७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिलवालको सुनुवाइ भदौ १५ मा

काठमाडौँ – प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ। 

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा आज सुनुवाइ नसकिएपछि अर्को सुनुवाइ तोकिएको हो। सरकारका पक्षबाट आज महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले तथा प्रहरी महानिरीक्षक प्रकाश अर्यालका तर्फबाट अधिवक्ता सतीशचन्द्र खरेल, आशिष अधिकारी र सुवास आचार्यले बहस गरेका थिए । 

यसअघि साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए। यसअघि सिलवालको मुद्दा असार २२ गतेदेखि आजका लागि तोकिएको थियो । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते निवेदन दिएका थिए। 

अदालतको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो। 

सिलवालले वरियताक्रममा आफू पहिलोमा रहेको र चार वर्षको कार्यसम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिएका थिए। त्यसमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। रासस 

प्रकाशित: २६ श्रावण २०७४ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App