coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रियाललाई युइएफए सुपर कप

स्कोप्जी- कासेमिरो र इस्कोको गोलप्रेरित रियाल मड्रिडले मंगलबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको छ। २४औं मिनेटमा ब्राजिली मिडफिल्डर कासेमिरोको गोलमा रियालले अग्रता लिएको थियो। उनले ड्यानी कार्भाहलको पासलाई पोस्टको दिशा दिएका थिए।

५२औं मिनेटमा इस्कोले गारेथ बेलसँगको वान टु वान पासमा गोल गर्दै रियालको अग्रता बढाएका थिए।

६२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन। मार्कुुस रसफोर्डको प्रहार रियालका गोलकिपर केलर नाभासले रोक्दा रिबाउन्डमा प्राप्त बललाई लुकालुले जाली चुमाएका थिए।

रियालले उपाधिका साथ सिजनको सुरुआत गरेको छ। जिनेदिन जिदानको नेतृत्वमा रियालले सुपर कपको उपाधि जितेको यो लगातार दोस्रो पटक हो। समग्रमा रियालले यस प्रतियोगिता जितेको यो चौथो पटक हो। पछिल्लो ९ वर्षमा स्पेनिस क्लबले सुपर कपको उपाधि जितेको यो आठौं पटक हो।

‘यो सबै कडा परिश्रमको परिणाम हो। यो क्षमतावान् र उत्कृष्ट खेलाडीले भरिएको टोली हो भन्ने हामीलाई थाहा छ। यो टोली सधैं उपाधिका लागि आतुर हुन्छ र धेरैभन्दा धेरै उपाधि जित्न चाहन्छ,’ जिदानले भने, ‘आजको खेल पनि उत्कृष्ट भयो। अझ पहिलो हाफको खेल अद्भुत थियो।’

शनिबार मात्र रियालको अभ्यासमा सहभागी भएका क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दै जिदानले बेललाई पहिलो रोजाइमा समावेश गरेका थिए।

चोटका कारण गत सिजन अधिकांश समय मैदानबाहिर बसेका बेल पुनः फिट हँुदै मैदान फर्किए पनि कासेमिरो पहिलो हाफमा आकर्षणको केन्द्र बनेका थिए।

१६औं मिनेटमा टोनी क्रुसको कर्नरमा कासेमिरोले गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए। उनको हेड पोस्टमा लागेर फर्किएको थियो।

युनाइटेडका गोलकिपर डेभिड डी हियाले करिम बेन्जेमाको प्रहार रोक्दै रियालको अग्रता बढाउने उद्देश्यलाई विफल पारेका थिए। रियालले विगत केही वर्षदेखि हियालाई क्लबमा भिœयाउने इच्छा व्यक्त गर्दै आएको छ।

दोस्रो हाफको सुरुआतसँगै खेलमा फर्कने लक्ष्यसाथ युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले जेसी लिंगार्डको स्थानमा रसफोर्डलाई मैदान प्रवेश गराएका थिए।

त्यस्तै बेलको प्रहार पोस्टमा लागेर फर्कंदा रियालले अग्रता बढाउने  अर्को मौका खेर फालेको थियो।

पाउल पोग्बाको प्रहारमा गोलको सुुनौलो अवसर पाए पनि लुकाकुले त्यसलाई सदुपयोग गर्न नसक्दा युनाइटेडले अन्तर कम गर्ने मौका खेर फालेको थियो। उनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। हारका बावजुद युनाइटेडका प्रशिक्षक माउरिन्हो टोलीको प्रदर्शनबाट सन्तुष्ट देखिए।

‘टोलीले गरेको प्रदर्शनमा म सन्तुष्ट छु। रियाल मड्रिड हामीसँग इङ्लिस प्रिमियर लिगमा छैन। प्रिमियर लिगका टोलीको क्षमता फरक छ। लुकाकु, लुका मोडरिच, क्रुस, इस्को र कासेमिरोको स्थान अन्य खेलाडीले लिन सक्दैनन्,’ माउरिन्होले भने, ‘मैले सधँै भन्दै आएको छु, च्याम्पियन्स लिग र युरोपा लिग फरक हो। पक्कै च्याम्पियन्स लिग विजेता टोलीको सम्भावना बढी हुन्छ। सुपर कप हाम्रा लागि अनुभव बटुल्ने राम्रो अवसर बन्यो। हामीले यहाँ नयाँ अनुभव बटुलेका छौं। यस अनुभवबाट हामीले सकारात्मक सोचका साथ नयाँ सिजन र सेप्टेम्बरमा हुने च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न सक्छौं।’

प्रकाशित: २६ श्रावण २०७४ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App