सोनापुरस्थितमा भारततर्फ अन्दाजी ३० घर डुवानमा परेको छ। 

मोरङको लोहन्द्रा खोलामा आएको बाढीले बाँध भत्किंदा धनपालथान गाउँपालिका–६ स्थित बस्तीमा पानी पसेर १ सय ५० घर डुबानमा परेको छ । खोलाको पानी ओभरफ्लो भएर धनपालथान गाउँपालिका ५, ६ र ७ नम्बर वडाका ३ सय घर डुबानमा परेका छन । मोरङको बक्राहा खोलाको बाढीले सुनवर्षी नगरपालिका–७ सुकुम्बासी बस्तीको ५० घर डुबानमा परेका छन्। 

प्रकाशित: २८ श्रावण २०७४ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App