७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बलात्कार पीडित १० वर्षे बालिका गर्भवती : गर्भपतनमा अदालतको रोक

नयाँ दिल्ली- भारतमा एक दश वर्षे बलात्कार पीडित बालिका गर्भवती भएको विषय भारतीय सञ्चारमाध्यममा ठूलो समाचार बनेको छ। 'हामीले १४ देखि १५ वर्षे किशोरावस्थामा गर्भवती भएको थुप्रै घटना देखेका छौं तर १० वर्षे बालिका गर्भवती भएको घटना मैले पहिलो चोटी देखिरहेको छु,' चण्डिगढ राज्य कानुनी सेवा प्राधिकरणका महाभिर सिंहको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

आफ्नै आफन्तले पटक पटक बलात्कार गरेपछि गर्भवती भएकी दश वर्षे बालिकाको यस विषयले चण्डिगढ र समग्र भारतलाई नै आश्चर्य पारेको छ। यस मुद्दाको अनुसन्धानमा सिंह पनि संलग्न रहेका छन्। बलात्कारमा संलग्न आफन्त हाल कारागारमा रहेको र अदालती सुनुवाई कुरिरहेको बताइएको छ। गर्भवती बालिका सजिलै हाँस्ने खालकी रहेकी छिन्। उनी लजालु र धेरै नबोल्ने स्वभावको रहेको भारतीय सञ्चारमाध्यमको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ। छ कक्षामा अध्ययनरत ती बालिकलाई अंग्रेजी र हिसाब अत्यन्तै राम्रो लाग्ने विषय भएको बताइएको छ। उनी चित्र बनाउन मनपराउने र उनको चित्र पनि राम्रो हुने गरेको छ। 'उनी छोटी आनन्दी र सिन चान कार्टुन हेरेर कहिले  पनि थाक्दिनन्। उनी चिकेन ,माछा र आइसक्रिम एकदमै मनपराउँछिन्,' बिबिसीले जनाएको छ।

 तर जुलाई २८ का दिन भारतीय सर्वोच्च अदालतले गर्भवती ती १० बर्षे बालिकाको तर्फबाट गर्भपतन गर्न पाउँ भन्दै गरेको निवेदन ३२ सातामा गर्भ चलिरहेको भन्दै अस्विकार गरिदियो। चिकित्सको टोलीले भने अदालतलाई यस उमेरमा गर्भपतन गराउन एकदमै खतरामुलक हुने बताएका छन्। अदालतको निर्णयले ती बालिकाको परिवारमा ठूलो असन्तुष्टि पैदा गरेको छ।

भारतको कानुनले चिकित्सकले आमाको स्वास्थ्य खतरामा रहेको प्रमाणित नगरेसम्म २० साता पछिको गर्भलाई गर्भपतन गराउन दिँदैन। तर पछिल्ला केही वर्ष भारतका विभिन्न अदालतमा विशेषगरी बलात्कारको सिकार भएर बाँचेका बालिकाको परिवारले २० साताको गर्भपतन गराउनका लागि भन्दै माग गरेको मुद्दा पर्ने गरेका छन्। बालिकाहरु आफ्नो अवस्थाको बारेमा जानकार नहुँदा कतिपय अवस्थामा बालिका गर्भवती भएको पछि मात्रै थाहा हुने गरेको छ।

