काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लािग बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५औं विदेश मन्त्रीस्तरीय बैठक बिहीबार राजधानीमा उद्घाटन गरेका छन् । उद्घाटन बिहीबार साँझ भए पनि सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठक शुक्रबार बस्नेछ ।
बैठकमा सहभागी हुन सदस्य राष्ट्र भारत, बंगलादेश, भुटान, विदेश मन्त्री तथा थाइल्यान्ड र म्यानमारका विदेश राज्यमन्त्री काठमाडौं आएका छन् । उनीहरू सबै बिहीबार नै आएका हुन् । श्रीलंकाका विदेश राज्यमन्त्री शुक्रवार आउँदैछन् ।
‘यो क्षेत्रको सामूहिक समृद्धि र प्रगतिका लागि कनेक्टिभिटी आवश्यक छ,’ प्रधानमन्त्री देउवाले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘बिमस्टेकले वाणिज्य, पर्यटन, कनेक्टिभिटी, ऊर्जालगायत थुप्रै क्षेत्रमा प्रगति गरेको छ ।’ यातायात सञ्जाल र ऊर्जा सहयोग सुस्त भए पनि सकारात्मक रुपमा अघि बढेको भन्दै उनले खुसी व्यक्त गरे ।
‘आतंकवाद, अन्तरदेशीय अपराध, मानव तथा लागूऔषध तस्करीका घटनाले यो क्षेत्रको शान्ति र सद्भाव बिथोल्ने काम गरेको छ । जलवायु परिवर्तन र प्राकृतिक प्रकोप पनि यो क्षेत्रको विकासका लागि चुनौती बनेका छन्,’ प्रधानमन्त्री देउवाले भने । उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि बोलेका थिए ।
उद्घाटन समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सम्बोधन गरेका थिए । ‘दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्ने बिमस्टेक अद्वितीय प्लेटफर्म हो । यी दुई क्षेत्रबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको छ,’ महराले भने । यो क्षेत्र प्राकृतिक स्रोतले धनी, चलायमान जनसंख्या र विविध सांस्कृतिक सम्पदाले पूर्ण रहेको उनले बताए । ‘कनेक्टिभिटी, ऊर्जा, सहयोग, सूचना तथा प्रविधि आदानप्रदानमा देखिनेगरी प्रगति हुनुपर्छ । यसले नै यो क्षेत्रमा सामाजिक आर्थिक परिवर्तन ल्याउने छ,’ महराले भने ।
प्रधानमन्त्री देउवाले बैठक उद्घाटन गर्नुअघि बिहीबार नै बिमस्टेकका वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १८औं बैठक राजधानीमा सम्पन्न भएको थियो । बैठकमा सदस्य राष्ट्रका विदेश सचिवहरू सहभागी थिए । वरिष्ठ अधिकारीहरूको बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, पर्यटन, प्रविधिलगायत क्षेत्रको विकास र विस्तारमा छलफल भएको थियो ।
बिमस्टेक खुला व्यापार क्षेत्र सम्झौता छिटो टुंग्याउने, बिमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने र बिमस्टेक प्रविधि स्थानान्तरण सुविधासम्बन्धी विषयमा छलफल भयो,’ वरिष्ठ अधिकारीहरूको बैठक सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास बैरागीले भने ।
बैठकमा सदस्य राष्ट्रहरूमा बिमस्टेक केन्द्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो । नेपालले बैठकमा ‘माउन्टेन इकोनोमी’ सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको थियो । बिमस्टेकमा गरिबी निवारणको नेतृत्व नेपालले गर्दै आएको छ । गरिबी निवारणसम्बन्धी विज्ञहरूको बैठक भदौ १६ गते नेपालले आयोजना गर्ने भएको छ ।
बैठकमा हालसम्म भएका गतिविधिको समीक्षा गरियो । बैठकले बंगलादेशका शहिदुल इस्लामलाई बिमस्टेकको आगामी महासचिवमा सिफारिस गरेको जानकारी सचिव बैरागीले दिए ।
प्रकाशित: २७ श्रावण २०७४ ०२:२१ शुक्रबार