८ वैशाख २०८१ शनिबार
समाज

भारतमा पक्राउ परेका उदयलार्इ रिहा गर्न माग

उदयलाई सिलिगुडीबाट पक्राउ गर्दै भारतीय प्रहरी । तस्बिर स्रोतः खबरम्यागजिन

इलाम – भारतको पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाली युवकलाई छाड्न राजनीतिक दलहरूले माग गरेका छन् । दलहरूले संयुक्त विज्ञप्ति जारी गरी पक्राउ परेका युवक निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन्।

सूर्याेदय नगरपालिका–१० का २७ वर्षे उदयहाङ फागोलाई आमाको उपचार गराउन भारत सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला भारतीय प्रहरीले पक्राउ गरेको थियो । सोमबार पक्राउ परेका फागोलाई बिहीबार अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको उनका परिवारजनले जनाएका छन् । सूर्याेदय नगरपालिकास्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत ९ दलले संयुक्त विज्ञप्ति जारी गर्दै फागोको रिहाइका लागि पहल गर्न राजनीतिक, दल, नागरिक समाज, अधिकारकर्मी, प्रहरी–प्रशासनसँग माग गरेका हुन्। 

उदयलाई दार्जिलिङको सुकुनामा साउन १४ मा भएको प्रदर्शनमा आन्दोलनकारी गोर्खाल्यान्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै भारतीय प्रहरीले पक्रेको थियो । दलहरूले जारी गरेको विज्ञप्तिमा भने उदय त्यसदिन फिक्कलमै रहेको र गोर्खाल्यान्ड आन्दोलनसँग उनको कुनै सम्बन्ध नभएको उल्लेख छ । उदयका उनका दाजु शरणले निर्माण व्यवसायीका रूपमा काम गरिरहेका उदय गोर्खाल्यान्ड आन्दोलनसँग उनको कुनै साइनोसमेत नभएको बताए । उदयको रिहाई पहल गरिदिन माग गर्दै सूर्याेदय नपा–१० का वडाध्यक्ष पेमाउगेन लामासहितको टोली बुधबार सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय आएको थियो। 

शरणका अनुसार भारतीय प्रहरीले सुकुनामा भएको झडपमा आन्दोलनकारीसँग ‘हुलिया मिलेकाले’ उदयलाई पक्राउ गरिएको बताएको थियो । प्रहरीले उनी नेपाली भएको प्रमाण खोजेपछि नागरिकता, सवारी चालक अनुमतिपत्रलगायतका कागजपत्र देखाउँदा पनि नछाडेको शरणले बताए । फागोलाई प्रहरीले १२ दिनका लागि ‘रिमान्ड’मा राखेको र २० अगस्टमा अदालतमा उपस्थित गराउनले परिवारजनले बताएका छन्। 

प्रकाशित: २६ श्रावण २०७४ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App