coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधन विधेयक निर्णयार्थ सदनमा प्रस्तुत हुने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव आइतबारभित्र निर्णयार्थ पेस गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ संविधानप्रति असहमति जनाउँदै आएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलसँगको वार्ताक्रममा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । 
वार्तामा भएको सहमतिअनुरूप अघि बढ्ने वातावरण बनेमा मंगलबार बस्ने ससंद् बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतबार नै संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने प्रतिबद्धता जनाएको राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले बताए । ‘प्रधानमन्त्रीज्यू र प्रचण्डज्यूले संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ आइतबार पेस गर्ने भन्नुभएको छ,’ झाले नागरिकसँग भने, ‘पास हुने अवस्था भए पेस गर्नुहोस् भनेर हामीले भन्यौं । उहाँहरूले यो पटक जसरी पनि पास हुन्छ, ढुक्क हुनुहोस् भन्नुभएको छ ।’ सत्तारुढ दलले पटकपटक आश्वासन दिएको भए पनि यस पटक संशोधन प्रस्ताव तत्कालै निर्णयार्थ पेस हुनेमा राजपा विश्वस्त भएको झाले बताए । 

संविधान संशोधन विधेयकलगायत कुनै पनि विधेयकसम्बन्धी कारबाही अघि बढाउने अधिकार सभामुख हुन्छ । सभामुखले मंगलबारका लागि संसद् बैठक बोलाएकी छिन् । ‘सरकारले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्न चाहेमा सभामुखले आवश्यक निर्णय लिन तयार हुनुहुन्छ,’ सभामुख ओनसरी घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माले बताए । 

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्न राजपा मञ्जुर भएपछि सत्तारुढ दल कांग्रेस र माओवादी तयारी भएको बताए । ‘राजपाले संविधान संशोधन तत्कालै टुंग्याउन माग गरेपछि सरकार तयारी अवस्थामा पुगेको हो, विधेयक अब चाँडै पेस हुन्छ,’ उनले नागरिकसँग भने, ‘विधेयक पास र फेल हुने त्यही बेला नै थाहा हुनेछ ।’ यद्यपि सरकार उक्त विद्येयक पास गराउनका लागि अधिकतम प्रयास गर्ने श्रेष्ठको भनाइ छ । 
मधेस आन्दोलनमा ज्यान गुमाएकामध्ये बाँकी रहेकालाई सहिद घोषणा तथा परिवारजनलाई राहत, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्र्ता, घाइतेलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने तथा स्थानीय तहको संख्या बढाउनेजस्ता सर्त सरकारले पूरा गर्नुपर्ने राजपा महामन्त्री जितेन्द्र सोनलले बताए । ‘सरकारले गर्नुपर्ने काम आइतबारअघि नै गरेर राजपालाई विश्वासमा लिनुपर्छ,’ उनले नागरिकसँग भने, ‘संविधान संशोधन अर्को विषय हो, पहिला सरकारको तहबाट हुने काम पूरा गर्नुपर्छ ।’ शुक्रबार भएको वार्तामा भएको सहमतिअनुसार आइतबार नै सरकारले पूरा गर्न बाँकी रहेका विषय कार्यान्वयन हुनेमा राजपा आशावादी रहेको उनले बताए । 

बालुवाटारमा बसेको बैठकमा राजपाका अध्यक्षमण्डलका सबै शीर्ष नेताको उपस्थिति  थियो । बैठकमा राजपाले असोज २ गते हुने चुनावमा सहभागिता जनाउने प्रतिबद्धता जनाउँदै चुनावचिह्न छाता दिनुपर्नेमा जोड दिएको छ ।  निर्वाचन आयोगसँग समन्वय गर्दै आवश्यक कानुनी प्रक्रिया मिलाएर छाता चुनावचिह्नका लागि  पहल गरिदिने सत्तारुढ दलले आश्वासन दिएको श्रेष्ठले जनाए । 

 

प्रकाशित: २८ श्रावण २०७४ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App