coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१५ सय घर डुबानमा, साढे ३ सय परिवार विस्थापित

बाढीका कारण डुबानमा परेको दक्षिणी सप्तरीको बस्ती । तस्बिर : जितेन्द्रकुमार झा

रम्पुरा  – चुरे तथा मध्य पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तरीका खाँडोे, जिता, कोसी लगायतका नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेग जलमग्न भएको छ । बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिकाको कुसहा, कोबर्साइन, बनरझुला, तिलाठी, बेल्ही तथा हनुमाननगर कंकालनी नगरपालिकाको रम्पुरालगायतका बस्ती प्रभावित भएका छन्।

स्थानीय तहका कर्मचारीका अनुसार झन्डै १ हजार ५ सय घर डुबानमा परेका छन् भने ३ सय ५० भन्दा बढी परिवार विस्थापित भई जन्डौल–कुशहा सडक खण्डमा बस्न बाध्य भएका छन् । तीमध्ये ५० भन्दा बढी बालबालिका, गर्भवती तथा वृद्धवृद्धासमेत रहेको तिलाठी–कोइलाडी गाउँपालिकाका वडासचिव राजेन्द्र कर्णले जानकारी दिए । सयौं सर्वसाधारण घरमै फसेको कर्णले बताए । ‘चारैतिर पानी छ, बाढीले सडक तथा कलभर्टसमेत बगाएको छ, घरबाट निस्कन सक्ने अवस्था छैन’, उनले भने।

दुई दिन देखि त्यस क्षेत्रका अधिकांश घरमा चुलोसमेत जल्न नसकेको स्थानीय सन्तोष साहले बताए । ‘भुजा र च्युराको भरमा बाढीपीडितले जसोतसो दिन काटिरहेका छन्’, उनले भने । पानीको बहाव निरन्तर बढ्दै गएकाले सर्वसाधारण आतंकित भएको साहले बताए। 

‘कोही बिरामी पर्‍यो भने गाउँबाट सडकसम्म ल्याउन नाउ(डुंगा) समेत छैन’, साहले भने । समस्याप्रति स्थानीय प्रशासनको ध्यान नगएको पीडितको गुनासो छ।

तिलाठी कोइलाडी गाउँपालिकाका कार्यकारी अधिकृत सरोज झाले गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी, भन्सार कार्यालय, विद्यालयलगायतका संस्थासमेत डुबानमा परेको बताए।

दक्षिणतिर नदीको पानी निकास हुने ठाउँ नहुँदा बस्ती डुबानमा परेको हो । ‘खाँडो र जिताको निकास त भारतीय बाँधका कारण पाँच वर्षअघि नै पुरिएको थियो, यता कुनौली बोर्डरस्थित कोसी पश्चिमी तटबन्ध हुँदै तिलाठीसम्मको दसगजा छेउमै रहेको भारतीय बाँधले पानीको निकास दक्षिणतर्फ हुन सक्दा समस्या आएको हो’, सप्तरी रम्पुराका ७० वर्षीय बेचन कामैतले भने, ‘दक्षिणतर्फ पानी बग्ने उचित व्यवस्था नगरेसम्म यस क्षेत्रमा बाढीको समस्या रहिरहन्छ ।’ उनले थपे, ‘सन् १९८७ पछिकै ठूलो बाढी हो यो । त्यति बेला पनि खाँडो, जिता, महुली तथा कोसीको पानी पसेर बस्ती जलमग्न भएको थियो।’ 

बाढीले सयौं बिघाको धान बाली पनि नष्ट गरेको छ । घरमा रहेको खाद्यानसँगै खेतमा लगाइएको बालीसमेत नष्ट भएपछि बाढी प्रभावित दक्षिणी क्षेत्रका सर्वसाधारण झन् पीडादायी अवस्थाबाट गुज्रिएका छन्।

गोबरगाढा जोखिममा
तीन दिन यता सप्तकोसी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएपछि ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढाका बासिन्दा डुबानमा पर्नुका साथै त्रसितसमेत भएका छन् । गाउँ चारैतिरबाट कोसीले घेरिएको छ ।

‘बुधबार रातिदेखि नै डुबानमा छौं, पानीको सतह पनि बढिरहेको छ’, फोनमा स्थानीय हरिनारायण यादवले भने, ‘हामी निकै त्रासमा छौं ।’ रात जागा बसेरै बिताउने गरेको उनले बताए । उनले भने, ‘हामीसँग आवश्यक संख्यामा नाउ (डुंगा) पनि छैनन् । चारैतिर पानी नै पानी रहेकाले बस्तीबाट निस्कन समेत गाह्रो भएको छ।’

शुक्रबार साँझ ४ बजे सप्तकोसीमा २ लाख ७५ हजार घनलिटर प्रतिसेकेन्ड बहाव मापन गरिएको कोसी ब्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ । अहिले पनि सप्तकोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ।

अझै भेटिएनन् डोमी
यता खाँडो नदीको कटान नियन्त्रण गर्न सेना र प्रहरीसँगै काम गरिरहेको अवस्थामा बिहीबार नदीले कटान गरेको ढिस्कोमा पुरिएर बेपत्ता भएका राजविराज नगरपालिका–१५ देउरीभरुवाका ५५ वर्षीय डोमी यादवलाई अझै फेला पार्न सकिएको छैन । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको प्रशिक्षित टोली डोमीको खोजीमा लागे पनि सफलता नमिलेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले बताए ।

शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले डोमीको परिवारलाई कम्तीमा १० लाख रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस पठाउने निर्णाय गरेको छ । डोमीको डुबेर मृत्यु भएको निष्कर्ष निकाल्दै समितिले क्रिया खर्चबापत २५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी गराए । 

बैठकले तिलाठी–कोइलाडी, रम्पुरा मल्हनिया, हनुमाननगर–कंकालनीलगायतका बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा व्यवस्थापनका लागि सरकारी, गैरसरकारी निकाय तथा संघसंस्थालाई आह्वान गरेको छ । 

प्रकाशित: २८ श्रावण २०७४ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App