७ वैशाख २०८१ शुक्रबार
राजनीति

आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्ने निर्णयसहित बिमस्टेक सम्पन्न

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५ औं विदेश मन्त्रीस्तरीय बैठक आधा दर्जन सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य रहेको बिमस्टेकको विदेश मन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो। 

बैठकले बिमस्टेक खुल्ला व्यापार सम्झौता सम्पन्न गर्ने, बिमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्ने, प्रविधि हस्तान्तरण गर्ने सम्बन्धी सम्झौता र व्यापार सहजीकरण तथा मोटर पारवहनलगायत सम्झौतालाई अन्तिम रूप दिने, आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएको क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्ने निर्णय गरेको छ। 

बैठकमा नेपाल, भारत, भुटान र बंगलादेशका विदेश मन्त्री सहभागी भएका थिए भने श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेश राज्यमन्त्री सहभागी भएका थिए । ‘बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक आज (शुक्रबार) काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । बैठकले बिमस्टेकअन्तर्गत हासिल भएका उपलब्धि, हालको अवस्था तथा आगामी दिनमा गर्ने कार्यको प्रतिबद्धतासहितको संयुक्त वक्तव्य पारित गर्‍यो,’ बैठकको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिए। 

सन् २०१२ मा काठमाडौंमा सम्पन्न भएको बिमस्टेक सदस्य राष्ट्रका गरिबी निवारण मन्त्रीस्तरीय बैठकले पारित गरेको गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति पनि बैठकमा बनेको उनले जनाए । यस्तै बैठकले बिमस्टेकको कामलाई थप प्रभावकारी बनाउन स्थापना गरिने भनिएका बिमस्टेक केन्द्र (बिमस्टेक उर्जा केन्द्र, बिमस्टेक वातावरण केन्द्र र बिमस्टेक संस्कृति केन्द्र) लाई यथाशीघ्र स्थापना गरी सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ। 

‘बिमस्टेकको भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न एक प्रबुद्ध समूह यथाशीघ्र गठन गर्ने निर्णय भएको छ,’ मन्त्री महराले भने, ‘बैठकले बिमस्टेकका उच्च अधिकारीको १७ औं तथा १८ औं बैठकका प्रतिवेदनलाई अनुमोदन गर्‍यो।’

बैठकमा बिमस्टेकको बीसौं वार्षिकोत्सव मनाउने क्रममा बिमस्टेक सचिवालय र सदस्य राष्ट्रले आयोजना गरेका विभिन्न कार्यक्रमको प्रशंसा गर्दै बिमस्टेकका सम्बन्धमा प्रचारप्रसार गर्न थप कार्यक्रमसमेत आयोजना गर्ने निर्णय गरिएको छ । गत वर्ष भारतको गोवामा भएको बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको रिट्रिट बैठकका निर्णय र सोही बखत पारित भएका सोह्र बुँदे कार्यान्वयन कार्ययोजनामा भएका उपलब्धिको समीक्षा गर्दै बैठकले ती निर्णयको तत्काल कार्यान्वयनमा जोड दिएको थियो। 

नेपालले बैठकमा बिमस्टेकका उर्जा मन्त्रीस्तरीय तेस्रो बैठक सन् २०१८ को सुरूमा गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै नेपालले बिमस्टेकको चौथो शिखर सम्मेलन सदस्य राष्ट्रसँग सल्लाह गरी सबै सदस्य राष्ट्रलाई अनुकूल हुने मिति घोषणा गर्ने प्रस्ताव पनि बैठकमा गरेको थियो । बैठकले बंगलादेशका सहिदुल ईस्लामलाई बिमस्टेकको नयाँ महासचिवका रूपमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री महराले बताए। 

प्रकाशित: २८ श्रावण २०७४ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App