८ वैशाख २०८१ शनिबार
राजनीति

सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। भण्डारीले सोमबार नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकी हुन्।

राष्ट्रपतिसँग शीर्ष नेताको सवा २ घन्टा बैठक

यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका विषयमा मुख्य दलका शीर्ष नेतासँग सोमबार छलफल गरेकी छिन्। राष्ट्रपतिले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राष्ट्रपति भवन शीतल निवासमा छलफल गरेकी हुन्।

करिब सवा २ घन्टा लामो छलफलमा राष्ट्रपतिले नेताहरुलाई पार्टीहरुबीच सहज वातावरण निर्माण गर्न र सहमति गरेर जान आग्रह गरेकी थिइन्। सरकार निर्माणको प्रक्रियालाई सहज वातावरण निर्माण गरी अघि बढ्न उनले आग्रह गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक वेबसाइटले उल्लेख गरेको छ।

भेटका अवसरमा नयाँ सत्ता गठबन्धन निर्माणको तयारीमा रहेका कांग्रेस सभापति र माओवादी केन्द्रका नेताहरुले एकै खाले विषयवस्तु पेश गरेका थिए। 'दाहाल र कांग्रेसका सभापति देउवाले सबै दललाई मिलाएर समझदारीअनुरुप जानुपर्ने, राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा दृढ रहनुपर्ने उल्लेख गरे', दाहालको वेबसाइटमा उल्लेख छ।

राष्ट्रिय मुद्दाहरुमा एमालेको सहयोग रहने बाचा प्रधानमन्त्री ओलीले गरेका थिए।

 

प्रकाशित: १० श्रावण २०७३ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App