coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्दु खेलाले ६ घर बगायो, डेढ सय घर जोखिममा

धरान- तीन दिन देखिको निरन्तरको बर्षासँगै सर्दु र पकुवा खोलामा आएको बाढीले धरान ११ स्थित नमुना सुन्दर बस्तीका ६ घर बगाएको छ भने थप आधा दर्जन घरमा क्षति पुर्याएको छ। निरन्तर बर्षा र बाढी आइरहेकोले सयौं घर जोखिममा छ।

स्थानीयका अनुसार आइतबार र सोमबार गरेर ती घर बगाएको हो। बस्ती जोगाउन समुदायले निर्माण गरेको आरसिसि चेकड्याम र ग्याबिङले समेत बाढीलाई छेक्न सकेन। दिउँसै बाढी वस्तीमा पसेकोले मानवीय क्षति भने भएन। घर बगाएर र क्षति पुर्याएका परिवार छरछिमेकको शरणमा छन् । निरन्तर बर्षा भइरहेको र बाढी झनै बढ्दै गएकोले स्थानीबासी वस्तीमा थप कटान र क्षतिको जोखिमले त्रसित छन्। ‘अहिलेसम्म ६ वटा घर पूर्ण क्षति भइसक्यो, कति घरमा सामान्य क्षति मात्र पुगेपनि उच्च जोखिममा छ’, नमुना वस्तीका अगुवा जितराज राईले भने–‘हामी आफैले ड्याम बनाएका थियौं, त्यो पनि भत्काएर बाढी बस्ततिर पसेर यस्तो विजोग बनायो।’

दुई दिनको बाढीले जनश्वरी राईको २ वटा घर पुर्णरुपमा क्षति पुगेको छ भने इन्द्र राई, तेजमाया राई, लगनश्वरी राई र भक्तबहादुर दर्जीको घर पनि बगाएको छ। यस्तै, कुमार विक, बलबहादुर राई, विष्णुका राई, चन्द्र राई, संगीता राईको घरमा बाढीले सामान्य क्षति पुर्याएको छ भने मैया मगर, विष्णुराज राई, थामराज राई, कृष्णकुमार सुनुवार र प्रेमक बिकको घर बाढीको उच्च जोखिममा छ । बाढीले कटान गर्दै घरको आगनसम्मै पुगिसकेकोले उच्च जोखिममा रहेको घरहरु जतिबेला पनि बगाउने अवस्था छ । ‘सबै सामान पोको पारेर बसेको छु। बाढी ठूलो आयो भने भागिहाल्नुपर्ला’–खोला नियालीरहेकी इन्द्रलक्ष्मी राईले भनिन् ।

सर्दु खोला किनारमा रहेको यो वस्ती वडा ११ देखि वडा १७ सम्म फैलिएको छ। बस्ती जोगाउन स्थानीयले ४ महिना अघि मात्र २ ठाउँमा करिब डेढ सय मिटर लामो आरसिसि चेक ड्याम बनाएका थिए । आधा दर्जन जति तारजाली र ढुंगाको ग्याबिङ पनि हालेका थिए । बाढीले सबैभन्दा माथिल्लो आरसिसि चेकड्याम भत्काएपछि वस्ती बगेको हो । चेकड्याम भत्किएको स्थानमा पकुवाको बाढी आएर सर्दु खोलामा मिसिने भएकोले खोलाको वहाव झन् तीब्र हुने गर्छ । ‘तल्लो आरसिसि चेकड्यामले बाढीलाई रोकेको छ, त्यो पनि भत्कियो भने वडा १७ को वस्ती पुरै बगाउँछ’,वस्तीका अगुवा जितराजले भने। उनका अनुसार वडा १७ का डेढ सय घरपरिवार जोखिममा छन् । स्थानीयले आफुसँग भएको तारजालीमा खोलाकै ढुंगा प्रयोग गरेर बाढी रोक्ने प्रयास गरेपनि सफल भएका छैनन्।

 

प्रकाशित: १० श्रावण २०७३ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App