७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारकै कारण निर्वाचन अनिश्चित : नेता खनाल

फाइल फोटो

इलाम  – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको गैरजिम्मेवारीका कारण प्रदेश र संघको निर्वाचन अनिश्चित बनिरहेको बताएका छन् । उनले सरकारले मिति घोषणा गर्न आनाकानी गरिरहेकाले निर्धारित समयमा निर्वाचन हुनेमा अन्योल बढेको बताए।

सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले सरकार जिम्मेवारीसाथ र योजनाबद्ध ढंगले अघि बढ्न नसकेको आरोप लगाए । ‘आउँदो माघसम्ममा प्रदेश र संघको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि सरकार त्यसै अलमल गरिरहेको छ,’ उनले भने, ‘सरकारले केहीदिनभित्रै प्रदेश र संघको निर्वाचन मिति घोषणा गर्नुपर्छ ।’ खनालले निर्वाचन अनिश्चितातिर मोडिन नदिन एमालेले निर्वाचनको मिति घोषणाका लागि सरकारलाई सदनबाट पनि तीव्र दबाब दिइरहेको बताए।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले लामो समयदेखि भोगिरहेको झन्झट कम हुने भन्दै उनले विकासको गति पनि अघि बढ्ने आशा व्यक्त गरे । ‘विजयी जनप्रतिनिधिको काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ,’ उनले भने, ‘तर, नयाँ संविधान, ऐन–कानुनअनुसार काम गर्ने सहजताका लागि जनप्रतिनिधिलाई प्रशिक्षित गर्नुपर्छ।’

गृहजिल्ला इलामको सीमावर्ती दार्जिलिङमा चलिरहेको गोर्खाल्यान्ड आन्दोलन र भारतको भूमिमा हुने कुनैपनि गतिविधि भारतको आन्तरिक मामिला भएकाले नेपालले त्यसमा हस्तक्षेप गर्न नहुने उनले जनाए । ‘तर, कुनै पनि कारणले सीमावर्ती क्षेत्रका बासिन्दाले चाहिँ दुःख पाउनु हुँदैन,’ उनले भने, ‘स्थानीयलाई केही समस्या आइलागेका छन् भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारतका डिस्ट्रिक मजिस्ट्रेड बसेर समाधानको उपाय खोज्नुपर्छ ।’ उनले भारतीय प्रहरीले पक्राउ गरेका सूर्याेदय नगरपालिका–१० का उदय फागो निर्दाेष रहेको र उनको रिहाइका लागि जिल्ला प्रशासन तथा प्रहरीमा आफूले कुरा गरिसकेको बताए। 

२७ वर्षे फागोलाई आमाको उपचार गराउन सिलिगुडी गएका बेला भारतीय प्रहरीले गत सोमबार पक्राउ गरेको थियो । गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको भन्दै परिवारजनले रिहाइको पहल गरिदिन आफ्नो क्षेत्रका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री खनाललाई आग्रह गरेका थिए। 

प्रकाशित: २६ श्रावण २०७४ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App