यी १० वर्षे बालिकको घटनामा पनि तीन साता अघि मात्रै उनले तल्लो पेट दुखेको बताएपछि उनकी आमाले अस्पतालमा चिकित्सकलाई देखाउन लगेपछि उनी गर्भवती भएको पत्ता लागेको थियो। बालिकासँग दैनिक रुपमा वार्तालप गर्ने एक व्यक्तिले उनी एकदमै निर्दोष भएको र उनलाई आफूलाई के भइरहेको छ भन्ने विषयमा पनि ज्ञान नरहेको बताए। उनका अभिभावकले पनि उनको स्वास्थ्य अवस्थाका कारण उनी गर्भवती भएको संकेत पाएका थिएनन्। त्यसबाहेक पनि त्यति सानो उमेरमा उनीहरुका छोरी गर्भवती होलिन् भनेर उनीहरुले कल्पना समेत गरेका थिएनन्। यी १० वर्षे बालिकालाई उनी गर्भवती भएको विषयमा अझैपनि जानकारी दिइएको छैन। उनलाई उनको पेटमा ठूलो ढुंगा भएका कारण पेट दुखेको बताइएको छ। उनलाई विशेष खानपानको व्यवस्था गरिएको छ। उनलाई अण्डा, दुध, फलफुल र कुखुरको मासुको नियमित भोजन गराइने गरेको छ र उनी आफ्नो खानपानबाट एकदमै खुशी देखिन्छिन्। तर पछिल्ला दिनमा प्रहरी, सामाजिक कार्यकर्ता र परामर्शदाता उनको घरमा निरन्तर रुपमा आउने जाने गरेका छन्। उनको घरमा सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति हुन थालेको छ। 'उनलाई आफ्नो अवस्था बारे ठ्याक्कै थाहा नहुन सक्छ र घटनामा भएको विकास क्रमले मलाई लाग्छ उनले पनि केही जानकारी पाएकी छिन्,' एक उच्च भारतीय अधिकारीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उनका अभिभावक आफ्नी छोरीको यस अवस्थालाई समाधान गर्न संघर्षरत रहेका छन्। एउटा कोठा भएको घरमा बस्ने गरिब परिवारका ती बालिकाको बुबाले सरकारी कार्यालय र आमाले घरेलु काममा सहयोगीका रुपमा कार्य गर्ने गरेका छन्। यस विषयमा अध्ययन गरिरहेकी प्रहरी अधिकारी प्रतिभा कुमारीले बालिकाको परिवार एकदमै राम्रो परिवार रहेको बताएकी छिन्। त्यस  परिवारले आफ्नो छोरीलाई बलात्कार गर्ने त्यो मानिसले त्यस बेला के गरिरहेको छ भन्ने विषयपनि थाहा नपाएको प्रहरी अधिकारी कुमारीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। कुमारीले ती बालिकाकी आमाले आफूसँग बोल्दा प्रत्येक पटक रोएको र बाबुले आफ्नो छोरीको हत्या भएको जस्तै लागेका बताउने गरको पनि बताइन्। विभिन्न अध्ययन अनुसन्धानले भारतमा १६ वर्ष मुनिका बालिकका प्रत्येक एक सय ५५ मिनेटमा  बलात्कृत हुने गरेको देखाएको छ। त्यसैगरी भारतमै १० वर्ष मुनिका बालिका  प्रत्येक १३ घण्टामा बलात्कारको शिकार हुने गरेको छ। सन् २०१५ मा भारतमा १० हजारभन्दा बढी बालिका बलात्कारको शिकार भएका थिए।

गर्भवती बालिकाको अवस्था पत्रकार र सञ्चारमाध्यमले प्राथमिकताका साथ सम्प्रेषण गरेपछि उनको परिवारमा झनै असहज परिस्थिति सिर्जना भएको बिबिसीले जनाएको छ। बालिकाको बाबुले आफ्नो सबैभन्दा ठूलो अप्ठेरो नै सञ्चारमाध्यम भएको प्रतिक्रिया बिबिसीलाई दिएका छन्। उनले आफ्नो घर अगाडि प्रत्येक समय संवाददाता हुने गरेकाले आफ्नो गोपनियातमासमेत समस्या आएको बताएका छन्।

भारतका सञ्चारमाध्यमले बालिकाले राम्रो स्वास्थ्य अवस्था पाउनुपर्ने र बालिकाको परिवारले सरकारबाट आर्थिक क्षतिपूर्ति पाउनुपर्ने आशयका समाचार सम्प्रेषण गरिरहेका छन्। तर अनावश्यक समाचार सम्प्रेषणले बालिकाको परिवारमा समस्या ल्याएको बिबिसीले जनाएको छ। कतिपयले बालिका बलात्कारमा संलग्न व्यक्ति उनकै आमाको आफन्त भएको र छोरी सात महिनाको गर्भवती भएको विषयमा कसरी थाहा भएन भनेर प्रश्न गरिरहेका छन्। जसका कारण बालिकाको परिवार तनाबमा रहेको बताइएको छ। बालिकाको बाबुले बलात्कार गर्ने ती व्यक्तिले कहिले पनि माफसमेत नमागेको भन्दै उसले अपराध गरेकाले मृत्युदण्डको माग गरेको बिबिसीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७४ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App