८ वैशाख २०८१ शनिबार
अन्य

लिलीकी सासु

धेरै वर्षअघि एउटी लिली नामकी युवती थिई । उसको बिहे भयो । ऊ श्रीमान् र सासुसँग बस्न गई । छोटो समयमा नै लिलीलाई थाहा भयो, अब ऊ सासुसँग बस्न सक्तिन ।
सासु र बुहारीबीचको व्यक्तित्व यति फरक थियो कि सँगै बस्नु कठिन हुन थाल्यो । लिलीलाई आफ्नी सासुका कैयौँ बानीहरु मन पर्दैनथ्यो । अनि, सासुले पनि लिलीका कैयौँ कुराहरुमा सधैँभरि किचकिच गरिरहन्थिन् ।
दिनहरु बिते, साताहरु बिते । लिली र उसकी सासुबीच कहिल्यै पनि भनाभन रोकिएन । सधैँ उनीहरुबीच बाझाबाझ चलिरहन्थ्यो । तर गाउँले जीवनमा सासुका कुरा मान्नु नै पथ्र्यो । लिलीका लागि अरु कुनै उपाय थिएन ।
सासु–बुहारीबीचको दैनिक झगडाका कारण लिलीको लोग्ने चाहिँ सधैँ तनावमा हुन्थ्यो र ऊ बडो दुःखी थियो ।
अन्ततः एक दिन लिलीले लोग्नेसँग गुनासो गरी, ‘म अब सासुसँग बस्न सक्तिनँ । तिम्री आमाको दिमागै ठीक छैन । तानाशाहजस्तो व्यवहार अब म एक सहन्नँ, दुई सहन्नँ ।’
यसपछि आफूले नै केही गर्ने ठानी लिलीले ।
लिली आफ्ना बुवाको नजिकका साथी दयाहाङलाई भेट्न भनी गई । दयाहाङ जडीबुटी बेच्थे । लिलीले दयाहाङलाई विगतदेखि अहिलेसम्मका सबै झैँझगडा बेलिविस्तार लगाउँदै उसले सासुलाई मार्ने कुनै विष छ कि भनी मागी ।
दयाहाङ लिलीको कुरा सुनेर छक्क पर्यो । उसले लिलीलाई भन्यो, ‘ल नानी, म तिम्रो समस्या समाधान गरिदिन्छु । मैले कुरा बुझेँ ।’
समस्या समाधान हुने कुरा सुनेपछि लिली खुसी भई । उसले आँखी भौँ उचाली । लिलीले भनी, ‘हुन्छ, तपाईंले जे भन्नुहुन्छ म मान्छु ।’
दयाहाङ घरभित्र छिर्यो र केही जडिबुटी लिएर आयो । जडिबुटी दिँदै भन्यो, ‘तिमी तुरुन्तै बिख लाग्ने औषधि लैजाऊ भन्ने म चाहन्न । ताकि, तुरुन्त खुवाएर मान्छे म¥यो भने तिमीमाथि शङ्का पर्छ र तिमीलाई पुलिसले पक्डेर लैजान्छ । त्यसैले मैले तिमीलाई कैयौँ किसिमको जडिबुटी दिएको छु, जसले तिम्री सासुको शरीरमा निकैपछि मात्रै बिख उमार्छ । तिमीले हरेक दिन मीठामीठा परिकार
पकाउनू र यी जडिबुटी थोरै मिसाइदिनू । अनि, तिमीमाथि शङ्का नपरोस् भनेर तिमीले सासुसँग साह्रै मिलेकोजस्तो व्यवहार गर्नु ।
नरम व्यवहार गर्नू, मुखमुखै नलाग्नू । सासुका हरेक इच्छा पूरा गर्नू र उनलाई एउटी रानीजस्तै व्यवहार गर्नू ।’
लिली सासु मार्ने औषधि पाएर ज्यादै खुसी भई । उसले दयाहाङलाई धन्यवाद भनी र हतारहतार घर गई । ऊ सासु मार्ने योजनामा मख्ख थिई ।
साता बित्यो, महिनौँ बित्यो । लिलीले साँच्चिकै राम्रो व्यवहार गर्दै सासुलाई मिठोमिठो खानेकुराहरु जडिबुटीमा मिसाउँदै खुवाउन थाली । जबजब कहिलेकाहीँ सासुको नराम्रो व्यवहारले झनक्क रिस उठ्थ्यो, दयाहाङको सुझाव झट्ट याद आउँथ्यो लिलीलाई र ऊ पुनः मौन बस्थी, आफूलाई नियन्त्रित गर्थी । ऊ आफ्नी आमालाई जत्तिकै माया गरेको देखाउन थाली । ६ महिना बित्यो ।
पूरै घर परिवर्तन भयो ।
लिलीले आफूलाई यस्तो नियन्त्रण गर्थी कि जस्तोसुकै रिस उठेको बेला पनि मुस्कुराउन जान्न थालेकी थिई । त्यसपछि त लिलीमा आएको परिवर्तन
देखेर सासुमा पनि विस्तारै परिवर्तन आउन थाल्यो । सासु पनि लिलीप्रति
नरम हुन थालिन् । कतिसम्म भने, सासुले त पछि लिलीलाई आफ्नै छोरीलाई जस्तै माया गर्न थालिन् ।
गाउँघरमा पानीपँधेरो जाँदा पनि सासुले लिलीजस्ती बुहारी दश गाउँमा खोज्दा
पनि नपाइने भनी धक्कु लगाउँदै हिँड्न थालिन् ।
यी सबैको प्रभावले लिली र उसकी सासु एकअर्कालाई आमाछोरीझैँ व्यवहार गर्न थाले । यो देखेर लिलीको लोग्ने पनि निकै खुसी थियो ।
एक दिन, लिली दयाहाङ कहाँ सहयोग माग्न भनी पुगी । उसले भनी, ‘काका, मलाई सहयोग गर्नु प¥यो । मैले मेरी आमाजस्ती सासुलाई मार्न प्रयोग गरिराखेको बिख रोक्नु परो । म मेरी सासुलाई मार्न चाहन्नँ । अहिले उनी यति असल भएकी छिन् कि त्यस्ती असल मान्छेलाई मारेर म किन पापमा पर्नु ? म उनलाई मार्न हैन,
अहिले मरेको पनि हेर्न चाहन्नँ । उनी मलाई यति माया गर्छिन्, म चाहिँ किन उनको कुभलो रुचाउँ ?’
दयाहाङले मुस्काउँदै टाउको हल्लाए र भने, ‘लिली, तिमी चिन्ता नगर । मैले तिमीलाई कहिल्यै पनि सासुलाई मार्न बिख दिएको थिइनँ । त्यो जडिबुटी त बूढी आमैको स्वास्थ्यस्थिति सुध्रियोस् भनेर तागत बढाउने पो थियो ! बरु बिख त तिम्रो दिमागमा थियो, तिम्रो सासुप्रतिको प्रवृत्तिमा थियो । तर तिमीले सासुलाई दिएको प्रेमले सबै किसिमको मनको मैलो पखालिएको छ ।’
यत्ति सानो कुरा पनि थाहा नपाएको देख्दा लिलीलाई लाज मर्नु भयो । अनुहार रातो पार्दै ऊ घरतिर लागी ।
 

प्रकाशित: २६ श्रावण २०७४ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App