६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

दोस्रो विश्वयुद्धमा खसालिएको बम भेटियो

टोकियो– दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा बिहीबार जापानको फुकुसिमामा भेटिएको छ। 

दोस्रो विश्वयुद्धको समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो। 

सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो।

जापानको फुकुसिमामा रहेको परमाणु ऊर्जा केन्द्रको परिसरमा दोस्रो विश्वयुद्धको समयको बम भेटिएको जापानी सञ्चारमाध्यमले  जनाएका छन् । उक्त केन्द्रको परिसरमा सवारी साधन पार्किङका लागि पार्किङस्थल निर्माण गर्ने क्रममा मजदुरहरुले खन्दा उक्त नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ। 

सुरुमा उक्त शंकास्पद बस्तु बारे मजदुरले खबर गरेका थिए ।  मजदुरको जानकारीपछि आधिकारिक व्यक्तिहरुले उक्त बस्तु हेरेपछि नपड्किएको बम नै रहेको भनेर पत्ता लागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन्। 

उनका अनुसार काम गरिरहेका बेला मजदुरले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पनि ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई उक्त निर्माणस्थललाई नै प्रहरीको घेराभित्र पारेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि उक्त वस्तु बम नै भएको र पुरानो भएको पत्ता लागेपछि उनीहरुलाई छोडिएको छ । हाल उक्त बम प्रहरीले नियन्त्रणमा लिएको छ । बम ८५ सेन्टिमिटर लामो रहेको पनि बताइएको छ । जमिनमुनी पुरिएको अवस्थामा उक्त बम फेला परेको थियो। 

प्रहरीले अुनसन्धानकर्तासमेत लगाएर गरेको अनुसन्धानबाट उक्त वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ। 

उक्त अणु ऊर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भूकम्प र सुनामीका कारण फुटेको थियो । त्यसपछि उक्त केन्द्र आंशिक रुपमा मात्र सञ्चालनमा रहेको छ।

उक्त केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि उक्त क्षेत्रबाट लाखौं नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन्। 

जापानमा अमेरिकाले गरेको एटम बम हमलाको ७२ बर्ष पूरा भएको छ । तर अहिले पनि जापानका कतिपय स्थानमा यस्ता नपड्किएका बमहरु भेटिने गरेका समाचार बेलाबखत आउने गरेका छन्। 

प्रकाशित: २७ श्रावण २०७४ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App