७ वैशाख २०८१ शुक्रबार
अर्थ

श्रीले पायो जहाज उडान अनुमति

काठमाडौं – उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सलाई ‘फिक्स्ड विङ’ जहाजबाट नियमित व्यापारिक उडान गर्न अनुमति दिएको छ। 

लामो समयदेखि अनुमति पाउन प्रयास गर्दै आएको श्रीलाई अन्ततः प्राधिकरणले बिहीबार उडान अनुमति दिएको हो । ‘नियमित व्यापारिक उडान गर्ने अनुमति पायौं,’ श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले नागरिकन्युजसँग भने, ‘प्राधिकरणको अनुमतिअनुसार शुक्रबार हामी काठमाडौंबाट भैरहवा तथा नेपालगन्ज वा धनगढीमध्ये एकमा उडान गर्छौं।’

श्रीसँग क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ७० सिट क्षमतायुक्त ‘क्यानडियन रिजनल जेट’ (सिआरजे–७००) सिरिजको एकथान र ५० सिटे सिआरजे–२०० सिरिजका दुईथान जहाज छन् । यी जहाज उसले चार महिनाअघि काठमाडौं ल्याएको थियो । सबै जहाजमा जेट इन्जिन जडित छ।  

हाल श्रीले साना र ठूला गरी ८ वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ । कम्पनीले हेलिकोप्टरको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) मा जहाज थपको अनुमति पाएपछि जहाज ल्याउन थालेको थियो। 

कम्पनीका अनुसार काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढी सेक्टरमा नियमित व्यावसायिक उडान गरिनेछन् । श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवलाई जहाज उडानमा प्रयोग गर्न लागेको हो । जहाज उडान सँगसँगै हेलिकोप्टर सेवालाई पनि निरन्तरता दिने मानन्धरले जानकारी दिए ।

प्रकाशित: २६ श्रावण २०७४ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App